भाषा भन्नुको अर्थ आफ्नो मनको भाव या विचार अरू छेउ प्रकट गर्न बोलिने सार्थक शब्द वा वाक्यको समूह हो भनेर व्याकरणले बुझाउँछ।
तर, यही भाषामाथि यतिबेला न्यायीक भनाउँदा उच्च व्यक्तिहरूबाटै असाध्यै अपमान भो, असह्य पीडा भो। यो पीडा अझ बढी भन्नुपर्दा म जस्ती छोरीलाई झनै धेरै भो।
सबैभन्दा पहिले सम्माननीय श्रीमान सुशीला कार्कीज्यूको अभिव्यक्तिबाट शुरू गरौं। ‘८–१० कक्षा पनि नपढेकासँग के भनौं र खोई?’ सोझै सजिलै भन्न सकिन्छ यो अभिव्यक्ति प्रधानमन्त्री के.पी. ओलीप्रति लक्षित छ। सत्याग्रही डा. गोविन्द के.सीलाई समर्थन गर्ने बहानामा जसरी सरकार प्रमुखको शिक्षाको विषय लक्षित गरेर बोल्नुभयो नि त्यो निकै खेदपूर्ण छ। तपाईँ शिक्षाको उन्नत विधिहरू मार्फत शिक्षित भइरहँदा आज तपाईँले खुल्लम् खुल्ला मैदानबाट सरकारलाई लल्कार्न सक्ने त्यो हैसियत बनाइदिनका लागि नै आफ्नो किशोर शैसव उर्जाशिल उमेरलाई तानाशाही क्रुरतासँग जुझ्दै डेढ दशक जेल जीवन र मृत्युका अनेकौं छायाँहरूसँग जुझ्दै यो सार्वभौमसत्ता, स्वाधीनता, प्रजातन्त्र र लोकतन्त्रका लागि लड्नेहरू को थिए?
सम्झनुस् एकपटक। न्याय नपाए सुशीला खोज्नु भन्ने तर्क एकताका निकै बलियो गरि स्थापित भएको थियो। न्यायपालिकाभित्रैको भ्रष्टाचार, अवैध चलखेलका विरूद्ध तपाईँको शशक्त आवाजमा निर्विध्न न्याय मिसेपछि र त्यसलाई हामी जस्तै ईमानमा रमाउनेहरूले असाध्यै समर्थन गरेपछि त्यसले हासील गरेको न्यायको बाज हुनुहुन्थ्यो तपाईँ।
कुनै अयोग्य र अक्षम्य चाकडी, चाप्लुसीले हाशिल गर्नुभएको थिएन तपाईँले त्यो उचाई। आफ्नो अध्ययन, अथक र निरन्तर न्यायप्रतिको झुकाव, लगावको परिणाम तपाईँ श्रीमान भन्दा माथि सबैकी आदरणीय न्यायमूर्ति आमा हुनुभएको थियो त्यतिबेला।
तत्कालीन सरकारले तपाईँ जस्तो न्यायमूर्तिलाई महाअभियोग लगाएर गलहत्याउने निर्मम् प्रयत्न भइरहँदा तपाईँलाई जोगाउने को थिए सम्झनुस् फेरि एकपटक। छोरी हुनुको मतलबले छाति चुलिएर सगरमाथा बनेको थियो हाम्रो पनि। त्यो एकताकालाई सम्झनुस् श्रीमान्, देश कसरी जुरूक्क थियो र तपाईँ कसरी मुसुक्क हुनुहुन्थ्यो।
देशले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा एकैपटक महिलाको उच्च स्थानमा प्रवेश गरेको थियो। आज समय अलिकति सेतो तुवाँलो लागेर चिसो बन्ने तरखर भइरहेकै बेला जसरी कालो बादल बन्दै तपाईँ घोप्टिन पुग्नुभयो नि, त्यो कालो समयमा तपाईँ सामु नै प्रस्ताव गरूँ लाग्यो कि व्यक्तिको व्यक्तित्व मापन उसले हासील गरेको शैक्षिक प्रमाणपत्रले मात्रै सिद्ध गर्ने भए तपाईँको उच्च शिक्षा हाशिल गर्नुभएको शैक्षिक प्रमाणपत्र सबै खारेज गरौं श्रीमान्।
त्यत्रो उच्च शिक्षा, न्यायलयको उच्च ओहोदामा पुगीसक्नुभएका तपाईँजस्तो न्यायमूर्तिबाटै यस्तो विदु्रप भाषाको अपेक्षा गरेका थिएनौं हामीले। अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्वक भेला हुन पाउने सार्वभौम अधिकारको विषयमा त म जाबोले के भनौं र? तपाईँ जस्तो धेरै नपढेकोले यो केटी सरकारको बचाउ गरेर बोली भन्नुहुँदै राजनैतिक तोडमोड भाषाशैलीमा भन्नुहोला तर तपाईँ जस्तो ठूला मान्छेहरूले देशभित्रको न्याय, मर्यादा त बचाउन नसकी पेलाइमा परेकी यो छोरीले कहाँ सरकारको बचाउ गर्नसक्छे र श्रीमान्?
कानूनमन्त्री शेरबहादुर तामाङ्गज्यूले बडो शानका साथ खोइ के सम्मान कार्यक्रममा हो, ब्यानरको अलिकति छेउ मात्रै देखियो तर तपाईँको स्वरूप भने पूरै देखिएको थियो। त्यो सम्मान नामको कार्यक्रमकै अपमान भयो, के बोल्नुभयो नि त्यस्तो। तपाईँ त शोषित, पीडित, दमित समुदायकै लागि आफ्ना अहिलेसम्मका चेत समयको योगदान गर्दै आउनुभएको मान्छे पो हो त। लैङ्गिक समताको पक्षमा मुठ्ठी उठाउने योद्धा पो हो त।
तर, हेर्नुस् त समयको उठानबैठान कहाँ सँधै सलल बग्दोरहेछ त, आफ्नै अभिव्यक्ति स्वतन्त्रताले यस्तोविध्न पोलिनुपथ्र्यो र तपाईँ आफैलाई? तर तपाइलाई पोल्यो कि पोलेन? तपाईँ त माननीय मन्त्रीज्यू मात्रै होइन नि यो पितृसत्ताले भु्रणदेखि नै मालिक अर्थात् हामी छोरीहरू माथि सत्ता चलाउन जन्मिएको एउटा शक्तिशाली पुरुष पनि त हो नि। यो आरोप होइन माननीयज्यू, समाज, संस्कारले दिएको नामलाई सम्बोधित गरिएको हो। त्यही नामहरूबाट हेलिएर थुनिएका हामी छोरीहरू अहिले पनि स्वतन्त्र छौं तर आँखिझ्यालमै सीमित छौं।
हप्तादिन अघि सोसियल मिडियामा दुर्गा प्रसाइजीले बोल्नुभएको केही भिडियोहरू वालछ्याल पोखियो। उनले बोलिरहँदा कम से कम डा. गोविन्द के.सी. को नाममा कथित समर्थकहरूको हुललाई चिरेर बोल्न हिम्मत गरिरहेका यी पात्रप्रति ध्यान आकर्षण भएको थियो तर उनको व्यवसायिक हित र नीजि लगानीको कुरामा मेरो आइनो न साइनो। देशको चिकित्सा शिक्षा एउटा प्रणाली हो र चिकित्सा व्यवसाय त्यही प्रणालीभित्र रहेर गरिने सेवा व्यापारको विषय हो।
यति महत्वपूर्ण विषयका सन्दर्भमा केही वर्षयता हुन थालेको सार्वजनिक बहसप्रति एउटा घतलाग्दो सचेतनाले हामी सबैलाई छोएकै छ र हेरिन्छ, पढिन्छ, सूचनाहरू सकेसम्म लिईन्छ नै। त्यसैले सूचनाको सशक्त माध्यमहरू विद्युतको वेगभन्दा तिब्र भइरहेको क्षणमा जिम्मेवार व्यक्तिहरूबाट प्रवाहित भावनाहरू जिम्मेवारी बोध सहितको हुनुपर्छ कि पर्दैन भन्ने प्रश्न हो मेरो।
अवश्य पनि डा. गोविन्द के.सी. को अनसनका विषयले प्रसाईजीलाई छोएको होला तर उनले हाम्रा छोरीचेलीहरूको निजी अस्मिताको धज्जी उडाउने गरि बोल्नुपथ्र्यो? छोरीहरू भनेको केवल यौनदासता पूर्ति गर्ने यन्त्र हो? यस्तो दुरासयपूर्ण भाषा अभिव्यक्तिलाई न्याय र कानून प्रशासनको संरक्षण र पालना गर्ने अनि गर्न लगाउने कानून, न्याय तथा संसदीय मामिला जस्तो महत्वपूर्ण विभागीय मन्त्रीज्यूले सापटी लिएर बोल्नु न्यायोचित थियो?
बंगलादेशमा अध्ययन गरिरहेका सयौं चेलीहरूको माथ मथिङ्गलमा के भयो होला? अध्ययन गरेर रोजीरोटी गरिरहेका चिकित्सक चेलीहरूको मनोदशा कस्तो भयो होला? जेनतेन गरेर दुइआना, चारआना जग्गाको चक्ला बेचेर अनि आमाको बिहेदेखिको गरगहना बेचेर, बाबुको सञ्चयकोष र अफिसका सारा सुविधा सापटी गरेर चिकित्साविज्ञान पढाउन पठाएका आमा र बाबुको हृदय कस्तो भयो होला? छिमेकी मित्रराष्ट्रको रूपमा बंगलादेशी नागरिकहरूले के कस्तो सोच्न भ्याए होलान्?
अझ यसप्रकारको अभिव्यक्तिले त मानौं, उनिहरुका अध्ययनका लागि कुनै लगानी छैन, विना अध्ययन, विना परिश्रम र दक्षता कलेज सञ्चालकहरुसँग केवल शरीर सुम्पन सक्नु नै चिकित्साशास्त्र अध्ययनका लागि इलिजिबीलीटी मान्यता हो।
डा. गोविन्द के.सी. जुम्लाबाट काठमाडौ आउनुभयो वा ल्याउनुभयो, त्यो सरोकारवालाहरूले जानुन्। तर जे भए पनि आउनुभयो। आउनुहुने बित्तिकै वहाँको अभिव्यक्ति भिडियो सहित सुन्न पाईएको थियो – ‘मान्छे मारेर, टाउको काटेर आएको मान्छे हो, अपराधी हो त्यो, डन हो डन के.पि. ओली।’ अहो ! सन्त सत्याग्रहीको भाषा यस्तै हुन्छ? भाषाको शिष्टता र बीसौं दिनसम्म अनसनमा सुतिरहेको मानिसको त्यति रूखो र चर्को बोलि अहिले पनि सोसल मिडियाहरूमा हामी सुन्न र हेर्न सक्छौं।
अन्तमा, यो कथित शान्तिपूर्ण सत्याग्रहको नाममा भाषाको यति धेरै अभद्र प्रस्तुति र मर्यादाको स्खलन भएको देखियो। अस्पतालभित्रै हुलहुज्जत र दङ्गा पनि भएको देखियो। बिरामी छटपटाउने, आफन्तहरू रुने, कराउने, चिकित्सकहरू ताली पड्काएर टेबलमाथि रमाउने गरिरहेको पनि देखियो।
गरिबका लागि स्वास्थ्यमा पहुँच हुनुपर्छ भन्ने साझा नारा सबै नेपालीको हो र विगतदेखि नै हरेक सरकारले यो विषयलाई योजना र कार्यान्वयनमा लगिरहेको पनि देखिएकै हो, तर यही नारामा एकजना सत्याग्रहीलाई देवता मानि सडकमा अभद्र राजनीति पोखिएको पनि देखियो। यो अभद्रता र अराजकता देख्नै नपर्ने समय चाहीँ कहिले आउँछ सरकार? मेडिकल कलेज खोल्नुपर्ने, नपर्ने भन्ने विषयमा त उनै सत्याग्रहीको जो हुकुम ! नत्र फेरि अर्को अराजकताको चरणमा म पनि ‘माफिया काउन्टर’ मा पर्छु होला सरकार !