२०१७ को सुरुवातसँगै भारतीय लेखक पंकज मिश्रले एज अफ एंगर नामक पुस्तक बिमोचन गरे। अर्थात् आक्रोशको युग। पछिल्लो समय विश्व बहसमा निकै स्थान लिँदै आएको विषय हो यो।
विशेषत: पूर्वीय समाजमा यो आक्रोश बढ्दो छ। विश्व बहसमा चर्चा परिचर्चा हुने यस्ता समयकालीन विषयसँग नेपाल अछुतो रहन सक्दैन।
बहस मात्र हैन, सामान्य जनजीवन बिताउँदै गर्दा नेपाली समाजमा भंयकर रुपमा आक्रोश पैदा हुँदै गएको पाइन्छ। सेतो कागजको टोपी लागाएर बिरोध कार्यक्रम गर्नु, कपाल मुण्डन पारी कालो टालो बेरी आफ्नै शरीरमा सेतो अक्षरमा निसासिएको आवाजहरू लेख्नु, किसानले आफ्नो उत्पादन बीच सडकमा नष्ट गर्नु, नाङ्गो शरीर देखाइ बिरोध जनाउनु होस् या भित्री बस्त्र मात्र लागाएर माइतीघर मण्डला घेरिनु केही उदाहरण हुन्।
आँशु र पसिनासरी नुनिलो शब्दले राष्ट्र प्रमुखहरूलार्इ लेखिने खुल्ला पत्रहरू अखबार पढ्दा होस् या कविले नलेखेरै लेख्ने शब्दको ध्वनीहरूमा। सम्पादकीयमा कोरिने शिष्ट भाषामा होस् या समाजिक सञ्जालमा देखिने रुष्ट भाषामा जताततै आक्रोशै आक्रोश।
हुन पनि आजको डिजिटल मानव हरेक कार्य द्रूत गतिमा चाहन्छ। हाल नेपालको कुल परिवारको ६४% परिवारको सदस्य विदेशी भूमिमा, विभिन्न क्षेत्र, पेशामा कार्यरत छ्न्। त्यसैले पनि प्रविधिले विश्व बजारमा देखिएको विलासिता जीवनशैली, उपकरणसँग नेपाली नागरिक नजिकबाट जानकार रहन्छ। जो नेपालजस्तो विकास उन्मुख मुलकमा आजकै दिनमा प्राय असम्भव देखिन्छ।
हाम्रोजस्तो देशको मानिस आफूलार्इ सम्हाल्न सक्ने अवस्थामा पनि छैन। धैर्यता, सहनशीलता निरन्तरता आजको पुस्तामा खस्किँदो मानवीय गुण हो।
हाल म दक्षिण कोरियाको एक कम्पनीमा श्रमिकको रुपमा कार्यरत छु। मेरो काम गर्ने सहकर्मी दाइ उमेरले ४५ लाग्दा विगत २५ वर्षदेखि सोही कम्पनीमा आजको दिनसम्म सामान्य मजदुर रहेर काम गरिरहेका छ्न्। दैनिक १२ घन्टा, प्रत्येक हप्तापछि फेरबदल भइरहने दिन रातको काममा आज पनि उत्तिकै मिहिनेत साथ काम गरिएको देख्दा लगभग सबै हामी नेपाली उनको क्षमतासँग प्रश्न उठाउँछौं। हामी उनको निरन्तरता धैर्यताको खास प्रशंसा कसैले गर्दैनौं।
भर्खरै नयाँ कानुनले आफ्नो नागरिकको सुखको निम्ति प्रत्येक हप्ता ६८ घन्टाबाट घटाएर ५२ घन्टा काम गर्ने समय बनाएकोमा मेरो सहकर्मी दाइ रुष्ट छ। हो, म स्वयं समेत यति जानकार रहँदै गर्दा पनि मेरो सहकर्मी दाइप्रति फरक मगज तयार पार्न सक्दिनँ। यो समयको तीतो यथार्थ हो।
हतारिँदो समय, अस्तव्यस्त जीवन बिताइरहेका हामी आफैंभित्रको उकुसमुकुस बिसाउन सही समय, सही परिवेश नपाए समाज र राष्ट्रले निकै ठूलो क्षति व्यहोर्ने प्रायः निश्चित छ।
देशको केही सवेदनशील क्षेत्रको अवस्था हेरौं।
ट्राफिक प्रहरीको आँकडा अनुसार दैनिक दिनको झन्डै छ जना, वर्षको दुर्इ हजार जनाले सडक दुर्घटनामा ज्यान गुमाउँछ्न्। गत वर्षको तथ्यांक मात्र हेर्ने हो भने १४८० यानिकी दैनिक चार जना किशोरीको बलात्कार हुने राज्यका संयन्त्रहरु आफैं बताउँछ्न्। मैले यो लेखिरहँदा कतै दाइजोको नाममा चेली कुटिएकी छिन् त कतै रगतको अभाव गर्भवती नारी छ्टपटाइरहेकी छिन्। आजको यो समयमा पनि कुल जनसंख्याको ४८.६ प्रतिशत मात्र साक्षर जनसंख्या हुनुले राज्यको शैक्षिक क्षेत्रको समग्रता बताउला। सामाजिक सुरक्षाको पनि अवस्था त्यस्तै छ। पछिल्लो तीन वर्षमा मात्र ३१३ वटा अपहरण मुद्दा दर्ता भएका छ्न्।
देशको यो कहालीलाग्दो अवस्था चित्रण गरिरहँदा पंक्तिकार र पाठकलार्इ सामान्य लाग्नु तीतो मानवीय यथार्थबारे भने कुनै दिन चर्चा गरौंला।
अहिलेलार्इ मात्र प्रार्थना गरौं, निर्मलाहरूको आत्माले नपिरोस्, नसरापोस्।
गाउँ रित्तिएको छ। घरहरूमा कतै भोटे ताल्चा त कतै डाँडापारीको घाम भर्इ पर्खिबसेका पाका अनुहार भेटिन्छन्। बिरामी पर्दा अस्पताल पुर्याउने जनशक्ति त परको कुरा भयो। मरेपश्चात् घाटसम्म पुर्याउन मुस्किल बन्दैछ आजको समाज।
बदलिँदो जीवनस्तर र त्यसबाट आउने परिवारीक आर्थिक सकस, समाजिक देखासिकी, करिअर निर्माण आदि विभिन्न कारणले उमेर बीस लाग्दा नलाग्दा देश छोड्नैपर्ने बाध्यता सिर्जनामा राज्य जति जिम्मेवार छ, हामी आफैं पनि केही छौं।
देशको तेजिलो मगज, दक्ष, स्वस्थ, तन्दुरुस्त समृद्धिको लागि खाडीतिर, कोरिया, युरोप, अमेरिकातिर औधी निर्यातीकरणले मुलुकको भाग्य र भविष्य नै उच्चटिलो बनाउँदैछौं। हामी कस्तो समय गुजार्दैछौं? हामी कस्तो समाज निमार्ण गर्दैछौं? कतै हामी बाँचेको समयको इतिहास हाम्रै सन्ततिले फर्की हेर्दा लज्जाबोध त हुने हैन?
२००७ सालदेखि दशकैपिच्छे फेरिने राजनीतिक घटनाक्रम के को लागि थियो? कसका लागि हो? प्रश्नहरू आफैंमा प्रश्न हुँदा स्तब्ध छ्न् उत्तरहरू।
शिक्षा, स्वास्थ्य, सडक, सामाजिक सुरक्षा, नारी कतै पनि राज्य संघीय गणतन्त्रसम्म आइपुग्दा भुइमान्छेसँग जोडिन सकेन। व्यवस्था फेरिए, शासक फेरिए तर पद्धति फेरिएन। योग्यता, क्षमता, कार्यदक्षता भन्दा पनि राज्यको सबै निकायमा राजनीतिक भागबन्डाले देशको सबै निकाय ध्वस्त पारिँदै लगिएको छ।
हरेक क्षेत्रमा डन, भ्रष्टाचार र माफियको हालिमुहाली देख्दा राज्यप्रति वितृष्णा छाएको छ। यस्तै टालटुल पाराले पनि अबको केही दशकमा
रेलहरू आउनेछ्न्, १,५२० हजार मेगावाट बिजुली उत्पादन होला? दुर्इ चार सुरूङ मार्ग बन्लान्? छ-आठ लेनका ठूला बाटोहरू बन्नेछ्न्? कतै केबलकार त कतै मनोरेल नि गुड्ला? केही अन्तर्राष्ट्रिय एयरपोर्टहरू थपिएलान्? आशा चाहिँ नमारौं। यी भौतिक पूर्वाधार विकास लागि चाहिने मात्र हुन्।
जबसम्म राज्यले आफ्नो क्षमतावान्, सिर्जनशील नागरिकको सही उपयोग गर्दैन, महत्त्व बुझ्दैन, तबसम्म देशमा समृद्धि हासिल हुँदैन। त्यसैले, सबै क्षेत्रमा जानकार दक्ष मस्तिष्कको टिम बनाएर सन्तुलित विकासको खाका कोरी तदअनुसार अघि बढ्न जरूरी छ। बिहान बेलुका पाक्ने राज्यको प्रत्येक नागरिकको चुलोमा,सबै नागरिकको दिनचर्यामा राज्यले आफ्नो उपस्थिति देखाउन सके, सम्पूर्ण देशबासीको मन मगजमा राज्य भएको आभास दिलाए मात्र समृद्धि होला। मुलुकका सबै नागरिकको मुहार हाम्रै युगमा साकार होला।