पहिले जस्तो डा. बाबुराम भट्टराईले राखेको विचार, त्यसले ल्याउने तरंग र त्यसमा धुरन्धर विद्वानहरूको प्रतिक्रिया अचेल खासै देखिदैन। हामीजस्ता साधारण विधार्थी साथीभाई भेटघाट हुँदा त भट्टराईको चर्चा हुन छोडेको धेरै भयो भने जान्ने बुझ्नेहरूले के नै वास्ता गर्लान र? निभ्न लागेको दियो धपक्क बलेझेँ बेला बेलामा बोल्छन्। त्यसले खासै वजन राख्दैन!
हिन्दु धर्म, संस्कार र परम्परा नत्यागेसम्म विकास हुन नसक्ने भनेर उनले ठोकुवा गरेका रहेछन्। उनले के भने, किन भने भन्ने बिषय त खासै वास्ता गर्ने कुरा पनि होइन तर फेसबुकको कमेन्ट बक्समा सात लेख्नुस्, युवतीले लगाएको स्कर्ट फर्किन्छ भन्ने पोस्टमा हजारौंको संख्यामा सात लेख्नेहरू पनि छन्।
कतै ती कमेण्टरहरूलाई लक्षित गरेर नेपालको मौलिक धर्मसंस्कृतिप्रति वितृष्णा जगाई विधर्मी बनाउने मनसायले उनको अभिव्यक्ति आएको होइन होला भन्ने ठाउँ छैन।
बिजनेस इन्साईडरले १८-३५ वर्षका युवाको नजरमा विश्वको प्रमुख दश समस्याहरू सम्बन्धि एक अनुसन्धानात्मक लेख छापेको छ। पहिलो नम्बरमा छ जलवायु परिवर्तन।
जलवायु परिवर्तनले उब्जिन सक्ने भयावह स्थिति अहिले नै आंकलन गर्न सकिने अवस्था छैन। अतिवृष्टि अनावृष्टि के हुने हो अझै पनि मौसमविदहरू टाउको कन्याउँदै छन्। बंगलादेश र माल्दिभ्स समुद्रमुनि डुब्ने हुन् वा नेपालका उत्तरका हिमालय पग्लेर दक्षिणको तराई बगाउने हो? विश्व मन्चमा जलवायु परिवर्तन सम्बन्धि मुद्दा नियमित जस्तै हुने गरेको छ।
नेपाल सरकारले पनि यस समस्याको गम्भीरता देखाउन सगरमाथाको बेसक्याम्पमा मन्त्रिपरिषद बैठक गरिसकेको छ।
यो समस्या त्यतिकै आएको होइन। अहिले समृद्ध भनेर चिनिएका देशहरूले पृथ्वीको सक्दो दोहन गरेको कारण उब्जिएको समस्या हो। जसरी हुन्छ नाफा आए भईहाल्यो नि भन्ने मानसिकताले उब्जिएको समस्या हो। पृथ्वी भगवानले मानिसलाई भोग गर्न दिएको हो भन्ने किसिमको बुझाई भएका राष्ट्रहरू यसका जिम्मेवार हुन्।
माता भूमि: पुत्रोऽहं पृथिव्या: (अथर्ववेद १२। १। १२) ले जलवायु परिवर्तन सम्बन्धि समस्यालाई सम्बोधन गरेको छ। पृथ्वी आमा हुन् र हामी यिनको सन्तान। आमाले आफ्नो सन्तानलाई आफ्नो दुध खुवाएर हुर्काउँछिन् तर, जब सन्तान जति दुध खुवाए पनि नपुग्ने हन्तकाली बन्छ र आमाको दुध चुसेको चुसेई गर्छ, आमा बिरामी हुनु स्वाभाविक हो। अझ त्यतिले नपुगेर धेरैभन्दा धेरै दुध प्राप्त गर्न आमामाथि विभिन्न रसायन प्रयोग गर्ने अथवा जेनेटिकल मोडिफ़िकेसन गर्न थालेपछि आमा त बिरामी हुन्छिन् हुन्छिन् त्यसको प्रतिफल स्वरुप सन्तान नै बिनासको संघारमा पुग्छ। यही होइन जलवायु परिवर्तन?
यदि समयमै पृथ्वीलाई आमासँग गरिएको तुलना लागू गर्न सकेको भए आज विश्वको टाउको दुखाई बन्ने थिएन जलवायु परिवर्तन! अब गर्ने के त?
यत् ते भूमे विखनामि क्षिप्रां तदपि रोहतु मा ते मर्म विमृग्वरि (अथर्ववेद १२। १।३५)
पृथ्वीमै आधारित रहेर बाँच्नुपर्छ हामीले यसर्थ गल्ति स्वीकार्ने र पृथ्वीलाई क्षति पुग्ने गरी चर्को दोहन नगर्ने। आफ्नो प्रवृत्तिमा सुधार्ने ताकि आउँदो पुस्तासमेत बाँच्न सक्ने स्थिति रहोस्। यही नै होइन दिगो विकास अर्थात सस्टेनेबल डेभेलप्मेण्टको अवधारणा भनेको?
दोस्रो प्रमुख समस्याको रुपमा युद्व र अशान्ति छ।
पर्दा पछाडि विभिन्न बिदेशी विधर्मीको चलखेल भए पनि नेपालमा भएको दश वर्षे युद्व र अशान्तिलाई बाबुराम भट्टराईले नजिकबाट देखेका छन्। शान्ति प्रक्रिया अझै पनि टुंगोमा पुगेको छैन भनेर आफैं पनि भनिरहेका छन्। एक पटक युद्वको झिल्को फैलिएपछि कस्तो अवस्था आउँदोरहेछ भनेर रूकमाङ्गत कटुवाल काण्ड हुँदा प्रचण्डले सिरानीमा मेसिन गन राखेर सुतेको कुरा यहाँ उल्लेखनीय छ।
बुर्जुवा शिक्षा बहिष्कार गर्न लगाएर युद्वमा होमिएकाहरू बाबुरामले आफ्नै छोरीलाई बुर्जुवा शिक्षाको गोल्ड मेडल दिएको फोटो हेरेर कति मुर्मुरिएका होलान् उनका छिरोलिएका कार्यकर्ता? प्रचण्डले त थप्पड भेटिसकेका छन्।
भईसकेको युद्वपछि स्थायी शान्ति कायम गर्न हिन्दु धर्म शास्त्र महाभारतलाई उल्लेख गर्दै गुरु डा. निर्मलमणि अधिकारी तीन उपाय सुझाउनु भएको छ।
दोष स्वीकार /क्षमायाचना : कुरुक्षेत्र युद्व जिते लगत्तै युधिष्ठिरले श्रीकृष्णलाई गान्धारी र धृतराष्ट्र समक्ष दुर्यधनले थोपरेको युद्वको कारण आफुले हिँसा गर्न बाध्य भएकोमा क्षमायाचना गर्न पठाउँछन्।
त्रास र बदलाको भावको निराकरण : दृष्टि बिहिन धृतराष्ट्रले भीम भन्ठानेर फलामे मूर्तिलाई टुक्रा टुक्रा पारेको उदाहरण हेरौं। फोस्रा आश्वासनमा हिंसामा उत्रिएका अथवा सो हिंसाबाट पीडितमा बदलाको भावना जागेको खण्डमा प्रचण्डको गालामा थप्पड हान्नेको हातमा सानो चक्कु भएको खण्डमा के हुन सक्थ्यो, सजिलै बुझ्न सकिन्छ। यसर्थ जुनै पक्षको भए पनि अश्वत्थामाको अपराधलाई माफी दिएर सौम्य ऋषिमा परिणत गरे झैं हिँसामा उत्रिएकाहरूलाई असल व्यक्तिमा परिणत गराउन सक्नु शान्ति प्रक्रियाको महत्वपूर्ण आवश्यकता हो।
अहिंसात्मक सहअस्तित्व : युद्व पश्चात क्षतिग्रस्त राज्यलाई युधिस्ठिरको नेतृत्वमा सम्हालेर अश्वमेध यज्ञ गर्न सबै जुटाउन सकेका थिए। नेपालका द्वन्दरत पक्षहरूको साझा नेतृत्व र साझा एजेण्डा (महाभारतको हकमा अश्वमेध यज्ञ) अहिले नखड्किएको होइन।
अब सोचौ, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यक्षेत्र महाभारतको यस युद्व पश्चातको दिगो शान्ति स्थापर्नार्थ चालिएका कदम बाहेक अन्य केही छ? महाभारतको युद्वलाई शान्ति स्थापना गर्न दिईएको सानो सुझावमा डा. भट्टराई लगायत तथाकथित जनयुद्वमा सहभागीहरूलाई आपसमा मिलाएर दिगो शान्ति स्थापना गर्न सामर्थ्य राख्छ भने महाभारतको एक लाख श्लोकमा विकास र समृद्धिको कुनै पनि बिषय परेको छैन होला ?
लौ भैगो, युद्व भयो अशान्ति छायो अब भबिष्यमा नहुन चै हिन्दु धर्ममा केहि व्यवस्था छ ?
हिन्दु दर्शनमा आधारित युद्व व्यवस्थापन र शान्ति स्थापना बिषयमा डा. अधिकारीद्वारा यजुर्वेदको ४०.६ मन्त्र उधृत गर्दै भन्नु भएको छ - आफूमा अरुको प्रतिबिम्ब देख्ने र अरुमा आफ्नो प्रतिबिम्ब देख्नेले कसैलाई घृणा गर्दैन। यहुदी धर्मावलम्बी जर्मनीका कार्ल मार्क्सले 'विश्व भरीका मजदुर एक होऔं' भन्दै मजदुरलाई एककृत गरेर मालिकलाई प्रहार गर्ने सन्देशमा युद्व र अशान्तिको सम्भावना देखिन्छ कि कृण्वन्तो विश्वमार्यम् (ऋग्वेद–९।६३।५) अर्थात सारा विश्वलाई असल बनाउ भन्ने भनाईमा अथवा वसुधैव कुटुम्बकम् (महोपनिषद् – ४। ७१) अर्थात संसारका सबै मानिसहरू एकै परिवार हुन भन्ने भनाईमा ?
भिन्नता हुने बितिक्कै द्वन्द्व देख्ने मार्क्सवादीहरूले संसारमा कुनै पनि बेला युद्व निम्त्याउन सक्छन भने ऋग्वेद र यजुर्वेदका यी श्लोकहरू त्यही युद्व रोकेर शान्ति स्थापना गर्न सक्षम छन्।
तेस्रो ठूलो समस्यामा छ - रेलिजीयस कन्फ़्लिक्ट (जसलाई धार्मिक युद्व पनि भनेर बुझिन्छ)। डा. डेभिड फ़्रले भन्छन् -फ्रान्स र स्पेनले तेह्रौ शताब्दीमा देश भरीका यहुदीलाई देश निकाला गरेका थिए। इसाई अतिवादी हिट्लरले दोस्रो विश्वयुद्व ताका ६० लाख यहुदी मारे पनि फरक सम्प्रदायमाथि वैरभाव राख्ने उनी पहिलो र अन्तिम होइनन। रसियाका अर्थोडक्स इसाई सिध्याउन प्रोटेस्टेण्टहरु मिलेर टर्कीका मुसलमानसँग संयुक्त मोर्चा बनाएर हमला गरिएको थियो। मध्येपूर्वका यहुदी र मुसलमानको तनाव के कुरा गर्नु? कुर्सेडर्स र जिहादिस्टको युद्वले युरोपेली सीमानाका रक्तरंगिन इतिहास अझै साक्षी छ, सिरियामा युद्व अझै जारी छ ! बुझ्नेले बुझ्लान।
पृथ्वीको मध्येपूर्वको, इजरायल भन्ने देशको, जेरुसेलम भन्ने शहरको, टेम्पल माउण्टको पर्खालको एका पट्टि र अर्को पट्टि प्रार्थना गर्ने इसाई, मुसाई र यहुदीहरू किन यति लड्छन? किन एकले अर्कोलाई सिध्याउन खोज्छन ? र त्यहि स्वयम्भु डाँडाको एकै ठाउँमा रहेको बौद्ध गुम्बा र हिन्दु सरस्स्वती धर्मावलम्बी किन लड्दैनन्? डा. बाबुराम भट्टराईले कहिले सोचे-सोचेनन्?
खैर, बाउ आमालाई तिर्थस्थल घुमाए पनि उनको नजरमा धर्म भनेको अफिम हो तर हाम्रो निम्ति सोचनीय विषय हो। एब्राहमिक सम्प्रदायका यहुदी, इस्लाम र इसाई धर्मावलम्बीहरु लडेको लड्यै छन्। क्याथोलिकसँग लडेर प्रोटेस्टेण्ट जन्मिए जसले अर्थोडक्समाथि आक्रमण गरे भने इस्लाम अन्तर्गतको सिया र सुन्नीको युद्व अहिले सम्म साउदी अरेबिया र ईरानसम्म कायमै छ।
गौतम बुद्धले भगवान र आत्मा भन्ने कुरै छैन भन्थे। जैनका तिर्थाङ्करहरू आत्मा छ तर भगवान छैन भन्थे। हिन्दुहरु फेरि भगवान छ भन्ने पनि छन्, छैन भन्ने पनि छन्। झन् बढी काटाकाट पो हुनुपर्ने, तर खै पटक्कै छैन त?
कारण स्पष्ट छ। एब्राहमिकहरू "सत्य यहि हो " भन्छन् यता हिन्दु दर्शनका वेदान्त लगायत जैन र बौद्धहरू " नेति नेति " लाई खुला गर्छन। नेति नेति अर्थात ’यो पनि होइन त्यो पनि होइन, सत्यलाई आउन देउ।’ भनेपछि सत्य आउन सक्ने बाटो खुला गर्न सहमत सम्प्रदायहरू लड्ने कुरै भएन !
विश्वका प्रमुख तीन समस्यालाई हिन्दु दर्शनले सम्बोधन गर्दै समाधानको उपाय उल्लेख गरिसकिएको छ।
डा. राजिभ मलहोत्राका अनुसारअफ्रिकाका एनिमिस्ट अथवा नेपालका हिन्दु/किराती जस्तै युरोपमा पनि पागन सम्प्रदाय थिए। इसाईहरूद्वारा आक्रमण गरियो। धेरै मारिए, धेरैलाई धर्म परिवर्तन गराईयो। त्यसपछि युरोपमा चर्चको हालीमुहाली कतिसम्म रह्यो भने एकतिहाई युरोपेली जमिन क्याथोलिक चर्चको नियन्त्रणमा थियो। जसलाई डार्क एज अर्थात् अन्धकार युग भनिन्छ। त्यसपछि फेरि यशुको जन्म अघिको ग्रीक र रोमन विचारकका ग्रन्थहरू पुन: प्राप्ति पछि युरोपमा पुनर्जागरण काल सुरु भएको हो। जसले अहिले युरोपलाई समृद्ध बनाएको छ। युरोपियन समृद्धि इसाई विचार पद्धतिको बिरुद्धमा गएर खडा भएको हो। जबसम्म त्यो विचारले गाजेको थियो, युरोपमा अन्धकार युग चलेको थियो।
यसको अर्थ युरोपेलीहरू इसाईत्वको कारण अन्धकार युगमा थिए, हिन्दुत्व अथवा बौद्ध दर्शनको कारण होइन। औलामा क्यान्सर लाग्यो भने सुरुमा उपचार गर्ने, भएन भने काटेर फाल्ने हो तर एउटाले औला काटेर क्यान्सर ठिक भएको देखेर क्यान्सर नै नलागेकाहरू पनि औला काट्दै फाल्न थाले कस्तो अवस्था आउला ? बाबुराम भट्टराईको तर्क यहि हो - क्यान्सर लागे पनि नलागे पनि सबैले औला काटेर फालौ !
युरोपेली कुवाको पानीमा आर्सेनिक देखियो भन्दैमा नेपालमा पनि कुवाको पानी खान छोड्ने कि नेपालको कुवाको पानीमा आर्सेनिक छ कि छैन परीक्षण गर्ने ?
नेपाल केन्द्रित समस्या र यसको समाधानमा मात्र लेख्दा लामो हुन जान्छ। नेपालको शैक्षिक प्रणाली र त्रिभुवन बिश्वविद्यालय अवस्था हेर्दा दया लाग्दो अवस्थामा छ। एकातिर राजनीतिक भागबण्डा नमिलेर पदाधिकारी चयन गर्न हम्मे हम्मे अर्को तिर थेसिस समेत किनेर बिधार्थीहरु भटाभट पास। दोष कसलाई दिनु ? शिक्षा आधारभूत आवश्यकता हो भनिएको श्लोक उल्लेख गर्नु कि चोर्नु हुन्न भनेर स्पष्ट लेखिएको मन्त्र उल्लेख गर्नु ?
बाबुराम भट्टराई सरहका इन्जिनियरलाई जावो रानी पोखरी पुननिर्माणमा कत्रो टाउको दुखाई छ, झन् त्यत्रो बसन्तपुर, भक्तपुर र पाटन दरबारहरू आज भन्दा ५-६ सय वर्ष अगाडि कसरी बनाईए होलान्? गुरुकुलीय पद्धति अन्तर्गत ज्ञानको हस्तान्तरण हुँदैन आएको भए डा. जगमान गुरुङको अनुसार, भक्तपुर शंखको आकारमा, काठमाडौँ खड्गाकारमा र ललितपुर स्वस्तिकाकारमा त्यस्ता संरचना निर्माण हुन सम्भव थियो ? त्यो ज्ञान पद्धतिमा अहिलेको वाटर म्यानेजमेन्ट, अर्किटेक्चर इन्जिनियर, सिभिल इन्जिनियर, म्याटेरियल इन्जिनियर, डिजाईन सम्बन्धि ज्ञान नभएको भए हाम्रो आँखा अगाडिका ती संरचना रहिरहन सम्भव थियो?
कसैले तथास्तु गरेर उत्पति भएको थिएन भने कसरी त्यत्रो संरचना निर्माण गर्न सम्भव भयो? बोलोग्ना अथवा अक्फोर्ड विश्वविद्यालयलाई पहिलो अध्ययन केन्द्र मान्ने हो भने त्यसभन्दा अगाडि स्थापना भएका तक्षशीला, नालन्द र विक्रमशीलालाई के भन्ने जहाँ हिन्दु र बौद्ध दर्शन अन्तर्गत पढाई हुन्थ्यो? हिन्दु धर्मग्रन्थ शैक्षिक विकासको बाधक हो कि होइन मनन् गरौँ।
युरोपेली राष्ट्र-राज्य सिद्दान्तमा आधारित रहेर जातीय राज्यको बिज छरेर द्वन्द उत्पादन गर्न उद्दत भट्टराईलाई यजुर्वेद, ऋग्वेद र अथर्ववेदका मन्त्रहरू निर्दिष्ट 'राज्य-राष्ट्र' सिद्दान्तले ल्याउने शान्ति स्थायित्व र भातृत्व पटक्कै मन नपर्ला।
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवत:।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफला: क्रिया:।। (मनुस्मृति ३। ५६)
जहाँ नारीको सम्मान हुन्छ त्यहाँ ईश्वर रमण गर्छन् जहाँ अनादार हुन्छ, कार्य निष्फल हुन्छ। लैंगिक भेदभावको कुरा गर्ने हो भने मन्दिरहरुमा विराजमान देवीका मूर्तिलाई के गर्ने हो फेरि ?
दिनभरी बसेर लेख्न सकिन्छ तर एउटै समस्या छ। हिन्दु, बौद्ध, किराती जस्ता नेपालका मौलिक धर्मसंस्कृतिमा रहेको वैज्ञानिक पक्ष केलाउन खोज्दा कार्ल मार्क्सको चस्मा लगाएकाहरूले पुरातनवादी, रुढिवादी, सामन्ती यावत आरोप लगाउँछन्। शिक्षाबाट यी बिषय पूर्णतय विक्षिन्न गरिसकिएको छ। भने त्यही धर्म संस्कृतिका मान्यतालाई षड्यन्त्रपूर्ण अर्थापन गरेर एनजीओ आईएनजीओ, धर्म परिवर्तनमा उद्धत मिडिया र डा. भट्टराई जस्ता "विचार निर्माताहरू" फुकेको फुकेई गर्छन्। जसले गर्दा आम मानिसहरूहरू धर्म संस्कृतिले भन्न खोजेको वास्तविक कुरा थाहा नपाई आफ्नो मौलिक धर्म संस्कृतिप्रति वितृष्णा जगाउँदै धर्मबाट च्युत गराउने र अर्को धर्म पहिर्याउने षड्यन्त्रको हिस्सा नहोला भन्न सकिन्न।
अहम ब्रम्हास्मी (बृहदारण्यक उपनिषद १।४।१०)
नेपालको मात्रै होइन विश्वकै सबै भन्दा ठुला ठुला समस्यालाई हिन्दु धर्मग्रन्थका श्लोकहरूले सम्बोधन गरेको देखियो। भौतिक विज्ञानको क्वाण्टम मेकानिक्सको क्षेत्रमा समेत सुल्झिन नसकेको सबै भन्दा ठुलो रहस्य - पदार्थ र चेतनाको सम्बन्ध देखाउने कोपेनहेगन व्याख्यामा समेत 'अहम ब्रम्हास्मी' अर्थात चेतनाको प्रकटीकरण नै पदार्थ हो अर्थात अवलोकन गरे पदार्थले एउटा प्रकृति देखाउने नगरे अर्को प्रकृति देखाउनुमा चेतना नै पदार्थको प्रकृतिको मूल कारक हो भनेर व्याख्या हुन थालेको छ। गाँस, बास, कपास, औषधि र शिक्षालाई मानिसको आधारभुत आवश्यकता भनेर आज भन्दा हजारौं वर्ष अगाडि लेखिएका धर्मग्रन्थमा परिसकेको छ भने सन् १८४८ मा लेखिएको कम्युनिस्ट मेनिफोस्टोको चस्मा लगाएर हिन्दु धर्मग्रन्थ विकास बिरोधी छ भन्नु कति हास्यास्पद छ, विचार गरौँ!
अन्तमा यो जन्ममा दु:ख गर अर्को जन्ममा फल पाउँछ भन्ने भनाईले नै विकासलाई रोक्छ भनेका छन्। अर्को जन्म हुन्छ कि हुँदैन भनेर यसै लेखमा लेख्न अति लामो हुन्छ। कोरा पदार्थवादी व्यक्ति भएकोले पुनर्जन्मको सम्भावनालाई नकारेको होला। तर तत्क्षण कर्मको फलमा ध्यान केन्द्रित गर्नु भन्दा कर्ममा पूर्ण ध्यान लगाउ भन्ने मर्मको भनाईलाई भट्टराईले खिल्ली उडाउने शैलीमा भनेका छन्।
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि।। (श्रीमद् भगवद्गीता २। ४७)
यसको आशय कर्म गर तर तत्क्षण फलको आशा नगर र आफुलाई कर्तब्यबाट बिमुख पनि नगराउ भन्न खोजेको छ। यो सुखको उच्चतम अनुभव हो। मनोवैज्ञानिक मिहाईल चिक्त्सेंमिहाईलले अघि सारेको 'फ्लो कन्सेप्ट' संग मिल्छ। कर्ममा यसरी ध्यान लगाउने कि वातावरणका अन्य कुरा त परको कुरा, समय बितेको समेत पत्तै हुदैन। आफैलाई बिर्सेर गरिएरहेको कर्ममा एकाकार भईन्छ। समयको निश्चित इकाईमा मस्तिकले निश्चित मात्रामा सुचना लिन सक्छ। उक्त समयमा फलको आशा गर्नु भनेको सिमित संख्यामा रहेको मस्तिष्कले लिन सक्ने सुचनाको एउटा हिस्सा अन्तै केन्द्रित गर्नु हो जसले गर्दा कर्ममा पर्याप्त सुचना पुग्दैन र फलमा असर गर्छ।
द्रोणाचार्यले हाँगामा रहेको चरालाई निशाना लगाउन भन्दा अरुले हाँगा, पात, रुख, चरा, अनि आँखा देख्नु तर अर्जुनले चराको आँखा बाहेक अरु केहि नदेख्नुले उनी मिहाईल चिक्त्सेंमिहाईलले भने झैँ ' इन द जोन ' को अवस्थामा थिए भन्न सकिन्छ जसले जुन कर्मको लागि ध्यान गर्छ त्यो बाहेक अरु केहि देख्दैन। मस्तिष्कले लिन सक्ने सुचनाको शतप्रतिशत चराको आँखामा केन्द्रित गरेका थिए। त्यसको प्रतिफल स्वरुप अर्जुन सर्वश्रेष्ठ धनुर्धारी बनेको कुरा बिदितै छ।
यहि कुरा सरकारी कर्मचारीमा लागु गराउन सके ति कर्मचारी अति आनन्द 'फ्लो' को अवस्थामा रहन्थे भने सेवाग्राही एकैछिनमा हुने कामको लागि सात आठदिन धाई रहन पर्दैनथियो। शिक्षकहरू हाजिर गरेर भाग्दैन थिए बरु अति सुखानुभूत गरेर पढाउन्थे। कलाकार, लेखक, पत्रकार, कामदार सबै आफ्नो कर्ममा समाहित भएर अति आनन्दको अनुभव गर्थे फलस्वरूप समग्र देश र जनता समृद्ध र सुखी हुन्थे।
हिन्दु धर्मग्रन्थ सुख र समृद्धिका बाधक होइनन। बाधक त डा. बाबुराम भट्टराई जस्ता नेता हुन् जसले कार्यकारी अधिकार प्रयोग गर्दा बागमती सफा गर्न सकेनन पछि कुर्सिबाट हटेपछि आफै झाडु लिएर सफा गर्न पुगे। जो आफु भारतमा लुक्थे, नेपाली सेना माथि आक्रमण गर्न लगाउथे। फेरि सिमानामा भारतसँग युद्व लड्न सुरुङ्ग पनि खन्न लगाउँथे भित्र भित्र एसडि मुनि मार्फत भारत सरकारलाई बिन्ति पत्र पनि बुझाउँथे !
निदाएकालाई ब्युँझाउन सकिन्छ, निदाएको बहाना गर्नेलाई सकिदैन।