नियमित चेक-अपको लागि म अस्पताल पुगेर गाडी पार्क गर्न खोज्दै थिएँ, एक्कासी फोनको घन्टी बज्यो। मैले फोन उठाएँ- ‘हेल्लो’! फोनको अर्को साइडबाट जवाफ आयो- ‘हाई, आइ एम ए स्कूल नर्स, योर्स डटर बोधीका ह्याज फिबर, क्यान यू कम एण्ड पीक हर अप एज सून एज पसिबल?’, म एकछिन आत्तिएँ।
आफूलाई चेकअप गर्न आएको म, हस्पिटल छिरौं कि छोरी लिन जाउ। दोधारमा परेँ। एकछिन लामो सास फेरेँ अनि गाडी मोडेर छोरीको स्कूल तिर लागेँ।
बाटोभरि छोरीको अनुहार झल्झली याद आइरह्यो र कौतुहल पनि, के भएको होला छोरीलाई, सोच्दा सोच्दै १० मिनेटमै स्कूलको पार्किङमा पुगेको याद भएन।
दौडेर अफिसमा पुगेँ, स्कूल स्टाफले एकछिन पर्खने संकेत गरे। म सोफामा बसे। अर्को कोठामा छोरी र नर्स गफ गरिरहेको सुनेपछि बल्ल मन अलि हल्का भयो। एकै छिनमा स्टाफले नर्सको कोठामा जान अनुमति दिईन् र म भित्र छिरेँ, छोरी त मज्जाले बेडमा पल्टेर नर्ससँग कुरा गरिरहेकी रहिछिन्।
मलाई देखेर -‘पापा!’ भनेर अंकमाल गरिन्। मैले पनि आनन्दको सास फेरेर छोरीलाई सोधेँ- ‘कस्तो छ मैया?’ उनले विस्तार लगाइन् आफू बिहान स्कूल आएदेखि हल्का टाउको दुखेकोले नर्सकोमा चेकअप गर्न आएको भनेर।
नर्सले घर पठाउनु अगाडि फेरि एकपल्ट ज्वरो नाप्ने र १०० डिग्रीभन्दा बढी भयो भने घर जान नदिने है भनेर छोरीलाई जिस्काइन्। छोरीले मलाई पुलुक्क हेरेर हुन्छ भनेर टाउको हल्लाइन्। थर्मोमिटरले एक छिनमा पी पी पी... आवाज निकाल्यो र ज्वरो त १००.४ डिग्री रहेछ तर, छोरीलाई घर जान नर्सले अनुमति दिईन्।
बोधीकालाई हात समातेर दोडाउँदै गाडीमा पुर्याएँ। छोरी घर आउन जति आतुर थिईन्, त्यति नै डर पनि थियो उनलाई। उनले रून्चे स्वरमा भनिन्-‘पापा डाक्टरकोमा नजाने है’, मैले फकाएँ -‘हैन मैया, डाक्टरकोमा त जानुपर्छ’, उनले ‘नाइँ पापा म डाक्टरकोमा नजाने मलाई सुई हाल्छ, म नजाने’ भनेर रून थालिन्।
मैले छोरीलाई फकाउँदै उनीसँग एउटा सम्झौता गरेँ र भने-त्यसो भए तिमीले ज्ञानी भएर औषधि खाउ अनि निको भएपछि त डाक्टरकोमा जाने पर्दैन नि होइन?’ उनले थपिन् -‘औषधिले पनि निको भएन भने के गर्ने? पापाले मलाई डाक्टरकोमा लान्छ।’
म छोरीलाई फकाउँदा फकाउँदै घर पुगियो र छोरीलाई दाइ भाउजुको जिम्मा लगाएर औषधि पसल गएँ।
करिब ४५ मिनेटपछि म औषधि लिएर घर आएँ। छोरी भने मेरो बेडमा पल्टेर मज्जाले फोन चलाईराखेकी रहिछिन्। मैले जिस्काए -‘के हो छोरी, रेस्ट गर्न नर्सले घर पठाएको त तिमी त मज्जाले फोन हेरेर दङ्ग?’ भाउजुले पनि सुनाउनु भो -‘तिम्रो छोरी त नसकिने रहेछ। तिमी औषधि किन्न बाहिर जाने बितिकै बेडमा पल्टिइन् र भनिन् ‘म पनि मामा (ममी) जस्तो बिरामी भएँ मलाई दुध, अन्डा, बिस्कुट सबै बेडमा ल्याईदिनु।’
म मुस्कुराएँ छोरीको ताल देखेर। उनको छेउ गएर उसको निधार छामेँ अनि औषधि खुवाउन बोतल खोलेँ, छोरीले फोन छेउमा राखिन् र भनिन् -‘पापा मलाई तपाईँको भाउजु मन पर्यो, तपाईँको भाउजुलाई म मामा भनेर बोलाऊ?’, म जिल्ल परेँ र यत्तिकैमा भाउजु र मेरो आँखा जुध्यो। हामी दुवै जना ट्वाल्ल पर्यौ। अनि मैले छोरीलाई भने,-‘मेरो भाउजु तिम्रो मामा त हो नि ठूलो मम्मी।’ तर छोरीले -‘नाइँ म ठूलो मम्मी नभन्ने। मामा मात्र भन्ने’ भनेर जिद्दी गरिन्। मैले औषधिको चम्चा मेरो हातमा रोकेँ, केही वाक्य निकाल्नै सकिनँ, अकमक्क परेँ।
मेरा आँखा रसाए अनि मैले ‘हुन्छ तिमीले जे भनेर बोलाउन मन लाग्छ बोलाऊ’, छोरीले ‘यस...’ भनिन् अनि मैले छोरीलाई औषधि मुखमा हालिदिएँ।
साँझ ६- ६:३० हुँदो हो, छोरी चुपचाप आँखा चिम्म गरि पल्टिरहेकी थिईन्, म ल्यापटपमा आफ्नो काम गर्दै थिए। मेरी आठ वर्षको छोरीले एक्कासी -‘मामा’, ‘मामा’ भन्दै आफ्नी आमालाई बोलाएको सुनेर झसंग भएँ। मेरो मस्तिस्क केही समयको लागि फ्रीज भयो।
एकास्सी मुटु सिरिङ्ग भयो अनि शरीरका रौहरू ठाडा भए। मेरी धर्मपत्नी र मेरा दुई सन्तानकी आमा, क्यान्सरका कारण हामीलाई यो संसारबाट छोडेर गएको झन्डै दुई साता मात्र भएको थियो। मैले मेरो ल्यापटपलाई छेउमा राखेर छोरीको निधार सुम्सुम्याउँदै सोधेँ -‘छोरी, मैया के भयो तिमीलाई? आर यू ओ के? तिमीलाई थाहा छ नि है, मामा इज नो मोर भनेर?, अब मामा आउँदैन छोरी।’
छोरीको आँखा मलिन थिए र उनले भनिन्-‘पापा,आइ जस्ट वान्टेड टू कल मामा। मामाले हजुर भनेर मलाई उत्तर नदिए पनि, मामा अब नआए पनि ‘क्यान आइ कल हर?’ म एकछिन स्तब्ध भएँ मसँग त्यो प्रश्नको कुनै जवाफ थिएन। एकछिन चुप लागेँ अनि मैले हुन्छ छोरी बोलाउ भने।
अनि उनले चार पटक- ‘मामा..’, ‘मामा..’, ‘मामा..’, ‘मामा..’ भनेर आफ्नी आमालाई बोलाइन्। घर सुनसान थियो। मेरा दाइ, भाउजु र छोरो बाहिर जानुभएको थियो। एक किसिमको सन्नाटा छायो घरमा। मैले छोरीसँग एक चोटी पनि आँखा जुधाउन सकिनँ। एकछिन चुप लागेर बसेँ। ‘छोरी तिमीलाई ठिक छ’- भनेर सोधेँ। उनले मुन्टो हलाएर आफू ठिक भएको संकेत गरिन्। तर, मैले स्पस्ट देखिरहेको थिएँ, मेरो छोरीले आफ्नी आमालाई कति मिस गरिरहेकी थिईन् भन्ने।
म केवल एक 'हेल्पलेस' बाबु भएर टोलाऊनु बाहेक केही गर्न सकिरहेको थिईनँ। मेरो घाँटी ख्याप्प भएर सास फेर्न गाह्रो भइरहेको अनुभव भयो। छाति पनि गह्रुङ्गो लाग्यो। अनि एकछिन त यस्तो लाग्यो कि मेरी स्व.पत्नी कमला दौडेर आइ आफ्नी छोरीको निधार छामेर उसलाई आफ्नो अंगालोमा हाल्छिन्। त्यो त मेरो काल्पना मात्र थियो र मनदेखिको चाहना पनि। तर, किन त्यस्तो हुँदो हो? नियतीले मेरी छोरी, मेरो छोरा र मलाई ठगिसकेको थियो। छोरीले जति बोलाए पनि उनी आइनन्। मैले दायाँ-बायाँ चारै तिर हेरेँ, भित्तामा झुन्डिएको उनको र मेरो तस्बिर मात्र देखेँ।
तस्बिरमा उनको मन्द मुस्कानले हामी बाउ छोरीलाई मात्र हेरिरहिन्।
त्यसपछि मैले छोरीको हात समाउँदै बैठक कोठामा ल्याएर टिभी देखाउन खोजेँ। तर, छोरीले पटक्कै मानिनन्। उनलाई सिरकले छोपेर सुताउन खोजेँ त्यो पनि मानिनन्। बरू मेरो हात समाएर मलाई सोधिन् -‘पापा, क्यान आइ क्राइ?’ मैले उनको आँखा हेरेँ, उनी भित्र भित्रै रोइसकेकी थिइन् केवल बाँकि थियो भक्कानिएर डाको छोड्न। मैले हुन्छ छोरी आज तिमी मज्जाले रूनू, आफू भित्रको सबै पीडा निकाल्नू, अनि आफ्नी आमालाई बोलाउनू भने।
उनले मेरो हात सामाइरहेकी थिइन् अनि भनिन्-‘पापा तर, तपाईँ चै नरूनू है? तपाईँ रूनु भयो भने म रून्नँ, म रिसाउँछु।’
मेरो पनि गहभरी आँशु भएकाले केही बोल्ने सकिनँ र मुन्टो हल्लाएर हुन्छ भन्ने सहमति दिएँ। केवल छोरीको अनुहार हेरिरहेँ। उनले बिस्तारै आफ्नो गाला खुम्च्याइन्। उनको ओठ थरर काप्यो अनि आँखाबाट आँशुका धारा बग्न थाल्यो। मैले उनको अनुहार हेर्न सकिनँ र मुन्टो बटारेर भित्तातिर टोलाईरहेँ। दायाँ-बाँया हेरेँ, तर छोरी रोएको हेर्नै सकिनँ। बोधीका मलाई हेर्दै रूदै थिईन्। मेरो पनि आफ्नो आँखामा आँशुको भेल थियो। तर, मैले पोख्न सकेको थिइनँ। उनले मलाई हेरिरहिन्। तर, मैले मेरो आँशु थाम्न सकिनँ। दुई, तीन चार, हुँदै केही थोपा आँशु खस्न नपाउँदैं छोरी मसँग रिसाइन् र भनिन् -‘पापा यू प्रोमिसद मि, किन रूनु भएको?’, उनले आफ्नो आँशु पुछ्न थालिन् र भनिन् ‘आइ एम नट गोंना क्राइ’ (म रून्न)। म आँशु खसाल्दै हास्न खोज्दै उनलाई भने,‘खै, कहाँ रूनू? पापा रोएको छैन छोरी, म रून्न, तिमी रूनू।
मैले आँशु पुछे र छोरीलाई अंकमाल गर्दै भने,‘आज तिमी रूनु मज्जाले रूनु छोरी.... अबदेखि पापा कहिले रुन्न...।