समय एकै, ठाउँ एकै, माग एकै तर, आन्दोलन दुई। ‘नागरिक समाज’ र ‘सोलिडारिटी फर गोविन्द केसी’ को आव्हानमा हुँदै गरेको पहिलो आन्दोलन माइतीघरहुँदै बानेश्वरतिर बढ्दै थियो। आन्दोलनकारीको हातमा नारा लेखेको पर्चा थियो अझ केहीको हातमा बेलुन र थोरैको हातमा नेपालको झन्डा थियो।
आन्दोलन बिजुली बजारको बाग्मती पुल पुग्दैगर्दा बाटो एकै लेनमा मिसिने साँघुरो ठाउँमा केही मान्छे मानव साङ्लो बनाउँदै छेवैको लेनको गाडीलाई आवत जावतमा कुनै समस्या न आवस भन्ने कुरामा सतर्क थिए।
एकै क्षणमा आन्दोलन बानेश्वरको एभरेष्ट होटल छेवैको लेनमा निशेधित क्षेत्र अघि पुगेर कोणसभामा रूपान्तरित भयो।
नागरिक समाजको अगुवा कृष्ण पहाडी बोल्दै थिए- एकछिन अघिसम्म गाडीको आवतजावत हुँदै गरेको सडक एक्कासी सुनसान भयो। मान्छेको नजर अनी मिडियाका क्यामारा त्यतै सोझिदै थिए। सोचेँ सायद गम्भीर सडक दुर्घटना भयो होला। अलिक पर गएर हेर्दा देखियो त्यता त अर्को आन्दोलन पो हुँदै रहेछ।
चार तारा र मशाल अन्कित झन्डा बोकेका २-३ सय मान्छे निकै जोशमा नारा लगाउँदै अघि बढ्दै थिए। त्यो हुल निशेधित क्षेत्र अघि पुगेर रोकिएन।
निशेधित क्षेत्र तोडेर अघि बढ्न खोज्दै गर्दा धकेला धकेल हुँदै तनाबको स्थिति बन्दै थियो। एकै क्षणमा माहोल फेरियो। हावामा पहिला पुलिसको डन्डा नाच्योकी आन्दोलनकारीको ढुङ्गा खुट्ट्याउनै सकीनँ। केवल निमेश भरमै यी दृश्य जो देखेँ। एकै क्षणमा ढुङ्गा बर्सिए। सँगै बर्शिए लाठी र अश्रु ग्यास।
साच्चै माहोल बदलिन एक पल, एक निमेश नै काफी हुने रहेछ।
सायद ढुङ्गा भन्दा लाठी र अश्रु ग्यास बलिया हुन्छ्न् र त ढुङ्गावालालाई लाठी र अश्रुग्यास वालाले लखेट्दै थिए। बाटो छेउका एक दुई घरका सिसा फुटे। केहीका टाउका फुटे। ८-१० राउन्ड अश्रु ग्यास पड्किए।
हुल तितरबितर भयो। एक छिनअघि रणभूमी झै देखिएको सडक अहिले सुनसान भयो। बाँकी थियो त केही पल अघिका साक्षी ढुङ्गा, अश्रु ग्यासका खोका र वल्लो छेउमा कोणसभा गरिरहेका आम नागरिक।
पल्लो छेउमा बितन्ड मच्चिँदै गर्दा त्यस्को तरङ्गले हो या डरले धेरै ओल्लो छेउमा बसेका यता उता भाग्न खोज्दै थिए।
धन्न सबै सम्यमित भएर बसे र त्यो तरङ्ग त्यही बिलुप्त भयो। ढुङ्गाभन्दा लाठी र अश्रु ग्यास बलिया हुँदा रहेछन्, अनी त्यो भन्दा पनि बलिया हुँदा रहेछन् आस्था र नैतिकता बोकेका जिम्बेवार नागरीक, बल्ल भेउ पाउँदै थिएँ।
एकै क्षण, एकै ठाउँ र एकै मुद्दामा दुई आन्दोलन भए। एकातिर आम नागरीकको ऐक्यबद्धता अर्कोतिर राजनीतिको जलप लेपिएको आन्दोलन। पल्लो क्षेउको आन्दोलनमा बाटो छेउका एक दुई घरका सिसा फुटे। केहीका टाउका फुटे। ८-१० राउन्ड अश्रुग्यास पड्कीए भिड तितरबितर भयो।
आन्दोलनको अवषेश ढुङ्गा र अश्रुग्यासका खोका बाटोमा बाँकी रहे। सवारी आवत जावत रोकियो। तातो फलामलाई पानीमा डुबाएझै एक क्षण झ्यास्स गर्यो, सेलायो।
वल्लो छेउको आन्दोलन पल्लो छेउको आन्दोलनको प्रभावले एकै क्षण खल्बलियो। पल्लो छेउको फलाम सेलाउनासाथ आफ्नै गतिमा बढ्यो। वल्लो छेउमा न धकेला धकेल भो, न ढुङ्गा, लाठी चार्ज र अश्रु ग्यास नै पड्कियो। न कसैका टाउका फुटे, न त कुनै घर गाडीका सिसा नै फुटे।
अगुवाहरूले आफ्ना कुरा राखे, केहीले आन्दोलनको भाव पोखिएको आफ्नो गीत, कविता सुनाए। बहस भयो, सकियो। अन्त्यमा आन्दोलनका क्रममा बाटोमा रहेका फोहोर पनि उठाए।
देखेको कुरा लेकेको। कुन गलत कुन सही आफैं खुट्ट्याउनुहोस्।
अराजक तरिकाले आन्दोलन गर्ने की सकारात्मक श्रीजनशील तरिकाले गर्ने? समग्रमा वल्लो छेउमा बस्ने वा पल्लो छेउमा बस्ने, निर्णय तपाईँको हातमा।