माघ पहिलो साता सधै झैं १० बजे नै विद्यालय पुगिसकेको थिएँ। प्रार्थना सकिँदै थियो, एउटा परिचित नम्बरबाट फोन आयो– ‘साथी मेरो आजै अप्रेशन हुने भो, फुर्सद कस्तो छ? तिमी आउन सक्छौ?’
मैले भने– ‘तिम्रो डेलीभरि डेट त अलि पछाडि थियो कसरी आजै अप्रेशन?’
उनले भनिन् –‘भ्याउँछौ भने यहीँ आऊ सबै बताउँछु।’
१०:३० बजे म हस्पिटल पुग्दा साथीका श्रीमान् औषधी र रिपोर्ट लिन तल्लो तलामा गएका रहेछन्। म पुग्ने बित्तिकै नर्सहरुले हतार हतारमा भने, ‘बिरामीको आफन्त को हुनुहुन्छ? ल ल छिटो गर्नुस् उता अप्रेसन रुममा पालो आइसक्यो।’
‘एकछिन पर्खनुस् न एकैछिनमा उहाँको श्रीमान् नै आउनुहुन्छ, रिर्पोट पनि आइपुग्छ’, मैले भनेँ।
तर नर्सले भनिन्– ‘होइन होइन उता अप्रेसन रूममा पालो आइसक्यो तपाईँले नै गरे पनि हुन्छ केही हुँदैन।’ अनि मैले डराई डराई सही गरेँ र साथीलाई केही हुँदैन नआत्तिनु भन्दै नर्सहरुसँग अप्रेसन रूमतिर पठाएँ। पछि अप्रेसन रुममा लैजादै गर्दा साथीको श्रीमान् केही औषधि लिएर आइपुगे, तर रिपोर्ट अझै आइपुगेको थिएन।
उनीहरुले अप्रेसन रुममा छिराएपछि पनि दुई पटकसम्म छिटो रिपोर्ट ल्याउनु भने तर ल्याबले १२ बजे अगाडि रिपोर्ट आउँदैन भन्यो। यही कुरा मैले अप्रेसन रुमका नर्सहरुलाई भनेपछि उनीहरुले रिपोर्ट मागेनन्। सायद भित्रबाटै ल्याबमा फोनमै रिपोर्ट सोधेर अप्रेसन गरे या के गरे, हामीलाई थाहा भएन। यतिबेलासम्म बिहानको ११ बजिसकेको थियो।
साथीलाई अप्रेसन रुममा लगेपछि म र उनका श्रीमान् अरू शल्यक्रिया गर्ने सुत्केरीका आफन्त झैं अप्रेसन रूम अगाडिको बेन्चमा चुपचाप बस्यौं। आँखा अप्रेसन रूमको ढोकामै थियो तर मन चाँहि कहाँकहाँ पुग्थ्यो। मनले राम्रो नराम्रो सबै सोच्थ्यो। मान्छेको जिन्दगीको सवाल छ, यति हतार हतारमा काम गर्दा एउटा सानो मिस्टेकले पनि सुत्केरीको ज्यान जान सक्छ। उसो त यस्तै अप्रेशन गेरर शिशु जन्माउँदा कति आमाहरु मृत्युको मुखमा पुगेका छन्।
तर उनीहरु यति जटिल विषयलाई सामान्य रुपले लिइरहेका छन्। त्यसैमाथि हाम्रो त झन् रिपोर्ट नआउँदै अप्रेसन रुममा लगेका छन्। मनले भन्यो, ‘हे भगवान! सबै राम्रो होस्, रक्षा गर।’ सायद यस्तैबेला जस्तोसुकै नास्तिक मान्छे पनि आस्तिक बन्छ र एकपटक भगवान पुकार्छ।
बेलाबेलामा नर्सहरु ढोकामा आउँदै बिरामीको नाम भन्थे र तिनका आफन्तलाई कहिले बेबी र्यापर त कहिले औषधि मगाउँथे। करिब १५/२० मिनेटको अन्तरालमा कपडामा बेरिएको शिशु सुत्केरीका आफन्तलाई बुझाउँथे।
जब शिशु हातमा पर्थ्यो छोरा भए धेरैको मुहारमा चमक आउँथ्यो छोरी भए मुहार मलिनो देखिन्थ्यो। तर पहिलो बच्चा छोरा हुनेहरू छोरी जन्मिँदा पनि खुसी हुन्थे। शिशु दिएको करिब आधा घन्टाको अन्तरालमा केही समय अघि हाँस्दै अप्रेसन रुममा छिरेका आमाहरु जिउँदो लासजस्तै हल न चल भएर डाक्टर र नर्ससँगै रगताम्य भएर स्ट्रेचरमा निस्कन्थे। त्यो बेला यस्तो लाग्थ्यो म कुनै बधशाला अगाडि छु। अप्रेसन रूमको स्ट्रेचरबाट पोष्टअपमा लाने स्ट्रेचरमा सुत्केरीलाई सार्दा देखिने रगतको तालले टाउको फन्फनी घुमाउँथ्यो।
यही क्रममा नर्सले अप्रेसन रूमको ढोका खोलिन् र मेरो छेउमै बसेकी आमालाई एउटा शिशु दिइन्। आमैले हातमा लिएको शिशुलाई राम्रोसँग नहेरीकनै बडो उत्सुकतापूर्वक नर्सलाइ सोधिन् – ‘छोरा कि छोरी नानी?’
नर्सले भनिन्– ‘छोरी हो आमा।’ त्यतिबेला बुढी आमाको मुहार एक्कासी अँध्यारो भयो। झन्डै झन्डै आँखाबाट आँसु नै खसालिन्। शिशु दिएको करिब १५/२० मिनेट पछि जब नर्सले उनै आमैलाई ल स्ट्रेचर ल्याउन भन्नुस् त आमा अब तपाईँको सुत्केरीलाई पोष्टअपमा लानुपर्यो भनिन्। त्यतिबेला ती आमैले शिशु हातमै लिएर अघि आफूसँगै आएको अल्लारे युवकलाई निकै खोजिन् तर भेटिनन्। फोन गरिन् स्वीच अफ आयो। त्यसपछि आमैले रूदै भनिन्– ‘ज्वाईँ र म हो हस्पिटल आको। पहिलेको नि छोरी छ यो पनि छोरी जन्मी भनेर रिसाएर कता गएजस्तो छ।’
त्यसो भन्दै आमै रून थालेपछि त्यहीँ बसेका अरू कुरुवाले स्ट्रेचरमा उनकी छोरीलाई पोष्टअपमा लगिदिए। यी सबै दृश्य र घट्ना देखेर म वाक्क भएँ। २१ औं शताब्दीमा पनि छोरी भएकै कारण गर्भमै मर्न पर्नु, मान्छे भएर मान्छेको दर्जा नपाउनु यो कस्तो विडम्बना हो? कानुनमा जे जस्तो ब्यवस्था भए पनि अझै पनि हाम्रो समाज मान्न तयार छैन। पुरानै सोचबाट हामी यति ग्रसित छौ कि, कहिलेकाँही भेटघाटमा मेरा आफन्त र भाइसाथी मलाई भन्ने गर्छन् ‘यतिका सम्पत्ति छ। सम्पत्ति खाने एउटा छोरा त पाउनुपर्यो नि अब!’
तब म भन्छु– ‘किन? छोराले बाउ–आमाको सम्पत्ति खान हुँदा छोरीले खानु हुँदैन? मैले धेरैपटक धेरै ठाउँमा दिएको जवाफ हो यो।
यस्तै प्रसंगमा साथीले केही समय अगाडि भनेको कुरा सम्झन्छु ‘हेर गौरी कहिलेकाँही त लाग्छ यो बच्चा पनि छोरी नै जन्मियोस्, हामीलाई भन्दा यो समाजलाई कति छोराको चासो हो? त्यतिबेला उनी एकछिन् मौन बसेर भनेकी थिइन्, ‘हामी जत्तिको शिक्षित मान्छेले पनि लिङ्ग परीक्षण गरेर भ्रूण हत्या गरे अरू सामान्य महिला र अशिक्षितहरुले के गर्लान्? तर यहाँ त झन तिनै शिक्षित भनाउँदाले नै भ्रूण परीक्षण गर्ने र बढी छोराको चासो लिएर गरेका प्रश्नहरु सुन्दा सुन्दा आजित भएकी छु। अब मैले छोरा जन्माए भ्रूण परीक्षण गरेर छोरै जन्माएछन् भन्छन् छोरी जन्मिए विचरा फेरि छोरी जन्माइछे भन्छन्।’
मानसपटलमा यिनै कुरा तँछाडमछाड गर्दै आउँदै थिए अप्रेशन रूमको ढोकाबाट आएको नर्सको आवाजले झसङ्ग भएँ। करिब १० मिनेटपछि नर्सले एउटा कपडामा बेरेर शिशु दिइन्। नभन्दै साथीको भनाइ पुरा भएको थियो– छोरी नै जन्मिछन्।
शिशु दिएपछि जति समयभित्र साथीलाई अप्रेसन रुमबाट निकाल्नुपर्ने हो त्यस्तो भएन। दुई पटकसम्म उनलाई अप्रेशन रूमबाट पोष्टअप रुममा लान भनेर ल्याएको स्ट्रेचरमा अरु दुई सुत्केरीलाई पालैपालो लगेपछि अब भने हामी उनको स्वास्थ्य अवस्था कस्तो होला भन्ने चिन्ताले अत्तालिन थाल्यौ।
मनमा अनेक कुरा खेल्न थाल्यो बिहान हतारै हतारमा मैले हस्ताक्षर गरेर अप्रेसन रुममा पठाएको, रिपोर्ट पनि समयमै नआएकाले कतै केही गडबडी त भएन? जब हामीले एक जना चिनेको सिनियर नर्सलाई अवस्था के छ बुझिदिन भन्नलाई फोन गर्दै थियौ तब करिब साढे दुई घन्टापछि साथीलाई अप्रेशन रुमबाट बाहिर निकालियो।
हँसिलो मुहारसँगै अप्रेसन रुममा पठाएको साथी करिब तीनघन्टा पछि लडेको मुढाजस्तै बनेर फर्केकी थिइन्। ढोकामा निकाल्दै गर्दा मैले सोधेँ– ‘कस्तो छ शर्मिला अहिले?’ उनले भनिन्– ‘यसपालि त कस्तो गाह्रो भयो साथी, बान्ता आउला जस्तो पनि भयो, निकै समय लगायो।’
मैले सान्त्वना दिदै भनेँ– ‘कहिलेकाँही हुन्छ यस्तो, सामान्य हो। अब ठिक हुन्छौ दुई सन्तान भइहाले अब यो यो नर्कमा जानु पर्दैन।’ मैले यसो भनिरहँदा उनले बरर आँसु झारिन्। सायद अप्रेसन रुमबाट सही सलामत फर्केर हामी सबैलाई भेट्न पाउँदाको आँसु थियो त्यो।
उनलाई श्रीमान् र अरु साथीहरुले स्ट्रेचरमा पोष्टअप रुमतिर लादै थिए। केही ब्याग र अरु सामान हातमा लिएर पछिपछि हिँड्दै गर्दा मेरो मनले भन्यो ‘सुत्केरी हुनु, आमा बन्नु भनेको सृष्टि गर्नु मात्रै होइन मृत्युलाई जितेर आउनु पनि हो।’
धन्यवाद भगवान तिमीलाई भगवानजस्तै डाक्टर तिमीलाई ..!