धापासीबाट रत्नपार्क जान बिहानको ११ बजे घरबाट निस्किएँ। करिब एक घण्टाको पर्खाईपछि सामाखुसी यातायातको बसमा चढ्ने मौका मिल्यो, त्यो पनि हुलमुलमा एउटा खुट्टा ढोका भित्र र एउटा खुट्टा बाहिर झुण्डाएर। यो बिचमा केही बस र माईक्रोमा टनाटन यात्रु कोचेकोले रोक्दै नरोकि गईसकेका थिए। सामाखुसी चोकमा पुग्ने बेलासम्म बाहिर झुण्डाएको खुट्टा हिलोले छ्यापेर भिजिसकेको थियो।
बृद्ध, गर्भवती, सुत्केरी, महिला, पुरूष, बिरामी, अशक्त बसभित्र कोचिएरै यात्रा गरिरहेका थिए। यात्रुको बाध्यता थियो भने बसको आम्दानी बढाउने जुक्ती। बृद्ध तथा अशक्तहरु बस भित्र उभिएरै यात्रा गरिराखेको देखिन्थ्यो भने गाडीमा छुट्टाइएका दुई जना महिला सिटमा अधबैंसे युवतीहरू बसिरहेका थिए।
बसको सहचालकले बस भित्र गल्लिमा यात्रुलाई उभ्याउने गज्जबको नियम लगाउँदै थियो। यात्रुहरू एक जना पूर्वतिरको झ्याल र अर्को पश्चिम तिरको झ्याल फर्केर उभिनुपर्ने रहेछ। सहचालकले भनेअनुसार यात्रुले मानेन भने बसबाट झरिहाल्नुस् भन्ने गरेको सुनिन्थ्यो। साना साना स्कुलका भाईबहिनी होस् वा जेष्ठ नागरीक, सहचालकले गर्ने ब्यवहार र रुखो बोलि उस्तै थियो। यस्तो लाग्थ्यो कि हामीहरु बसका यात्रु होईनौ, कुनै ठूलै अपराध गरेकोले यहाँ कारबाही गर्न ल्याईएको हो।
गाडीका सहचालकले यात्रुलाई ग्राहक होईन शत्रुको ब्यवहार गर्दा अचम्म लाग्नु स्वभाविक थियो। प्रायः बिकशित देशमा ग्राहकलाई उच्च प्राथमिकता दिने गरिन्छ भने हाम्रोमा जुनसुकै क्षेत्रमा पनि ग्राहकलाई गर्ने ब्यवहार अत्यन्त तल्लोस्तरको हुने गर्छ।
देशको राजधानी, जहाँ प्रहरी प्रशासन, राज्य, नागरिक समाज, बौद्धिक वर्ग, मानव अधिकारवादीको बाक्लो उपस्थिति छ, त्यहाँको अवस्था त यस्तो छ भने कल्पना गरौं देशको दुर्गम भागको अवस्था कस्तो होला। हामी सामान्य कृपया तथा धन्यवाद जस्ता शब्द प्रयोग गर्न अत्यन्त कन्जुस्याइँ गर्दछौं।
बसमा यात्रुहरू बसको क्षमता भन्दा तीन गुणा धेरै थिए, गाडी भित्रको तापक्रम सहन नसक्ने गरी बढेको थियो। बस भित्रको उकुसमुकुसले अधिकांश यात्रुको निधारमा लगाएको टीका पसिनासँगै बगिरहेको देखिन्थ्यो। काठमाडौंको मात्र कुरा होईन, तराईको ४५ डिग्री तापक्रममा पनि यात्रा यसरी नै हुने गर्छ।
ढोकामा नै किन नहोस् बस भित्र उभिन पाएकोमा यात्रुहरू खुसी देखिन्थे। डण्डी समातेर यात्रा गर्दा गर्दा एकजना साथीको हातमा ठेला परेको देखाउँदै थिए। कतिपय सिट मै बसेर यात्रा गरिरहेका यात्रु पनि कम्ता थिएनन्। यता सकसले उभिनुको पीडा, उता सिटमा बसेकालाई ज्यानले छोयो कि कराउने। यात्रुको आफ्नो गरगहना, मोबाईल, पैसा राख्ने ब्याग सुरक्षा गर्ने अनेक जुक्ति निकाल्दै गरेको स्पष्ट देखिथ्यो। महिलाहरुलाई कोचिएर उभिन असहज भईराखेको बुझ्न गाह्रो परेको थिएन। तर, पनि विकल्प बिना यात्रामा सवार भईराखे कै थिए।
कार्यान्वयनस्तरमा बस्नेलाई नागरिकलाई सामान्य सवारीसाधनमा आवजजावत गर्दा हुने यस्ता सास्तीको जानकारी वा अबगत छैन भन्ने लाग्दैन। तर, अबगत हुनु, सुन्नु वा पढ्नु र आफैंले अनुभव गर्नुमा धेरै फरक छ। एक पटक सोचौं त असी वर्षको बृद्ध, आठ महिनाको गर्भवती वा एक महिनाको सुत्केरीले कसरी सार्बजनिक यातायातमा यात्रा गरिरहेका होलान्।
सडकअनुशासन
सन्तानलाई बुवाआमाको र नागरिकलाई राज्यको डर हुने अवस्थाको सृजना नभएसम्म परिवार वा देश बन्दैन। डर र भय फरक कुरा हुन्। कानुन अनुशासन हो। स्वभाविक रुपमा जहाँ कानुनको पालना हुँदैन त्यहाँ अनुशासनको पालना हुँदैन र अराजकता मौलाउँछ। अहिले देशमा भईरहेको पनि यही नै हो।
नेपालमा कानुन पालना नहुने क्षेत्र मध्येको एक हो, सडक। हाम्रा सडकमा अनुशासन भेटिँदैंन। जसको कारण ट्राफिक ब्यवस्थापन कमजोर छ, सवारीसाधन अन्धाधुन्ध चलिरहेका छन्, सडकहरु अस्तब्यस्त छन् र दुर्घटना धेरै हुन्छन्। विश्वमा सडकलाई अति संबेदनशील क्षेत्र मानिन्छ। हामी भने सडकमा अत्यन्त स्वतन्त्र छौं।
जथाभाबी सडक काट्ने यात्रु, यात्रुलाई कोचेर यात्रा गराउने सवारीसाधन, सर्प जसरी मोटरसाईकल कुदाउने चालकले सडक नियमको कुनै मतलव राख्नु पर्दैन। कसैले चाहयो भने हाम्रा सडक सजिलै बन्द गर्न सक्छ। यो सडक दण्डहिनता मौलाउनु हो।
सडक कालोपत्रे गर्नु मात्र खास अर्थमा सडक होईन। सडकमा राखिने संकेत, सूचना, रेखांकन वा सडक नियम बिनाको सडक अपुरो र अधुरो रहने गर्छ। सडकमा सवारीसाधन दौडाउनसक्नु मात्र गाडी चलाउन जान्नु होइन, सडक नियमको पालना गर्न र गराउन पनि सिक्नुपर्छ।
यीनै कारणले एकातर्फ ट्राफिक ब्यवस्थापनमा समस्या परिराखेको छ भने अर्को तर्फ सडक दुर्घटना बढाउने गरेको छ।
निर्माण सम्पन्न भएका सडकमा प्रति घण्टा सवारी गुड्न पाउने गति राखेको देखिदैन। सवारीसाधनहरु समान गतीमा गुड्दा सडक दुर्घटना हुने सम्भावना कम हुने गर्छ। सामान्य अर्थमा सडकमा सवारीसाधन गुड्ने गती नराख्नुको मतलब सडकमा जति गतिमा चलाउन मन लाग्दछ त्यति गतिमा चलाउन सक्नुहुन्छ भन्ने बुझिन्छ।
यो दुर्घटना निम्ताउने प्रमुख कारण हो। भरतपुर महानगरपालिकाका ठाउँठाउँमा सडकमा गति लेखेका बोर्डहरु राखिएको छ तर त्यसको पालना भएको देखिदैन। सडकमा गति ३० किलोमिटर प्रति घण्टा राखिएको थियो तर सवारीसाधन ६०/७० को गतिमा दौडिएको भेटिन्छन्।
बुटवल भैरहवा सडकको ठाउँठाउँमा सडक नियम पालना गरौं भनेर लेखेको छ तर सडकमा नियम केहि भेटिदैन।
ट्राफिक ब्यवस्थापनमा रेखाङ्कनको ठूलो महत्व हुने गर्छ। नेपालका सडकहरुमा रेखाङ्कन गरेको भेटिदैन र गरेका रेखाङ्कनहरू अन्तर्राष्ट्रिय मान्यताका छैनन्। नेपालका सडकहरुमा पहेलो लाईन सडकका दुईतर्फ लगाउने गरेको देखिन्छ। दुईतर्फी सडकलाई छुट्टाउने बिचको रेखा कोर्न कुन रंगको प्रयोग गरीन्छ ध्यान दिएको पाईदैन।
अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने दुईतर्फी सडकलाई छुट्टाउने बिचको रेखा सामान्यतः पहेलो रंगको हुने गर्छ। कहाँ अर्को गाडीलाई ओभरट्याक गर्न मिल्ने वा नमिल्ने सडकमा लगाईने रेखाङ्कनले बताउनुपर्ने हो। तर, हाम्रोमा यसको कुनै मतलब गरेको पाईदैन र नियम पालना गराउने निकाय पनि गम्भीर देखिदैन।
यदि तपाई लाजिम्पाटबाट महाराजगंजतर्फ जादै हुनुहुन्छ भने त्यो सडक एकतर्फी हो वा दुई तर्फी र कति वटा लेन लाजिम्पाटबाट महाराजगंजतिर जाने हुन भन्ने सडकका रेखाङ्कनले बोल्नु पर्दछ। मानौं, कुनै एकतर्फी सडकको बिचमा तपाईँ सडकमा छिर्नु भो भने कसरी थाहा पाउनुहुन्छ कि यो एकतर्फि सडक हो? यो रेखाङ्कनले बोल्नुपर्छ।
मुख्य सहरहरुमा सडकको चौडाई १८ फिट भन्दा कम छ भने त्यस्ता सडकहरुको चौडाई बढाई १८ फिट बनाउने वा त्यस्ता सडकलाई एकतर्फी बनाउनुपर्छ। सामान्यतः एउटा लेनको चौडाई कम्तिमा नौ फिटको हुनुपर्छ।
काठमाडौंका ठाउँठाउँमा एकतर्फी सडकहरु छन्। ती सडकमा राखिएका संकेतहरुमा कतै अंग्रेजीमा, कतै नेपालीमा लेखिएको छ भने कतै केहि लेखिएको देखिदैन। यसमा एकरुपता देखिदैंन। ठाउँठाउँमा सडक सुचना बोर्डहरु राखिएको छ।
यसमा बोर्डको रंग, साईज, अक्षरको रंग र साईजमा मेल खाएको देखिदैंन। एअरपोर्ट बाहिर रिङ्ग रोडमा राखिएको एअरपोर्ट लेखिएको पुरानो बोर्ड सेतो छ तर बानेश्वर तिर राखिएका सडक सूचना बोर्ड हरिया छन्। त्रिपुरेश्वर लगायतका केही ठाउँमा सडक सूचना राखिएको छ तर त्यसमा लेखिएका अक्षर पढ्न बोर्डको नजिकै पुगेर मात्र बल्लबल्ल देखिने छन्।
सडकमा त्रुटिपूर्ण रुपमा राखिएका संकेतहरु सच्चाई एकरुपता ल्याउनुपर्छ।
हामीसँग सडकमा सामान्य सवारीसाधन बिग्रियो भने तत्काल हटाउने क्षमता छैन। कतिपय ठाउँमा ट्राफिक प्रहरीले जथाभाबी पार्किङ गरेको मोटरसाईकल धकेल्दै लगेको देखिन्छ भने कतै बाटोमा बिग्रिएको ट्याक्सी धकेलेको देखिन्छ। विश्वमा काम गर्ने ट्राफिक लाईटले हाम्रो देशमा काम गर्दैन। गल्ति गर्ने चालकलाई कारबाही गर्ने नैतिक बल ट्राफिक प्रहरीले राख्दैन।
ट्राफिक ब्यबस्थापनमा देखिएको एउटा ठूलो समस्या जथाभावी पार्किङ हो। जथाभाबी पार्किङ्गले सडकलाई कुरुप बनाएको छ। सबारी पार्किङ गर्न मिल्ने ठाउँमा अनिवार्य पार्किङ लाईन लगाईदिने र पार्किङ्ग लाईन नभएको ठाउँमा पार्किङ्ग गर्ने सवारी साधनलाई उच्च जरिवाना लगाउनुपर्छ।
देशका ठुला सडकहरुमा जथाभावि पार्किङ मात्र रोक्न सक्यो भने पनि सडकको सुन्दरता बढ्न सक्दछ र ट्राफिक ब्यबस्थापन धेरै हद सम्म सहज हुने देखिन्छ। हाम्रोमा गरिने २०० वा ५०० जरिवानाले चालकले गल्ति गर्न छोड्दैन। ट्राफिक प्रहरीको नियम पालना गराउने र जरिवाना गर्ने भूमिकालाई थप प्रभाबकारी बनाउँ। नियम पालना गराउने सन्दर्भमा सम्झौता नगरौं।
अन्त्यमा,
यात्रुको सुरक्षित यात्रा गर्न पाउनु उसको अधिकार हो र राज्यले यसको प्रत्याभूत गराउन सक्नुपर्छ। काठमाडौंलगायतका ठूला सहरहरुमा ठूला सवारी साधनको संख्या बढाउँदै साना सवारी साधन बिस्थापन गर्नुपर्छ।
सवारीसाधनको सिट क्षमता भन्दा धेरै यात्रुलाई यात्रा गराउन रोक्नुपर्छ। तराईका जिल्लाहरुमा क्रमशः एसि जडित सवारीसाधनमात्र चलाउने नीति अबलम्बन गर्नुपर्छ। सार्वजनिक यातायतका चालक तथा सहचालकले अनिवार्य तालिम लिनु पर्ने र ड्रेसको ब्यबस्था गर्नुपर्छ।
सम्पन्न भएका सडकहरुमा अन्तरराष्ट्रिय मापदण्डको रेखांकन, संकेत र सूचना राखी अनिवार्य नियम पालना गराउन तर्फ ध्यान दिनुपर्छ।
ट्राफिक प्रहरीलाई आवश्यक सवारीसाधनयुक्त गराउने र उनीहरुको नियमित सडक गस्ती गराउने गर्नुपर्छ। नियम उल्लंघन गर्ने चालक र सवारीसाधनलाई लगाईने जरीवाना उच्च हुनुपर्छ। सडक नियम कडाईका साथ पालना गराउने र सडक अनुशासन कायम गर्न सम्बन्धित सबै पक्षले सहयोग गर्नुपर्छ।
सडकको बर्गिकरण गरी योजनाबद्ध रुपमा सडकको स्तरोन्नती गर्ने र नयाँ सडक निर्माण गर्ने कामलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ।