कुनै पनि मुलुकको वर्तमानमा रहेको सामाजिक, आर्थिक र राजनैतिक अवस्थाको शूक्ष्म रुपले विश्लेषण गर्ने हो भने त्यो मुलुकको भविश्य वारे सजिलै अड्कल काट्न सकिन्छ।
शासकको नियत र उसले मुलुक संचालनमा अपनाउने नीतिले अल्पकालिन तथा दीर्घकालिन प्रभाव पार्ने गर्दछ। जुन मुलुकमा शासन गर्नेले राष्ट्रको उन्नतिमा नै आफ्नो उन्नति अनि सन्ततिको भविश्य सुरक्षित देख्छ त्यसपछि उसको लागि ब्यक्तिगत स्वार्थ गौण भएर जान्छ। न उसले भ्रष्टाचार गरेर सम्पत्ति थुपार्नुपर्ने आवश्यकता देख्दछ न त तस्कर, दलाल र अपराधिहरु संगको सहकार्यको नै।
यसरी मुलुकको मूल नेतृत्वकर्ता इमान्दार छ, क्षमतावान छ र उसको एकमात्र लक्ष्य मुलुकलाई सम्बृध्द बनाउनु छ भने ऊ मातहतका मन्त्रीहरु, निकायहरु र कर्मचारीहरुको आचरण पनि सोहि अनुसार हुदै जान्छ। आज नेपालका शासक वर्गमा व्यक्तिगत स्वार्थका लागि जसरी तछाड मछाड भइरहेको देखिन्छ त्यसवाट के देखिन्छ भने वाहिर जे जे वोलेपनि मुलुकको सम्वृद्घि न त उनीहरुको चाहना हो न त मुलुकलाई सम्वृद्घ वनाउन सकिन्छ भन्ने उनीहरुलाई विश्वास नै छ।
पूर्विय दर्शनका महान विचारक चाणक्यले भनेका छन जुन देशमा असंख्य नेताहरु छन र जहाका जनताको चेतनाको स्तर शून्य छ भने त्यो देशको सम्वृद्घि असम्भव त छैन तर कठिन छ। उनको यस विचारलाई मनन गरि नेपालको विश्लेषण गर्ने हो भने आज मुलुक सामाजिक, आर्थिक, राजनैतिक र नैतिक रुपले यसरी जर्जर हुनुको पहिलो प्रमुख कारण उनले भनेझै विभिन्न उद्देश्यका साथ विभिन्न पृष्टभूमीका ब्यक्तिहरुको राजनीति प्रतिको आकर्षण हो जस्ले गर्दा मुलुकमा असंख्य नेताहरु उदाए भने अर्को प्रमुख कारण जनताको चेतनाको स्तर नै हो। संसारकै थोरै मुलुकहरु मध्ये नेपाल पर्दछ जहा छोटो समयमा नै राजनीतिलाई पेशा बनाएकाहरुले नाम, दाम र मान प्राप्त गर्दछन र यो नै त्यस्तो मुलुक हो जहा हजारौ हजार ब्यक्तिहरुको पेशा राजनीति वाहेक केहि देखिदैन तर उनीहरुले छोटो समयमा आर्जन गरेको सम्पत्ति ठूला ब्यवसायिक घरानाको भन्दा बढी छ भन्ने कुरा उनीहरुको पारिवारिक रवाफले देखाउँछ।
अर्को तर्फ चुनावमा मतदान गर्नु र नारा, जुलुस तथा आन्दोलन गर्नुलाई नै चेतना भन्ने हो भने आफ्नै अगाडी संयमित भइ बसेका आठ जना प्रहरीसहित एक नावालकको निर्मम तरिकाले हत्या गरी नरसंहार गर्ने घटनाका मुख्य योजनाकारलाई अत्याधिक मतले विजयी गराउने कैलालीका मतदातालाई के भन्ने ?
अनि के भन्ने ? वाँदरमुडे घटनाका मुख्य सृत्रधारलाई विजयी गराउने चितवनका मतदातालाई र अचेत अवस्थामा एम्वुलेन्समा अस्पताल लैजादै गर्दा वाटैमा एम्वुलेन्सवाट निकालि हत्या गर्ने घटनाका मूख्य अपराधिलाई मत दिइ विजयी गराउने महोत्तरीका मतदातालाई। त्यतिमात्र होइन नेपालको सन्दर्भमा कुरागर्दा मतदान गरेको भालिपल्ट देखि नै मतदाताहरु आफूले मतदान गरेको ब्यक्तिलाई मत दिएर गल्ति गरिएछ भनि पछुताउनेको संख्या अत्यधिक देखिन्छ।
यस्तो मतदाताको संख्या अशिक्षित र पिछडिएका ठाउको मात्र नभइ शिक्षित र वुझेकाहरु वसोवास गर्ने भनिएको मुलुककै राजधानी काठमाडौंमै समेत प्रशस्तै रहेका छन। सर्वेक्षण नै गर्ने हो भने धेरै वर्षपछि स्थानीय तहमा प्रतिनिधि पाउने उत्साहका साथ मतदान गरि विजयी वनाइएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई मत दिएर ठिक गरिएछ भन्ने मतदाता कति होलान्? अथवा झण्डै दुई तिहाइ मतका साथ वनेको वर्तमान सरकार जो पटक पटक दई तिहाइ मत आफूसँग रहेको दम्भ देखाउँछ, शायद उसलाई अहिले यो सोच्ने फुर्सद छैन होला ८ महिनाको अन्तरालमा नै उसलाई मतदिएर यो ठाउमा पुर्याउने धेरै मतदाताको विश्वास अव यो सरकार प्रति घट्दो छ भनेर।
नारा, जुलुस, बन्द, हडताल लगायतका आन्दोलन त २०४६ सालपछि कति भए भन्ने कुराको कुनै लेखाजोखा नै छैन तर त्यसले के कस्तो परिणाम दियो त ? आज तीस बर्ष पुगेको मानिसले पञ्चायति समेत गरि तीन थरिको त ब्यवस्था नै देखिसक्यो भने पच्चीस भन्दाबढी सरकार।
सवै दलका शीर्ष नेतृत्वहरुले अल्पमत, वहुमत हुँदाहुँदै दुई तिहाइको सरकारको समेत नेतृत्व गरिसके तर मुलुक भने झनझन पर निर्भर हुँदैछ।
जुन देशको समाज अस्त ब्यस्तता र अराजकतामा नै अभ्यस्त भइसकेको छ र त्यसबाट मुक्तिको आश मारेर पलायन हुने विकल्प रोज्दैछ भने त्यो देशमा ब्यक्तिगत वा समूहगत स्वार्थको लागि आन्दोलन, नारा जुलुस, क्रान्ति, प्रतिक्रान्तिहरु भइरहलान तर मुलुक स्थिर र सम्वृध्द हुनेवाला छैन।
केही ब्यक्तिहरुको निजी स्वार्थले वर्षौसम्म सिङ्गो मुलुकले दैनिक १८ घण्टासम्म लोडसेडिङ बेहोरेको दृष्टान्त त छँदैछ आज पनि केही ठेकेदार र सडक डिभिजनका केही कर्मचारीको निजी स्वार्थका कारणले देशकै राजधानी सिङ्गो काठमाडौं हिलो र धूलोबाट आक्रान्त छ र हजारौ घर परिवार वर्षौदेखि झ्याल ढोका बन्द गरेर वस्न वाध्य छन्।
हरेक क्षेत्रमा महंगी आकासिएको छ, केन्द्रदेखि स्थानीय तहसम्मले करको दायरा र दरमा वृद्धि गरी जनतालाई थप भार वोकाएका छन, जघन्य अपराधिहरुलाई विभिन्न वहानामा उन्मुक्ति दिइँदैछ। भ्रष्ट र दलालहरु धमाधम राज्यवाट पुरस्कृत हुदैछन, विगतको दश वर्षमा एक पछि अर्को गर्दै राष्ट्रघाति सम्झौता र ब्यवस्थाहरुलाई ऐन कानूनमा थपिएको थपियै छ र त्यसैको पछिल्लो श्रृङ्खलाको रुपमा हाल संसदमा दर्ता भएको छ नागरिकता सम्वन्धि संशोधन प्रस्ताव। दैनिक जसो सिमा मिचिएका समाचारहरु त आइरहेकै थिए अब त नक्सा नै फेरीएको समाचार वाहिर आएको छ।
केही वर्षमा सिमित ब्यक्तिबाट राज्यकोषको यति लुट भयो कि शायद कुनै कालखण्डमा भएको थिएन र पनि समाज आन्दोलित हुँदैन भने यो मूलुकको लागि शुभ लक्षण पक्कै होइन।
आर्थिक रुपले त्यसै पनि कमजोर रहेको नेपालको अवस्था दिनानुदिन दयनीय र परनिर्भर बनाइँदैछ। २०४९–०५० साल तिर आयात निर्यातको प्रतिशत ७०–३० रहेकोमा हाल ९४–६ मा आइपुग्नुले देशको आर्थिक अवस्था र परनिर्भरतामा भएको बढोत्तरीका बारेमा अरू केही भन्नु नपर्ला।
आ.ब. २०७४/०७५ का लागि कूल वजेटको २६ प्रतिशत विकास वजेट छुट्टयाइएकोमा त्यसको पुग नपुग ७२ प्रतिशत खर्च भएको देखिन्छ। यसरी हेर्दा वार्षिक वजेटको १९ प्रतिशत भन्दा पनि कम विकास बजेट खर्च भएको देखिन्छ अनि त्यो खर्च पनि कसरी हुन्छ भन्ने जग जाहेर नै छ। तर पनि सरकार विभिन्न देशमा अदक्ष कामदारको कोटा थप्न सकेकोमा नै गर्व गर्दछ र अनि कुरा गर्दछ मुलुकको सम्वृद्धिको।
राजनीतिक रुपले त जुनसुकै दल अथवा नेतृत्वको एक मात्र उद्धेश्य जुनसुकै शर्त अथवा सम्झौता गरेर भए पनि शासनमा आसन गर्नेवाहेक अर्को देखिएन।
जुन देशको सरकार ब्यक्त अथवा अब्यक्त रुपमा जनताले के भनिरहेका छन र उनीहरुको भावना के छ भन्ने कुरा सुन्न र वुझ्न चाहँदैन अनि चुनाव गराउनु, भागवण्डामा राजदुत, उपकूलपति, रजिष्टार, न्यायाधीश, सम्वैधानिक पदहरू आदिमा नियुक्ति गर्नु अथवा विक्री गर्नु, आफ्ना आसेपासेका साथ उपलब्धिहीन विदेश भ्रमण गर्नु आदिलाई आफ्नो उपलब्धि भनि वखान गर्न शरम मान्दैन त्यो देशको राजनैतिक दल र नेतृत्वको चरित्र वारे अरु केही भनिरहनु नपर्ला।
यसरी उल्लेखित विविध किसिमका समस्या तथा कारणहरुले केही दलाल, तस्कर, सत्तासीन नेता तथा लाभका पदमा रहेकाबाहेक आम नेपाली सामाजिक, आर्थिक, शारीरिक, मानसिक रूपले पीडित छन जसले गर्दा आम नेपालीको वर्तमान अवस्था दिनानुदिन कष्टकर बन्दैछ। सन्ततिको भविश्य पनि त्यतिनै अनिश्चितता तर्फ धकेलिने अवस्थामा रहेकाले यसतर्फ समय रहदै सबैको ध्यान जान आवश्यक छ।