दुई क्षेत्रबाट एकमा खुम्चिएको डोटीको प्रतिनिधिसभाका लागि वि.स. २०७४ मंसिर २१ गते भएको चुनावमा नेपाली कांग्रेस तथा वाम गठबन्धन दुवै पक्षका उम्मेदवारहरूको निकै नै प्रतिस्पर्धा देखियो।
चुनाव घोषणा हुनुभन्दा पहिला नै जिल्लाका विभिन्न सडक बनाउन र नयाँ खोल्न झन्डै ४ अर्ब रुपैयाँ बजेट आएको थियो। जुन बजेट जनतामाझ प्रचारप्रसारमा जाँदा दुवै पक्षका उम्मेदवारले आ–आफूले बजेट पारेको भाषण दिन तँछाडमछाड नै गरे।
कांग्रेस र एमालेका उम्मेदवारबीच यो आयोजनामा आ–आफ्नो सरकारले बजेट पारेको भन्दै श्रेय लिने होड चल्यो। तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीर बहादुर बलायरले यो आयोजनामा आफूले पारेको दाबी गरे भने वाम गठबन्धनका उम्मेदवार प्रेम आलेमगरले पनि विष्णु पौडेलको अर्थमन्त्रीकालमा सडक विस्तार गर्न आफूले बजेट पारेको दाबी गरे।
तर, मेरो आजको विषय भने यो नभइ, क्षेत्रीय सदरमुकाम दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउने दुवै पक्षका उम्मेदवारको प्रमुख र साझा चुनावी मुद्दा बन्नु हो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस तथा वाम गठबन्धन दुवै पक्षका उम्मेदवारले दिपायललाई प्रदेशको राजधानी बनाएरै छाड्ने एजेन्डा खुबै मज्जाले अघि सारे। यतिसम्म भन्न भ्याए कि यदि यो काम गर्न नसके प्रतिनिधिसभा र प्रदेशसभाबाटै राजीनामा दिने उद्घोष नै गरे। प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार आलेमगरले दिपायललाई राजधानी बनाउन कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै दिपायल राजधानी बनाउन नसके आफूले प्रतिनिधिसभा र जिल्लाबाट विजयी गठबन्धनका अन्य सदस्यले समेत प्रदेशसभाबाटै राजीनामा दिने प्रतिबद्धता जनाए।
‘प्रदेशको केन्द्र दिपायललाई राजधानी बनाउनुपर्छ भन्ने मेरो पहिलो एजेन्डा हो। सुदूरपश्चिमवासीले स्वीकारिसकेको दिपायललाई राजधानी बनाउन सकिनँ भने मैले प्रतिनिधिसभाबाट र गठबन्धनबाट प्रदेशसभामा जित्ने सदस्य सबैले राजीनामा दिन्छौं,’ आलेमगरले भनेको यो कुरा अहिलेसम्म मेरो कानमा गुन्जिरहेको छ।
‘यहाँ प्रदेशको राजधानी बनाउन आवश्यक सबै पूर्वाधार छन् । दिपायल ७ नं. प्रदेशको केन्द्र विन्दु हो । विकास क्षेत्र भइन्जेल सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम हुने र अन्यत्र राजधानी बनाउने कुरामा मेरो सहमति रहन्न,’ भन्दै मन्त्री बलायरले मतदातालाई ललिपप खुवाउनुसम्म खुवाए ।
‘जनता जागौं । प्रदेश नं. ७ को राजधानी दिपायल बनाऔं’ प्रचारप्रसारको नारा नै अघि सारे । यो पनि भने कि दिपायललाई नै प्रदेशको राजधानी बनाउन आफ्नो सरकारले तत्काललाई प्रदेशको काम हेर्ने जिम्मा क्षेत्रीय प्रशासकलाई दिएको दाबी गरे । अनि दिपायललाई प्रदेशको राजधानी बनाउने मुद्दा प्रचारप्रसारमा चर्काइरहे।
जिल्लाको आर्थिक समृद्धिका लागि ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणलाई कांग्रेस र वाम गठबन्धनले दोस्रो ठूलो चुनावी मुद्दा बनाए।
आफ्नो जिल्लामा प्रदेशको राजधानी ल्याउने मुद्दाले डोटीका मतदातालाई आकर्षित गर्यो । राजधानी भै’पो हाल्छ कि? भन्दै खुसी मतदाता, मतदान कसलाई गर्ने भन्ने दोधारमा देखिन्थे । मंसिर २१ गते चुनाव भयो । मतगणना पनि आयो । प्रतिनिधिसभामा आलेमगरले १ हजार ६ सय ३२ मतान्तरले विजय भए । त्यस्तै प्रदेशसभामा ‘क’ मा कांग्रेसका भरतबहादुर खड्का र ‘ख’ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका त्रिलोचन भट्ट विजय भए।
पराजितपछि मन्त्री बलायर काठमाडौं फर्किए। उता भने आलेमगर विजय जुलुस मनाउन व्यस्त रहे। तत्कालीन कांग्रेस सरकारले अस्थायी मुकाम र प्रदेश प्रमुख तोकेर सरकारबाट बाहिरिने निर्णय गर्यो । प्रदेश प्रमुख तोक्यो । तर, अस्थायी मुकामका लागि निकै नै सकस भयो। मन्त्री बलायर अस्थायी मुकामै भए पनि दिपायल बनाएरै छोड्ने होडमा दौडिए । आलेमगर पनि दिपायल राजधानीको मागसहित काठमाडौं पुगे। दिपायल राजधानीका लागि सरकार समक्ष निकै धाएको खुलासा गरे। यतिसम्म कि राजधानीको मागसहितको निवेदन बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुग्दा, तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले आफूलाई भेट्नै नमानेको विभिन्न सञ्चार माध्यमका अन्तरवार्तामा खुलेरै बोले । तर, आज म एक प्रश्न सोध्न चाहन्छु आलेमगर ज्यूलाई । त्यतिबेला देउवाले काम गरेनन् भन्दै कुरा काट्दै हिँड्ने तपाईं, आज तपाईंकै पार्टीका अध्यक्ष प्रधानमन्त्री हुँदा किन मौन ? देउवाले त अस्थायी मुकाम मात्र तोकेर गएका थिए। स्थायी त तपाईंको सरकारले तोक्दै छ।
तपाईंलाई थाहै होला। देउवा सरकारले दिपायल राजाधानी नतोके आन्दोलन चर्किने चेतावनी दिएका थियौं । खोक्रो घाँटी सुकुन्जेल काठमाडौंको बानेश्वर र माइतीघर मण्डलामा निकै ठूलो भाषण दिएका थियौं। दिपायल राजधानी नहुन्जेल आफू नथाक्ने लामो दौडका घोडा सम्झेका थियौं । देउवा सरकारको विरोध गरौं । तर, आज खै त, आफ्नो सरकार हुँदा यो विषय उठान गर्नु भएको? चुनावका बेला त राजधानी दिपायल बनाउन नसके राजीनामै दिने प्रतिबद्धता थियो । त्यो प्रतिबद्धता आज कता गयो ?
अब पालो प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट ज्यूको । मुख्यमन्त्री ज्यू, मुख्यमन्त्रीको कुर्सी पाउनुभन्दा पहिले त खुबै दिपायल राजधानीका लागि चर्केको आन्दोलनको अग्रपन्ति सम्हालेका थियौ। यतिसम्म कि प्रदेशसभा सदस्यको सपथ खाएर दिपायल आन्दोलन गर्न पुगेका थियौ। बिर्सनु भयो ति चुनावी एजेन्डा। तपाईं त भोकाएको बालक जस्तै पो हुनुभयो। आफैं बुझ्नुस् मैले किन तपाईंलाई भोकाएको बालकको संज्ञा दिए। भोकाएको बालकले पेटभरी आमाको दूध चुस्न पाएपछि कसैको वास्था गर्दैन। आज तपाईं पनि त्यस्तै निस्कनुभयो । मुख्यमन्त्रीको कुर्सी पाएपछि दिपायल राजधानीका बारेका च्याँ–च्यु पनि गर्नु भएन।
तपाईंले जनताका लागि राजनीति गर्नु भएको भए भन्न सक्नुहुन्थो, मलाई कुर्सी हैन जनताको खुसी चाहिएको छ। तपाईंले मुख्यमन्त्री बन्छु भनेर चुनाव जित्नु भएको हैन। राजधानी दिपायल बनाउछु भनेर जित्नु भएको हो। मैले दिपायल राजधानी किन बनाउनु भएन? भनेर यो सब भनिरहेको छैन। तपाईंले आफ्नो चुनावी एजेन्डा कुर्सी पाउने बित्तिकै कसरी बिर्सनु भयो? भन्ने मात्र हो। यो नबिर्सनुस् कि चुनाव अर्को चोटी पनि हुन्छ। अर्को चोटीको चुनावमा तपाईंको मुल्याङ्कन गरिने छ।
पहिलेका चुनावमा वाचा गरेका कुराहरू कति पुरा गर्नु भयो? के–के गर्नु भयो? र के–के गर्नु भएन? त्यो हेरिनेछ। यो नबिर्सनुस् कि एकचोटी जितेर आफूलाई बाघ सम्झिनेहरू पनि निथ्रुक्क भिजेका मुसाजस्तै भएर दुलाभित्र चुपचाप बसेका छन्। ठूलो कुरा त्यो हैन, तपाईंले आफ्ना छोराछोरी सरकारी स्कूलमा भर्ना गर्नु । ठूलो कुरा त्यो हो, नराम्रा शिक्षक हटाउनु र राम्रा शिक्षक, शिक्षक नभएकालाई सरकारी स्कूलमा पठाउनु । अनि शिक्षामा सुधार ल्याउनु । समाजमा सकारात्मक परिवर्तन ल्याउनु ।
आफ्नो पार्टीले जितेर सरकार बनाएको एक वर्षमै आयोजना निर्माणको काम सुरू गरेरै छाड्ने लिखित एजेन्डा अघि सारेका थियौ । यो त अझ हेर्न बाँकी नै छ ।