प्रिय मित्र मोहन,
हामीले एक वर्षसम्म एउटै भान्सामा खायौं, एउटै कोठामा रात बितायौं र तीस वर्षसम्म अनवरत एउटै पेशा र संगठनमा वितायौं। हामी सँधै नै अनन्य मित्र थियौं र अनन्तसम्म यो मित्रता कायम रहिनै रहनेछ। तर, आजसम्म हामीले एकापसमा पत्राचार गरिएन र गर्नुपर्ने आवश्यकता पनि परेनछ। आज यो पत्र तिमीलाई सम्बोधन गरेर लेख्दैछु तापनि यो तिमीलाई मात्र होईन, तिमी, म र हामी जस्तै थुप्रै पूर्व प्रहरी मित्रहरुको लागि पनि हो र उनीहरुको लागि पनि हो जो असीमित भेदभावको शिकार हुँदाहुँदै पनि आफ्नो कर्त्तव्यपथमा विना कुनै गुनासो अघि बढिरहेकै छन्।
तिमीलाई नै सम्बोधन गर्नुपर्ने कारण चाहिं के भने तिमीले नै मलाई यो पत्र लेख्न अभिप्रेरित गरेका छौ। त्यो कसरी भने हामी सेवा निवृत्त हुनु केही समय पहिला तिम्रो फेसबुक वालमा तिम्रो दुखेसो देखेँ, त्यही नै मलाई यो पत्र लेख्ने अभिप्रेरणा बन्यो।
साथी, तिमीले लेखेछौ- ‘बढुवामा भेदभावको शिकार भइयो, अवसरबाट बन्चित गरियो, सरूवाको मुलाहिजामा परियो, यो पाउनुपर्ने पाइएन, त्यो नगराउनुपर्ने गराईयो आदि ईत्यादि।’
हामीमाथि भेदभाव भयो भनेर दुखेसो पोख्नुभन्दा पहिले हामीले आत्म मूल्याङ्कन गर्न जरूरी छ जस्तो मलाई लाग्छ। यो आत्म मुल्याङ्कन भनेको हाम्रा सबल पक्ष, दुर्बल पक्ष, हामीले पाएका अवसरहरु र हामीले भोगेका चुनौतीहरू सबै नै एकै थलोमा राखेर केलाएपछि मात्र हामीले दुखेसो पोख्ने कि खुशी मनाउने भनी निर्क्योल गर्नु उपर्युक्त हुन्छ होला।
आजकालका व्यबस्थापकहरुले स्वोट एनालाईसिस (SWOT Analysis) भन्छन् नी, त्यही क्या!
हेर साथी! हामीले हाम्रा आफ्नै सबल पक्षको व्याख्या गर्यौ भने आत्मरतिमा रमायो भन्लान्। त्यसैले यो पक्षको विश्लेषण गर्न अरुलाई नै छाडिदिऊँ। अब हामी हाम्रा कमजोरीहरू केलाउन लागौं त, के कति र कस्ता छन् भनेर।
मैले देखेका र महशुस गरेका हाम्रा कमजोरीहरु निम्नानुसारको गन्तिमा रहेछन्, केही छुटेका भए तिमीले पनि थप्नु ल!
कमजोरी नं १ – तिमी हामी राज्य र संगठनको निर्णायक तहमा रहेकाहरूको ज्वाँई, छोरा, भाई भतिज वा यस्तै नजिकका आफन्त परिएन, थिएनौं।
कमजोरी नं २ – तिमी हामीले राज्य र संगठनको निर्णायक तहमा रहेकाहरूको व्यक्तिगत ईच्छा आकाङ्क्षा र आवश्यक्ताहरुको ख्याल गरेनौं।
कमजोरी नं ३ – तिमी हामीले हाकिमहरुले के ज्यूनार गरिबक्सन्छ, के सेवन गरिबक्सन्छ ? कहिले हेक्का राखेनौं।
कमजोरी नं ४ – तिमी हामीले एक्काको घोडा जस्तो कानून र जनतालाई शिरमा राखेर एकोहोरो अगाडि बढ्यौं तर हाकिम र माथिको चाहना के छ ? बुझ्ने प्रयत्न गरेनौं।
कमजोरी नं ५ – हामीले आफ्नो अनुकुलको वातावरण नहेरी राज्यले जुन बेला जुन ठाउँमा र जस्तो अबस्थामा खटायो, तत्कालै त्यही अबस्थामा त्यही ठाउँमा लुरुलुरु गईयो, खटिईयो। रोजी र छाडी गरिएन, गर्न पाईएन। काठमाडौं, विरगंज, भैरहवा वा पोखरामा मात्र वसेको भए पो दुनियाँदारी चिन्थ्यौं, बुझ्थ्यौं, ठूला बडासँग चिनजान हिमचिम हुन्थ्यो र पो उन्नति प्रगति हुन्थ्यो। हामी किन हिमाल, पहाड र तराई गर्दै कहिले कर्णालीका विकट पहाड वा सुदूर पश्चिमको विकटतालाई आत्मसात् गर्न पुग्यौं त कहिले सुदूर तराईका उखरमाउलो गर्मी खेप्दै भौगोलिक विकटता, प्रतिकुल वातावरण र चरम अभावका बिचमा पनि रमायौं?
कमजोरी नं ६ – हामी यो र त्यो राजनीतिक दलका कार्यकर्ता भइएन र यो र त्यो दललाई आर्थिक वा राजनीतिक फाईदा हुने गरी सहयोग गरिएन।
कमजोरी नं ७ – राजनीतिक निर्वाचनमा जस्तो संगठन प्रमुखको नियूक्तिको लबिङमा लागिएन।
कमजोरी नं ८ – हामीले पेशागत कर्त्तव्य निर्वाहलाई प्रचार प्रसार गरी बजारीकरण गर्न चाहेनौं, जानेनौं र गरिएन।
आ!! यी र यस्तै यस्तै कति छन् कति छन् हाम्रा कमिकमजोरीहरू? आफ्नै कमजोरीहरू कति धेरै केलाउनू? अब फेरि हामीले सामना गरेका चुनौतीहरुको कुरा आफैंले के गर्नू? यो काम पनि अरुलाई नै सुम्पीदिऊँ। बाँकि कुरो रह्यो हामीले पाएका अवसरहरुको।
हेर साथी! तिमी हामी बझाङको वा ओखलढुङ्गाको पखेरामा सामान्य परिवारमा हुर्की बढी नेपालकै न्यूनतम् सुविधाको शिक्षा आर्जन गरेका सामान्य नागरिक हौं। हामी सेवा प्रवेश गर्दादेखि अन्त्यसम्मकै अवस्थामा पुग्दा पनि हामीसँग नेपाली परम्परा अनुसारको ‘टेक्ने लौरो, समात्ने हाँगो’ थिएन। त्यसका अलावा मैले माथि उल्लेख गरेका झण्डै एक दर्जन कमीकमजोरीका बाबजूद हामीले कति धेरै अवसर पाएका रहेछौं? हेर त! हामीले पाएका तलका हरफहरूमा उल्लेखित अवसरहरू सम्झेर पनि हामी सन्तुष्ट हुनैपर्छ, खुशी हुनै पर्छ।
अवसर नं १ – नेपाल प्रहरीको प्रहरी निरीक्षक दर्जाको जागिर पाईयो।
अवसर नं २ – ढिलै सही, साथीहरु भन्दा पछाडि पारेर नै सही तर संगठनले तिमी हामीलाई नेपाल सरकारको प्रथम श्रेणीको अधिकृत त बनायो नै, अमुक अधिकारीको रुपमा रहेको व्यक्तिले रोकेर रोक्न सकेन त! तिमी हामीले आर्जन गरेको अंकले हामी पछाडि परेका होईनौं। हामी पछाडि त कसैको खल्तिबाट झरेको अंकले हो। अब कसैको खल्तिको चिज तिमी हामीले पाएनौं भनेर चित्त दुखाउनुको कुनै तुक छ र?
अवसर नं ३ – सुबिधा भोगीहरू काठमाडौं खाल्डो वा विरगंज वा भैरहवामा नै सीमित भए, तिमी हामीले त आफ्नो मातृभूमिको पुरै दर्शन गर्न पाईयो (मैले ७७ जिल्ला मध्ये ७३ जिल्लाको भ्रमण गर्ने अवसर पाएछु, तिमीले नि?)।
अवसर नं ४ – तिमी हामीले रोजीरोटीको लागि पनि जागिर खाएका थियौं। ३० वर्षसम्म यो संगठनले तिमी हामी र तिमी हाम्रा परिवारलाई भरणपोषण गरेकै थियो र निवृत्त जीवनमा पनि भरणपोषण गर्ने वाचा गरेकै छ। त्यसैले मित्र! संगठनसँग चित्त नदुखाउ, राज्यले जिम्मेवार बनाएका तर आफूलाई जिम्दार (जिम्मुवाल) ठान्ने छुसीहरूसँग चित्त दुखाउनु भनेको कसाईको अगाडि राँगो रूनु जस्तै हो।
अवसर नं ५ – व्यक्तिले गर्ने भेदभावको कुरा बाहेक संगठनबाट हामीलाई भेदभाव कहिल्यै भएन। नेपालका पदाधिकारीको वश चल्थ्यो भने तिमी हामीले विदेशको मुख देख्न पाउदैन थियौं। संगठन र सिष्टमले पनि कहिँ न कहिँ काम गरेकै छ। त्यसै भएर हामीले पनि देश विदेश देख्न पाईयो, घुम्न पाईयो।
हेर साथी! यही पेशा यही जागिरले हामीलाई यी र यस्तै कति कति अवसर दियो, गनि साध्य छैन। त्यसैले चित्त नदुखाउ साथी, हामी पनि यो मुलुकका थोरै भाग्यमानी जनता मध्येका हौं। हामीले आफ्नो विगत ३० वर्षको जीवन अवधि र नेपाल प्रहरीप्रति गर्व गर्नैपर्छ।
यो संगठनको जमिनदारी वा जिम्मुवाल ठान्नेहरु क-कसले कुन कुन वेला के-के गरे भनेर नसम्झिउँ, चित्त नदुखाऊँ।
साथी मोहन! हामीले सेवा निवृत्ति भएसँगै अलिक बढी स्वतन्त्रता पनि प्राप्त गरेका छौ। यो स्वतन्त्रताले हामीलाई अवकाससँगै ऊर्जा पनि प्रदान गरेको छ। तिमीहामीलाई अबका दिनमा पनि कसैले राजनीतिक नियूक्ति दिनेवाला छैन, किनभने तिमी हामी कसैको कार्यकर्ता पनि होइनौं, चन्दा दाता पनि होईनौं।
कुनै साहु महाजनले बडे नामधारी पदसँगै हाम्रो जागिरको तलबको तुलना गर्दै मोटो रकम सहितको अफरमा वास्तविक रुपमा दरवान वा चौकीदार बनाउन प्रयत्न गर्ला, मेरो साथी!
तिमी यस्ताबाट सचेत रहनू, किनकि त्यो साहुको मुखण्डो उघारिँदा अर्को मोहन अग्रवाल वा के पोद्दारको अनुहार देखा पर्ला। बरू साथी! यो अवकाश सँगैको ऊर्जालाई कुनै सिर्जनशिल काममा लगाउँ, कुनै उत्पादनशिल काममा लगाउँ। राज्यले मागेका बखत पछाडि नहटौं।
बाँकि जिवन सृजनशिल, उत्पादनशिल र सु-स्वस्थ रहोस् भन्ने कामनाका साथ विदा चाहन्छु।
तिम्रो हित चाहने
उही पूर्व प्रहरी मित्र उत्तम