म हरेक चोटि जब नेपालबाट बाहिर निस्कन्छु, मेरो देशको विमानस्थल र म पुगेको देशको विमानस्थल तुलना गर्नथाल्छु।
यती मात्र होईन म जहाँ पुग्छु त्यहाँ बसेका नेपाली दाजुभाइसँग कुनै न कुनै प्रसङ्गमा एयरपोर्टको कुरा भइहाल्छ। उनीहरु पनि तुलना गर्न पछि पर्दैनन्।
वास्तवमा तुलना गर्न नपर्ने हो। तर, मेरो मनमा लाग्छ यत्ति त गर्दिए हुन्थ्यो नि! यस्ता कुराहरु तपाईँहरूको मनमा पनि उब्जन्छ होला।
गत फेब्रुअरीमा ढाका जानुअघि मलाई त्यहाँको विमानस्थल हाम्रै जस्तो होला भन्ने कल्पना थियो। तर, मेरो कल्पना त्यही विमानास्थलबाट बाहिर निक्लँदा ननिक्लँदै गलत सावित भयो। हाम्रो भन्दा धेरै राम्रो रहेछ साहाजलल विमानस्थल। तपाईँहरूलाई पनि त्यस्तै लाग्दो हो हरेक हवाई यात्रामा।
राम्रो केलाई भन्ने? राम्रो कसरी हुन्छ? केही महत्वपूर्ण कुराहरु छन् एयरपोर्टलाई राम्रो बनाउने।
वास्तवमा एयरपोर्ट राम्रो नराम्रो यसको मुख्य प्रवेश गर्ने गेटबाटै सुरू हुन्छ। म एयरपोर्ट पुग्दैछु भन्ने खालको अनुभव वा एअरपोर्ट फिलिङ गर्नसक्ने वातावरण हुनुपर्छ। गौशालाबाट देखिने त्रिभुवन विमानस्थलको छानाले केही छनक त दिन्छ, तर ओरालो लाग्दै गर्दा, पशुपति र बागमतीलाई पार गर्दासम्म त्यो अनुभव रहँदैन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुल गेट निकैनै राम्रो छ। गेटबाट भित्र छिर्ने बित्तिकै उकालो लाग्दै गर्दा प्रहरीहरू गाडी रोकेर झ्यालबाट चिहाउँछन्। प्रश्न गर्छन्, ‘कहाँ जाने हो?, टिकट छ कि छैन?।’
पार्किङ सम्म त सबैलाई बिना रोकटोक छिर्न दिए हुने नि! त्यहाँ जो कोही कामै नभैई त जादैन होला नि? सायद विश्वको कुनै पनि मुलुकमा डिपार्चर वा एराईभल एरियासम्म पुग्न प्रश्न गरिन्न। राम्रो एयरपोर्ट बन्न यो पनि सुधार गर्नुपर्ने देखिन्छ।
सायद तत्कालिन जनयुद्वको बेलामा सुरक्षाको दृष्टिबाट यो व्यवस्था गरिएको होला, अब त देशले रूप रंग नै बदलेको छ, यात्रुलाई अझै किन सास्ती। अरू देशमा त डिपार्चर हलसम्म यात्रुका आफन्तलाई प्रवेश दिइन्छ। हाम्रो त मुल गेटमै ‘नो इन्ट्री’।
अहिले डिपार्चर हल भित्र जहाँ एक्स्लेभेटर राखिएको छ त्यहाँ अहिले पनि सुरक्षाजाँच हुन्छ त्यहीबाट यात्रुलाई मात्र माथि अरूलाई रोक गरिदिए राम्रो एयरपोर्ट बन्ने अर्को आधार हुन्छ।
केही दिनअघि बैंकक जान बिहान ८ बजे एयरपोर्ट पुगेको थिएँ। नेपाल वायुसेवाको डेस्क १ को वरिपरि कागज र फोहोर थियो। हामी लाईनमा थियौं, सफा गर्ने त्यही वरिपरि थिए। सायद गएको रातिको फोहोर हुनुपर्छ। किन नाईट स्टाफ राखेर रातभरी एयर्पोर्ट सफा गरिन्नँ।
हामीमा एउटा दरिद्र सोच के रहिरह्यो भने दिन भनेको काम गर्ने, रात भनेको सुत्ने। अझै हामीले समयको महत्वलाई बुझ्न सकेका छैनौं।
एयरपोर्टको प्रस्थान विन्दुमा ट्याक्सीबाट ओर्लने बित्तिकै ट्रली कहाँ छ भनेर समस्या हुन्छ। अन्य मुलुकमा ट्रलीको लस्करनै राखिएको हुन्छ। हामी कहाँ ट्रलीको उचित स्थान ‘बे’ भए पनि असरल्ल छन्।
छरिएका ट्रली व्यवस्थापनमा कर्मचारी होलान्। तर, तिनीहरु ट्रली मिलाए वापत वा सामान ट्रलीमा हालेर सेक्यूरिटी गेटसम्म पुर्याएकोमा पैसा माग्छन्। कमसेकम ट्रली निःशुल्क प्रयोग गर्नुहोस भन्ने सूचना दिएपछि प्रशस्त ट्रली व्यवस्थापन गर्न पर्यो नि?
कति दिन अरूले ट्रली किन्देलान् भनेर बस्ने? अब नेपाल सरकारले आफैं ट्रली किन्न पर्छ र उचित व्यवस्थापन पनि गर्नुपर्छ। अर्थको कारणले नै प्रशस्त ट्रली नकिनिएको हो भने एउटा टिप्स, ट्रलीको पैसा त त्यसमा विज्ञापन राखेर पनि कमाउन सकिन्छ।
वास्तवमा हाम्रो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने भएर मात्र हो अन्तर्राष्ट्रिय भन्न मिल्ने नत्र अरु कुनै कोणबाट छैन। शौचालय, ड्यूटी फ्री सप, भ्याट रिफन्ड अफिस निम्न स्तरका छन्।
कल्पना गर्नुस्, त्रिभुवन विमानस्थलमा तपाईँको ट्रान्जिट ८ घण्टाको ६ भने कसरी बिताउन सक्नुहुन्छ त्यत्रो समय? अथवा तपाईँको जहाज डिले भयो ५ घण्टाको लागि, त्यो समय कसरी बिताउनुहुन्छ? मसँग शुभर्णभूमीमा १५ घण्टा ट्रान्जिटमा बसेको अनुभव छ। सिंङ्गापुरको विमानस्थलमा ८ घण्टा ट्रान्जिट बसेको अनुभव छ। समय बितेको पत्तै भएन। आखिर किन?
साच्चै यात्रामा जसरी जहाजले सुविधा दिन्छ त्यो भन्दा बढी विमानस्थलले दिनुपर्छ। सामान्यतया, काठमाडौंबाट उड्ने लामो दूरीको उडानमा म गाह्रो अवस्थामा मात्र लामो शौचको लागि प्लेन भित्रको शौचालय प्रयोग गर्छु।
नत्र जहाँ उत्रन्छु त्यहाँ मलाई कम्फर्ट लाग्छ। दिल्ली, दोहा, सिड्नी, डब्लिन, इस्तान्बुल, लण्डनका एयरपोर्टका शौचालय स्तरीय छन्। तर, यी शहरबाट काठमाडौं आउँदा मेरो शौचालयको प्रयोग उल्टो हुन्छ।
म विमान भित्रकै शौचालय प्रयोग गर्छु। त्रिभुवन विमानस्थलको शौचालय मलाई किन हो किन कम्फर्ट लाग्दैन। हरेक यात्रु जहाजबाट ओर्लने बित्तिकै शौचालय जान चाहन्छ्न्। राम्रो एयरपोर्टमा दर्जिन राम्रो शौचालय हुन पनि जरूरी छ। के हामी त्यस्तो गर्न तयार छौँ त?
हाम्रो विमानस्थलमा लगेज ह्याण्ड्लिङ एकदमै सुस्त छ। नेपाल बाहेकका देशमा ल्याण्ड गर्ने कतिपय जहाजले त ककपिटबाट तपाईँको लगेज बेल्ट नं. फलानोबाट लिनुहोस् भनेर पहिल्यै सन्देश प्रवाह गर्छ।
त्यो भएन भने पनि अध्यागमन पार गर्ने बित्तिकै राखिएको डिस्प्लेमा लगेज कहाँबाट लिने लेखिएको हुन्छ। हाम्रो देशमा सबै काम भ्याएर आउँदासम्म लगेज कुन बेल्टमा आउँछ पत्तो हुँदैन। यो कुरामा सुधार गरे पनि देशलाईनै फाईदा हुन्छ।
अध्यागमन पार गरेपछि फेरि सेक्यूरिटी जाँच हुन्छ। अन्तिम चेक जाँच। महिलाको लाईन, पुरूषको लाईन। एक्स्रेमेशिन भन्दा धेरै पर टोकरी दिइन्छ। मोबाईल , पर्स , बेल्ट ल्यापटप छ भने छुट्टै टोकरीमा राख्न लगाईन्छ।
अब एक व्यक्तिले बोकेर त्यो सामान एक्स्रेसम्म पुर्याउनुपर्यो। यो सास्ती भएन। किन एक्स्रेमेसिनको बेल्टसँग जोडेर टेबल राख्न सकिन्न। यस्ता सामान्य कुरामा पनि हाम्रो विमानस्थलले ध्यान दिएको छैन।
केहि दिनअघि बैंककबाट काठमाडौं उड्नको लागि शुभर्णभूमी विमानस्थलको गेट ३ मा बोर्डिङको लागि क्यूमा थिएँ। लामो लाईन थियो। म बसेको लाईनमा ५-६ जना नेपाली दिदीहरु आउनुभयो र लाईनमा घुस्न खोज्नुभयो। मैले शिष्टताका साथ भने लाईनमा बस्नुहोस् न। ती दिदीहरु भन्दै थिए-हामी नेपाली हौं, लाईनमा बस्न जानेका छैनौं, नेपालमा पनि यस्तै हो, बाहिर पनि यस्तै।
लाजै नमानी पछाडिको पचास जना पेसेन्जरभन्दा अगाडि छिरेरै छाड्नु भो। हामी नेपालीहरुले सोचमा परिवर्तन ल्याउन जरूरि छ। हाम्रो परिचय हामी आफैं नराम्रो दिईरहेका छौं।
काठमाडौ विमान्स्थल ओर्लेर अध्यागमन पार गर्न क्यूमा थिएँ। म भन्दा अगाडि ४-५ जना नेपाली दाजु भाईहरू लाममै थिए तर भुईमा मार्क गरिएको पहेलो धर्सा पार गरेर बसेका थिए। ती दाजु भाईहरुलाई एक जना कर्मचारी आएर नमिठो तरिकाले फलाक्न थाले। लाईनमा बस्न आउँदैन? विदेशमा के यस्तै सिकेर आउनु भयो? मलाई उनको प्रस्तूति ठिक लागेन। उनले त आग्रह गर्न पर्ने हो, ‘कृपया यो पहेँलो धर्का नकाट्नु होला, पछि गइइदिनुस न।’
उसलाई बाहिर के सिकेर आईस भनेर सोध्ने कस्ले दियो अधिकार। उसको काम कर्तव्य त्यो होईन। सायद मेरो अगाडि बस्ने दाजु भाईहरू खाडीमा काम गरेर आउनु भएको जस्तो देखेर होला त्यस्तो भनेको।
यी दुई प्रसङ्गलाई हेर्ने हो भने दुई वटा कुराको पुष्टि गर्न सकिन्छ । एक हामी नियम, कानुनमा हिड्न अभ्यस्त छैनौ र अर्को हामीले हाम्रै नेपालीहरुलाई हेर्ने नजर फरक फरक छ ।
साँच्चिकै विमानस्थलमा एक दर्जाका मानिसहरुलाई निकै सास्ती दिईन्छ। प्रस्थान होस वा आगमनमा। अध्यागमनको प्रस्थान कक्षमा काममा जानेको लागि छुट्टै लाईन राखिएको छ।
सजिलो होस भनेर होला तर सजिलोलाई गाह्रो बनाउन काममा जानेहरुका लागि अनेकौं प्रश्न सोधिन्छ मानौँ कि उनीहरु अपराधी हुन्, सजायँबाट पार पाउन मुग्लान् भासिँदै छन्। हरेक नेपाली जो पटक पटक विमानस्थल भएर ओहोर दोहोर गर्छन् हाम्रो विमानस्थल सुन्दर देख्न चाहन्छन्।