राजधानी छिर्ने, अध्ययन अघि बढाउने, जागिर खाने र भविष्य सुनौलो बनाउने। यो सुन्दर सपना मोफसलबा काठमाडौं छिर्ने युवा कसले पो देख्दैन होला र? सानो–तिनो काम गर्दै पढाइ खर्च टारौंला भन्ने धेरै मध्यम वर्गिय युवाको इच्छा हुन्छ। रोहित, जो पूर्वी पहाडबाट यस्तै मिठा–मिठा सपना बुनेर राजधानी छिर्यो।
ऊ महत्वकांक्षी केटा पक्कै होइन्, किनकी उसले असम्भव लाग्ने सपना मनमा पालेर हिँडेको छैन। केवल उसलाई सामान्य जीवनयापन गर्न सहज वातावरण बनाउने धोको छ।
उसले मलाई प्रत्येक भेटमा सुनाउँछ्, ‘यार, बाउले कमाएकोले छोरालाई नपुग्ने! समान्य जीवन ज्यूँन आधार तयार गरौं भनेर आइयो दुःख पाइएला जस्तो छ।’
‘अभाव र दवाव’सँग जुध्न नडराउने उसको जीवन त्यती टिठलाग्दो पनि छैन। स्नातक अध्ययन गरिरहेको छ, एक निजी कम्पनीमा राम्रै तनखा पाउने गरी काम पनि गरिरहेको छ।
तपाईँलाई थाह छ, उसको मनको दुःख भनेको के हो? थाहा पाउनुभयो भने तपाईँले पक्कै अचम्म मान्नुहुने छैन। किनकि, त्यो दुःख तपाईँले झलिरहनुभएको छ वा कुनै न कुनै बेला पक्कै झेल्नुभयो होला।
मोफसलबाट आएर डेरा गरेर बस्नेका सबैभन्दा ठूला दुःख घरबेटी हुन्। कारण जे सुकै होस्, घरबेटीले डेरावाललाई गर्ने व्यवहार कतिपय अवस्थामा दोस्रो दर्जाको हुन्छ। यसको मतलब सबै घरवेटीलाई एउटै ‘बास्केट’मा राखेर हेरिनुपर्छ भन्ने होइन। तर, अधिकतर घरबेटीले गर्ने व्यवहार नै डेरावालको सबैभन्दा ठूलो दुःख हो।
भाडा समयमै तिर्नुहोस्, टाइममा कोठा (गेटमा ताल्चा लाग्नुभन्दा अगावै) पुग्नुस्, पानीको फजुल खर्च नगर्नुस्, आदि इत्यादिका घरेबेटीका नियममा चल्नुस्, तै पनि तपाईँले सुख पाउनुहुन्न कुनै न कुनै निहुँ निक्लिहाल्छ। यस्तै समस्या रोहितले पनि भोगिरहेको छ ।
केही दिनअघि उसले फोन गरेर भेट्न आग्रह गर्यो। मैले उसलाई अर्को दिन भेट्छु भनेँ। उसले मानेन जसरी पनि भेट्न भन्यो । मैले उसलाई केही समस्या भए भन्न भनेँ। तर उसले भेटमै सबैकुरा भन्छु भन्यो। मलाई लाग्यो की धेरै दिन नभेटेकाले भेटन् खोज्यो होला। हामीबीच उसले साँझ पख चिया गफ गर्ने सल्लाह भयो।
म आफिसमा काम सकाएर अनामनगर तिर हिँडे। साधन नभएकाले भनौं या उकाली–ओराली गरेको बानी नगएर भनौं, काठमाडौं प्रायः आफ्ना खुट्टा नै चलाउने गर्छु।
एक ताका प्रायः हिँउदको समयमा बानेश्वर–लोकन्थली पैदलै यात्रा गरिन्थ्यो। त्यो बेला पैदल यात्रा गर्ने साथी थिए, सुदीप । उनीसँग अफिसबारेका छलफल, राजनीतिक विषय, घरबेटीसँग पर्ने डिस्कस आदि, इत्यादी कुरा गर्दागर्दै लोकन्थली पुगेको पत्तै हुँदैन थियो। रोहितलाई भेट्न म बानेश्वरबाट पैदलै अनामनगर पुगेँ। एक चिया पसलमा उसको र मेरो अड्डा जम्यो।
मैले भनेँ, ‘के भयो, किन आजै नभेटी भएन?’ जब मेरो यो प्रश्नको जवाफ दियो म थोरै अचम्ममा परेँ। उसले घरबेटी समस्याका बारेमा बेलिविस्तार लगायो, म आफैं पनि घरबेटी पीडित व्यक्ति, करिब तीन वर्षको अन्तरालमा चार पटक डेरा सरेको र पाँचौ पटक सर्ने तयारीमा लागेको मान्छे, सामान्य नै लाग्नुपर्ने हो। तर उसको कुरा भने अली फरक थियो ।
भएछ, के भने उसले घरबेटीसँग प्रत्येक महिनाको १० गते भाडा तिर्ने बचन दिएको रैछ। यद्यपी कुनै बेला १० गतेभन्दा १/२ दिन ढिला हुनसक्ने जानकारी समेत उसले घरबेटीलाई गराएको रहेछ। सोही अनुसार रोहित बम थरका घरबेटीकहाँ बस्दै आएको रहेछ। घरबेटीसँग सुरुको दुई महिना सुमधुर सम्बन्ध राखेको रोहितका दुःख तेस्रो महिनाबाट सुरु भएछन्।
तेस्रो महिनाको भाडा तिरेको केही दिनपछि उसको फ्लाटमा पानी सकिएको रहेछ । घरबेटीसँग स–सानाकुरामा उसले कहिलै केही भन्ने नगरेको उसले सुनायो। त्यो दिन पनि पानी आइहाल्छ, भनेर उसले घरबेटीलाई केही भनेन। तर, जब दोस्रो दिन पनि पानी आएन, उसले घरबेटीलाई फोन गर्यो। घरबेटीले न फोन रिसिभ गरेनन्। एसमएस गर्न बाध्य भयो। त्यती गर्दा पनि पानी नआएपछि घरेबेटीकहाँ पुग्यो, त्यो बेला उसलाई घरबेटीले आरोप लगायो, ‘तपाईले ट्ंयाकीबाट पानी झिकेर चलाउनु भयो।’
गाँउबाट आएकाहरुलाई खासमा पानीको मतलब हुँदैन। तर, यही खाल्डोमा बस्न थालेपछि मानिसले पानीको महत्व बुझ्छ। रोहितले पानी नहुँदा घरबेटीलाई भन्ने हो, पानी झिकेर चलाउने होइन। घरबेटीको आरोप सुनेर छक्क परेको रोहितले प्रतिवाद गर्यो। किनकी उसले त्यस्तो गरेकै थिएन। सामान्य डिस्कस सम्झेर उसले नकारात्मक धारणा बनाएन।
त्यहीदेखि घरबेटीसँग उसको सम्बन्ध चिसिएको रहेछ। १० गते बिहानै घरबेटी रोहितसँग भाडा माग्न आएछ, रोहितले तलब आउन ढिला भएकाले १/२ दिनमा दिने जवाफ फर्काउँदा घरबेटीले दिएको जवाफ अलि फरक थियो।
घरबेटीले रोहितलाई भनेछन्, ‘तलब आयो आएन मैले कसरी थाहा पाउनु, बैंक हिँड्नुस् स्टेटमेन्ट हेरौं।’
घरबेटीले भाडा माग्दा किचकिच गर्छन् भन्ने थाहा पाएको म बैंक स्टेटमेन्ट समेत हेरौं भन्छन् भन्दा अचम्ममा परेँ। यसै पनि अग्रिम भाडा तिर्ने डेरावालको बैंक स्टेटमेन्ट जाँच गर्न खोज्ने घरबेटीलाई के भन्ने? यही कुराले रोहितलाई घोचेछ। उसले मलाई भाडा तिर्न अपुग पैसा माग्यो। मैले आफूले सकेको सहयोग गरिदिएँ।
घरबहाल कर तिर्न भनेपछि ‘कुकरले पुच्छर लुकाए झैं’लुक्ने घरबेटीको अग्रिम भाडा र डिपोजिट माग्न तम्सिने प्रचलन छ। डेरा गरेर बस्ने कि त बुवाआमाको भरमा पर्ने हुन्छन्, कि महिना मरेपछि तलब आउला र घरबेटीलाई तरौंला भन्ने हुन्छन्।
सामान्य विषय समेत नबुझिदिने घरबेटी देख्दा मानवता नै छैन की भन्ने लाग्छ। कहिले काहिँ साथी भाइ र आफन्त आउँदा घरबेटीले प्रहार गर्ने शव्दवाण सुन्दा फुत्तै डेरा सरौं झैं लाग्छ। एक ठाँउबाट अर्को ठाँउमा सर्दा लाग्छ, घरबेटीसँग कुरा गर्छु, बरु सम्झौता गर्छु कम्तिमा २ वर्ष सर्दिनँ। तर, भनेजस्तो कहाँ हुन्छ र? केही महिना, वर्ष पुगेपछि डेरा खोज्ने चटारो सुरू भइहाल्छ।
डेरा पाउन कहाँ सजिलो छ र? दलाल लगाउनुपर्छ । दलालले एउटा फ्लाट खोजेको कम्तिमा पाँच हजार ठटाउँछ। नयाँ ठाँउमा सरेपछि घरबेटी यस्तै पर्यो भने?
अर्को प्रश्नले मनमा डेरा जमाउँछ। अनि सुस्ताउँदै सोचिन्छ, डेराबाट उम्किएर घर बनाउन सकिएला? डेरावाल डस्न पल्केका घरबेटीले अनिवार्यरुपमा बहाल कर बुझाएको देख्न पाइएला?
डेरावाललाई किचकिच गर्ने घरबेटीको बहाल कर तिर्ने दायित्व हैन र? के सबै घरबेटी उस्तै हुन्? अनि मनोवादका क्रममा अर्को मनले भन्छ, आफू पो उस्तो भइयो की?
तुरुन्तै अर्को मनले भनिहाल्छ, होइन, होइन तँ त्यस्तो छैनस्। किनकी मानिसले आफूलाई आफैंले कहिले नराम्रो सोच्दैन।
सँधै घरबेटीको लफडामा सँधै फसिरहँदा कहिलेकाहिँ नामै फेरौं की भन्ने झ्वाँक पनि नचल्ने कहाँ हो र? नयाँ नाम खोज्दै जाँदा उपयुक्त नाम जुर्छ पनि ‘लफडाराज !’ फेरि सम्झियो, वाइहात! अन्तमाः निकर्ष हुन्छ, ‘डेरा सर्दा सर्दै बुढो भइने भइयो यार।’