आमा बन्नु यो संसारको सबैभन्दा सुन्दर र अमूल्य अनुभूति हो। २०७४ साल माघ ३ गते मैले दोस्रो सन्तानका रुपमा छोरीलाई जन्म दिएँ। मलाई अप्रेसन कक्षमा लानु अगाडि नै मेरा साथीहरु गौरी र विद्या त्यहाँ आइपुगेका थिए। तत्काल अप्रेसन गर्नुपर्ने भएकाले मेरो श्रीमान् र म हतासपूर्ण स्थितिमा थियौं। साथीहरुको उपस्थितिले धेरै नै ढाडस मिलेको थियो।
पोखराको पश्मिाञ्चल अस्पतालमा सधैंको भिडभाड त्यसमाथि प्रसुति वार्ड जहाँ सधैं हतास, कौतुहलता, भागदौड बढी हुने गर्दछ। मेरो अप्रेसन इर्मजेन्सी गर्नुपर्ने भएकाले श्रीमान्लाई अप्रेसनका लागि चाहिने सामान र ब्लडको व्यवस्था गर्न भागदौड गरिरहनु परेको थियो। यही बीचमा मलाई अप्रेसन रुममा लानु पर्यो भनेर सहयोगी दिदी आइपुगिन्। यताउता हेरें श्रीमान्लाई देखिन। गौरी मसँगै थिइन् उनले नै अप्रेसन रुममा लाने फर्ममा परिवारको जिम्मा लिएर हस्ताक्षर गरिन् र मलाई अप्रेसन रुममा लगियो। एक त म थाइराइडको बिरामी, यो समस्या हुनेको बच्चा राम्रो हुँदैन भन्ने सुनेकाले डाक्टरले केही हुँर्दैन सबै ठिक छ भन्दा पनि डराइरहेको थिएँ।
बिहानको ११ः२० मा मलाई अप्रेसन रुममा लगियो। यसो हेरें ढोकामा श्रीमान् र साथी गौरीलाई देख्दा कताकता थाहै नपाई आँसु बगेछ। हुन त यो पीडा मेरा लागि पहिलोपटक थिएन। तर मन असाध्यै डराइरहेको थियो। करिब ११ः ३० मा सुरु गरिएको थियो मेरो अप्रेसन प्रक्रियामा करिब १२ बजे अर्धचेत अवस्थामा बच्चा रोएको आवाज आयो। मेरो दोस्रो छोरी जन्मिछन्। पीडा र डरले आँखा खोल्न सकिरहेको थिइन नर्सले बोलाएपछि आँखा खोलें उनले के भएको रहेछ ल हेर्नुस् त भनिन्। हेरें, छोरी जन्माएछु , बोल्न आवाज पनि आइरहेको थिएन। करिब करिब आवाजविहीन भएछु।
छोरी आफन्तलाई बुझाएको करिब डेढ घन्टापछि मलाई पोष्टअपमा लगियो। यो १ घन्टा ३० मिनेट अवधीमा मेरो श्रीमान् र साथीहरुले छोरी आएको खुशीयाली महसुस गर्न पाउनु भएन। मभन्दा पछि अप्रेसन गरेका ३ जना सुत्केरीलाई अप्रेसन कक्षबाट निकालीसक्दा पनि मलाई ननिकाल्दा अप्रेसन कक्षको ढोका अगाडि उभिएका मेरा श्रमिान् र साथीहरु के भयो होला भनेर आत्तिनु भएछ। म स्वयंलाई पनि यसपटकको अप्रेसन अघिल्लोपटक छोरी जन्माउँदाभन्दा बढी पीडादायी र समय बढी लागेजस्तो लाग्यो।
अप्रेसन गरिरहँदा डाक्टरले यसो गर, उसो गर भनेर सिकारु नयाँ डाक्टरलाई सिकाएको कारण पनि ढिला भएको हुनसक्छ। मलाई अप्रेसन रुममा लाँदा गौरी मात्रै ढोकामा थिइन। निकाल्दा ढोकाभरि आफन्तहरु देख्दा आधा पीडा त्यसै कम भयो। मैले छोरा र छोरी चाहिएर दोस्रो बच्चा जन्माएकी थिइन्। मलाई त मेरो छोरीका लागि साथी जन्माउनु थियो। रातदिन सबैका दुईजना म एक्लै मसंग खेल्ने साथी भएन भनेर भनिरहने उसको व्यवहार देखेर विचरा छोरीको बालापन नै खोस्यौं कि छोरीमाथि पाप नै गर्यौ कि भन्ने लागेर दोस्रो सन्तान जन्माउने निर्णय गरेका थियौं। त्यसैले म छोराछोरी जे भए पनि लि◊ पहिचान गरी सन्तान जन्माउने सोचमा थिइन। हामी रहँदा वा हाम्रो शेषपछि पनि छोरीलाई साथी हुन्छ, सुखदुःख साट्ने कोहि हुन्छ भनेर दोस्रो सन्तान जन्माएकि हुँ।
दोस्रो सन्तान पनि छोरी नै भएर मन दुखाई भनेर मेरा साथीहरुले अझ बढी मन दुखाउनु होला भनेर असह्य शारिरीक पीडाका बीचमा पनि मुस्कुराउँदै बाहिर निस्कें।
नभन्दै साथीहरु केही मात्रामा भए पनि चिन्तित हुनुहुँदो रहेछ। मलाई त्यसरी मुस्कुराउँदै निस्केको देखेपछि सबैको मुहारमा मुस्कान फर्कियो। बच्चा गर्भमा हुँदादेखि नै साथी भाई इष्टमित्रहरुले चासो देखाउनुहुन्थ्यो। सामाजिक सञ्जालले गर्दा पनि सबैजनासँग असाध्यै नजिक थिएं। आठ वर्षको फरकमा दोस्रो सन्तान जन्माउँदै थिए। त्यसैले पनि सबैबाट स्नेह, माया र शुभकामना असाध्यै पाएको थिएँ। यसैले गर्दा पनि सबैको जानकारीको सजिलो माध्यम फेस्बुकमा मेरो साथी गौरीले छोरी र मेरो फोटो राखेर बधाई दिएकी रहिछन्। यो पोष्टबाटै धेरै बधाई र शुभकामना आए। यही क्रममा कहि सुनें कि विचरा फेरि पन छोरी नै भएछ। मेरो सन्तान अरुका लागि किन विचरा?
मैले छोरी जन्माउनु अगाडि नै ठुली छोरीलाई भाई आउँदैछ रे, सर मेडमले छोरा जन्माउँदै हुनुहुन्छ रे भनेर बधाई दिने क्रम चलिरहेको थियो। छोरा या छोरी के भनि लि◊ पहिचान गरेको होला नि जस्ता आदि इत्यादि प्रश्नहरु सुन्दा साह्रै रीस उठ्थ्यो। ती क्षणलाई कसरी व्यक्त गरौ ? के पहिलो सन्तान छोरी हुनेले अर्को सन्तान जन्माउने चाहना गर्नु छोराको आश मात्रै हुन्छ र ? कतिपयले मेरो गर्भ हेरेर छोरा नै भएर अर्को सन्तान जन्माउन लागेको होला भन्ने जस्तो आशय बुझ्दा मलाई यी शहरीया भनाउँदा शिक्षित जमातलाई दह्रो जवाफ दिऊँ हुन्थ्यो। मसँग प्रत्यक्ष भन्नेलाई त दह्रो जवाफ दिएर हिँड्थे तर अरुसँग मेरो गर्भबारे कुरा गर्नेलाई के गर्न सकिन्थ्यो र ?
मेरो गर्भलाई लिएर छोरा नै जन्माउँछिन् भनेर बाजी मार्नेहरु पनि यहीँ समाजमा रहेछन्। हाम्रो समाज यस्ता कुराहरु हजुरआमा पुस्ताले भनेको भए पनि सुहाउने थियो। हाम्रा आमा, हजुरआमाले छोराको आशमा १ दर्जन सन्तान जन्माए बरु लि◊ हेरेर छोरीलाई हत्या गरेर पापको भागीदार बनेनन्। जति शिक्षित समाज उति नै संकुचित सोच।
यी र यस्ता व्यवहार हेर्दा र सुन्दा वाक्क भएर साथीहरुसँग भन्ने गर्थें– बरु दोस्रो सन्तान पनि छोरी नै होस्। छोरा भयो भने मेरो गर्भ माथि बाजी राख्नेहरुको जीत हुनेछ। घरमा जो कोहि आए पनि तिमी यति धर्मात्मी, राम्री मनकी छौ छोरा नै हुन्छ भन्ने ? हामी कुन युगमा छौ ? कुन समाजमा छौं ? छोरा हुने त छोराले रे ! यहीँ कुरा अनपढ दिदीबहिनीले भने पाच्य हुन्थ्यो। पोखरा शहरजस्तो सभ्य, शिक्षित सहरमा बस्नेले पनि मलाई यस्तो भन्न सक्छन् भने दूरदराजमा बस्ने महिलालाई, छोरीलाई कति विभेद गरे होलान् ? हामी जतिसुकै शिक्षित भए पनि यस्तो कुण्ठित विचार हराएको रहेनछ भन्ने कुरा यहीँबाट प्रष्ट हुन्छ।
अझै पनि दोस्रो सन्तान छोरी जन्माउँदा किन दयाको पात्र बनिन्छ ? पहिलो सन्तान जन्मेको आठ वर्षपछि दोस्रो सन्तान जन्माउँदै थिए। पहिलो छोरीलाई धेरै माया गरेकै कारण होला छोरा जन्मिए यो छोरीलाई माया कम नहोस् भनेर पनि मलाई चाँहि छोरी नै जन्मियोस् सोच्थें। नभन्दै ठुली छोरी इस्तिका बहिनी जन्मिएपछि हामीभन्दा धेरै खुसी भइन्। मेरो सासु, ससुरा नहुनु भएकाले मैले अनुभव गर्न पाइन। तर माइतीका बा–आमाले चाँहि छोरी थिई यो चाँहि छोरा भएको भए हुन्थ्यो भन्नुहुन्थ्यो रे बहिनीसँग। मसँग चाँहि रिसाउँछे भनेर होला केही पनि भन्नु भएन। त्यसमा मैले उहाँहरुको मप्रतिको बढी माया र उहाँहरुको युग देखे। तर हाम्रो पुस्ता आफुलाई २१ औं शताब्दिको भन्छौं तर हाम्रो यो सोच १७ औं शताब्दीको जस्तो छ। हामी सोचका हिसाबले कहाँ छौँ ? अझै पनि लि◊ परिक्षण गरेर भ्रुण हत्या गर्ने?
बाहिर भाषणमा समानताका कुरा गरे पनि गर्भमा के रहेछ हेरेनौ ? भन्ने कस्तो सोच हो यो ? कतिपय प्रश्नहरुमा मैले नानी हो भनेपछि सहानुभूतिको वाक्य सुन्नुपर्छ। ए ! नानी भए नि केही हुन्न दुवै एकै हुन्। म यहीँ शब्द सुनेर मुस्कुराउने गर्छु। अब भनौ कहिले आउला हामीमा परिवर्तन ? प्रसव पीडादेखि लालनपालन उहीँ भए पनि किन कुरा गएर छोरामा अडिन्छ ? वंश धान्नकै लागि छोरा हो भने छोरीबाट जन्मेका सन्तानलाई वंश मान्न हुँदैन ? छोरीले विवाह गरेको ज्वाइँ छोरी पट्टिको बाबु आमाको सहारा बन्न हुँदैन र ? चार, पाँचवटा छोरा जन्माउँदा बधाई दिन सक्ने समाजले दुई छोरी जन्माउँदा किन बधाई दिन सक्दैन ? छोरा र छोरी बिचको यो विभेद कहिलेसम्म?