म जसलाई गूरु पूर्णिमामा सम्झन्छु, मेरो गाउँमा उहाँका थुप्रै किस्सा बनेका छन्। त्यो पनि ‘दारु’ शीर्षकमा। मलाई उहाँको जीवनबाट दारु निकाल्नु छ। र, हेर्नु छ, ‘मैले नापेको उचाई सगरमाथा बराबर पुग्छ कि पुग्दैन।’
मैले एक दिन उहाँलाई सोधें पनि, ‘सर, हजुरलाई जीवनबाट रक्सी निकाल्न मन लाग्दैन?’ अलिकति मौनता, अलिकति हाँसो। यो प्रश्न उहाँको जीवनमा सायदै सोधिएको हुँदो हो। ‘ठूलो सागरमा मोती पनि हुन्छ, विष्ट पनि,’ उहाँले गहिरो जवाफ दिनुभयो। उहाँले मलाई कति भन्नुभयो र मैले कति बुझेँ थाहा भएन। तर, जति¬–¬जति बुझ्न खोज्छु उति–उति पुड्को बन्छु।
हुनैलाई त पिउनेहरू प्रत्येक दिन युद्ध लड्छन्, पिउने र नपिउने। कसैले जित्छन्, कसैले हार्छन्। संस्कार, संगत र वातावरणले निर्भर गर्छ। जसले बाजी जित्छ, उसले धेरै थोक हार्छ। जसले बाजी हार्छ, उसँग धेरै थोक छुट्छ।
पिउनु उति ठूलो अपराध गर्नु होइन, जति नपिउनेहरू भन्छन्। तर, यति चाहिँ पक्का हो, बडो मुस्किलले आर्जन गरेको साख पिएकै कारण छुट्न सक्छ। फिक्का लाग्छ उसको प्रोफेसन, रक्सीका अगाडि। फिक्का लाग्छ उसको मेहनत, रक्सीका अगाडि। फिक्का लाग्छ उसकोे बौद्धिकता रक्सीको अगाडि। र, फिक्का लाग्छ उसको जिन्दगी। आवरणमा जो देखिन्छ, ऊ रक्स्याहा हुन्छ। भलै ऊ संसारको सबैभन्दा महान मान्छे किन नहोस्।
अन्तर्राष्ट्रिय कविता सम्मेलन, इलाम। तीन दिनसम्म चलेको सम्मेलनको विश्लेषण गर्ने हैसियत हुँदो हो त, सम्मेलनमै मौका पाउँथे। म सम्मेलनमा ओगटेको दारुको हिस्सा लेख्दैछु। मलाई कसैप्रति लाञ्छना लगाउनु छैन। कसैको अनुहारमा हिलो छ्याप्नु पनि होइन। मेरो आलेख सकिँदासम्म कमसेकम एक जनामात्र प्रभावित भयो भने मेरो लागि त्यो सम्पत्ति हुनेछ।
नेपाल मात्र नभएर पाँच वटा देशका कवि इलाममा थिए। साहित्यलाई माया गर्नेको घुइँचो त हुने नै भयो। मेरो भागमा एक साँझको कवि गोष्ठी परेको थियो। अवसर बुझ्दै हल छिरेको म, बाहिरिँदा बुझाइ फरक पर्यो। हलभरि सम्मानित कविहरू थिए। साहित्यकारहरू थिए, साहित्यलाई माया गर्ने थिए र एकाध अन्य पनि। अधिकांश रक्सीले मातेका थिए। केही त यति मातेका थिए, समातेर मञ्च पुर्याइदिनु पर्थ्यो। र, मञ्चमा दर्शकट्टी फर्काइदिनु पर्थ्यो। कवि गोष्ठी कम र भघा मजाक बढी लाग्थ्यो। इलामका लागि सौभाग्य थियो। तर, इलामे कवि नै त्यसको धज्जी उडाइरहेका थिए। साहित्य सम्मेलन दारू सम्मेलनमा परिणत भयो। आलोचना र बेइजतीमा सकियो सम्मेलन। मलाई अहिले पनि लागिरहन्छ के हुन्थ्यो, सम्मेलनबाट रक्सी निकाल्न पाएको भए!
एक समय नेपालमा मदिरा घरायसी उपभोग हुन्थ्यो। अहिले त्योभन्दा बाहिर पनि पाउन थालेको छ। घरमा सीमित यसको उपभोग व्यावसायीकरण हुँदै गएको छ। नेपालमा जन्मदेखि मृत्यु संस्कारसम्मका काममा मदिराको प्रयोग गर्नुपर्ने अवस्थाका जाति–जनजाति छन्। नेवार समुदायमा बेल विवाह, ब्रतबन्ध, विवाह, दसैं–तिहार आदिमा पनि सगुनका रूपमा मदिराको प्रयोग अनिवार्य हुन्छ। श्राद्ध गर्दा वा गणेश कुमारको पूजा गर्दा मदिरा सगुनको रूपमा चढाउनुपर्ने चलन कतिपय जातिमा रहेछ।
सहरमा मात्र नभई गाउँघरमा पनि विवाह , पार्टी र भतेरजस्ता कार्यमा मदिरा प्रतिष्ठाको विषय बन्दैछ। कथमकदाचित मदिरा भएन भने कार्यक्रम नै खल्लो मान्नेको संख्या बढ्दो छ। हिजोआज त, बिहे भोजमा मात्र नभई पास्नी, न्वारान, गुन्युचोली लगायत सामान्य कर्ममा पनि मदिरापानको सौख बढ्दैछ। कतै पढेको थिएँ, भारतमा १०० जनामा एक जनाले रक्सी खान्छ भने नेपालमा हरेक दस जनामा एक जनाले रक्सी पिउँछन्। अर्थात् कुल जनसंख्यामध्ये ३० लाखभन्दा बढीले मदिरापान गर्ने गरेको आँकलन गर्न सकिन्छ। मदिरामा रक्सी र पानीको मात्रा निर्धारण हुन जरुरी मानिन्छ। २५ युपीको मदिरामा ४२ प्रतिशत रक्सी (अल्कोहल) हुन्छ। ४० युपीको मदिरामा ३४ प्रतिशत अल्कोहल हुन्छ। मदिरामा मिसाइने स्पिरिटको मात्राको घटबढले रक्सी विशाक्त हुन्छ।
हिजो अर्कै खालको समय थियो। आज परिवर्तन भएको छ। काम गरेर थकाई लागेको र परीश्रम भएको बेला सामान्य मदिराले खास असर पार्दैन थियो। बिना परीश्रम आज आदत विकास भएको छ। धेरै विज्ञहरू लत बसेकाहरूलाई मात्राका आधारमा पिउन उपयुक्त हुने सन्देश दिन्छन्। मानिसले तौल अनुसार मदिरा खानुपर्ने विज्ञको सुझाव छ।
खासगरी नेपालमा मदिरा तीन प्रकारको रहेछ। आयातित, स्वदेशी बियर र रक्सी। यो बाहेक नेपालमा घरेलु रक्सी उत्पादन गर्ने समूह र जाति पनि छन्। गाउँघर, सहर, बजार, गल्ली, बाटो, चौबाटो आदि जहीँतहीँ बिना अनुमति खुलेका मदिरा पसलहरू छन्। अरू व्यवसाय टिक्न नसकेको हाम्रो देशमा रक्सी व्यवसाय मज्जाले टिकाइदिएका छौं।
मैले गुगलको सहायताले खोजेँ। नेपालमा ५२ वटाभन्दा बढी रक्सी बनाउने उद्योग रहेछन्। सँगैमा छिमेकी देश भारतका ठूला राज्यमा १२ वटा मात्र सञ्चालनमा रहेछन्। भारतमा देशको जनसंख्याको २० प्रतिशतले मात्र माछा, मासु तथा मदिराजन्य पदार्थ उपभोग गर्दा रहेछन्। विश्व स्वास्थ्य संगठनले नेपालमा १४ वर्षदेखि ६० वर्षे उमेरका २९ प्रतिशतले मदिरापान गर्ने गरेको कुरा केही वर्षअघि गरेको अनुसन्धानले देखाएको छ। त्यो हिसाबलाई आधार मान्ने हो भने अहिले नेपालमा ४५ प्रतिशतभन्दा बढी मदिरापान गर्नेहरू हुन सक्छन्।
कान्तिपुर दैनिकको एउटा समाचारमा लेखिएको छ, मदिरामा आ.व. २०७२÷७३ मा साढे नौ अर्ब बैंकिङ लगानी भएकोमा आ.व. २०७३÷७४ को भदौसम्म ९ अर्ब ७५ करोडभन्दा बढी लगानी भएको देखिन्छ। उद्योग विभागले उद्योग खोल्न दर्ता गरी बैंकहरूले लगानी गर्दै आउँदा पनि वाणिज्य विभागले आ.व. २०७२÷७३ मा दुई अर्बभन्दा बढीको मदिरा आयात गर्न इजाजत दियो। सरकारी निकायबीच नै राजस्व असुल्ने हानाथापले नागरिकको स्वास्थ्यप्रतिको जिम्मेवारी भनेको रामराम नै हो।
यस्तो छ यो मामलामा सरकार पनि।
एक जना सम्मानित तर प्रिय लेखक, मेरो घर जाने भए। म मा यतिधेरै खुसी सञ्चार भएको थियो, लेख्न शब्द नै भेट्दिनँ। मसँग एउटा लोभ पनि थियो। उहाँसँग सुन्ने र सिक्ने, जति समयले पुग्छ। हामी साँझ घर पुग्यांै। हामी पुग्दा खाना ठिक्क थियो, उहाँले तुरुन्तै खान मान्नुभएन। बरु बोतल निकाल्नुभयो रक्सीको। ‘गाउँमा त दामी मह पाइन्छ नि!,’ उहाँले सोधेपछि मैले आमातिर हेरेँ। आमाले सिसीबाट मह निकालेर दिनुभयो। थप बोल्नुुभन्दा पहिले नै मैले तातोपानी दिएँ र कोठातिर लागेँ।
उहाँ मैले गर्ने सम्मानमा मह र तातोपानी मिसार पिउँदै हुनुहुन्थ्यो। सायद मेरा बा–आमाको मनमा पनि त्यै खालको तरंग हुँदो हो। राति झन्डै साढे १२ बजे उहाँसँग बसेर खाना खाएँ। त्यसपछिको उहाँको हर्कत मैले नलेख्न उचित होला। तर, यति चाहिँ लागिरह्यो, के हुन्थ्यो त्यो रात उहाँबाट रक्सी निकाल्न पाएको भए!
मानिसका जीवनमा थुप्रै शिक्षकहरू आउँछन्। हरेक दिन हरेक परिस्थिति पाठशाला बनेर उभिन्छ। राम्रा लुगा लगाएका, राम्रा कुरा गर्ने मान्छेको संगतले जीवनको ट्रयाक कहाँ पुग्छ आफैंलाई थाहा हुन्न। त्यस्तै रहेछ रक्सी पनि। लहडै लहडमा प्रिय लाग्ने, छोड्न नसक्ने। एक दिन छुटे पनि ‘मिस’ हुने। र, मिस भएन भने बाँकी धेरै थोक ‘मिस’ हुने।
मैले थुप्रो ठाउँमा सुनेको छु। सुरूमा डरमा, त्यसपछि लहडमा र पछि रहरमा रक्सीको आदत बस्छ रे। जब आदत बस्छ, दिमाग चल्न छोड्छ। मदिराको नशाले तरंग ल्याई बरबराउने, हो–हल्ला गर्ने, हुल–हुज्जत गर्ने, रिसइबी साँध्ने, संक्षेपमा द्वन्द्व बढाउनेतर्फ मान्छे अग्रसर हुन्छ। बडो मुस्किलले जोगाएर ल्याएको साख, प्रतिष्ठा र इज्जतमा प्रश्न चिन्ह लाग्छ।
के अर्थ प्रतिष्ठाको? के अर्थ इज्जतको? र, के अर्थ तपाईंको? जे गर्न वा जसका लागि रक्सी नखाएको बेला मेहनत गर्नु हुन्छ। एक पेगमा आफ्नै सपनामा पानी किन फ्याँक्नु हुन्छ। तपाईंका कारण तपाईंका बुबाले शिर ठाडो पार्न सक्नु भएन। तपाईंका कारण तपाईंकी श्रीमतीले इज्जतको जिन्दगी पाइनन्। तपाईंका छोराछोरी तपार्इंलाई बुबा भन्न लजाउँछन्। समाज तपाईंमा लाज मान्छ, घृणा गर्छ। अब भन्नुहोस्, तपाईं हुनुको तात्विक अर्थ के रह्यो?
श्रीमतीले सँगै सपिङ जाउँभन्दा नभ्याउने तपाईं, कहिलेदेखि एक्लाएक्लै रेष्टुरेन्ट जान भ्याउने हुनुभयो? परिवारलाई लिएर बाहिर खाना खान जान नसोच्ने तपाईं, कहिलेदेखि साथीसँग बाहिर खान थाल्नुभयो? असल श्रीमान् पर्खेर कति रात भोकै बस्लिन् तपाईंकी श्रीमती? कहिलेदेखि तपाईंका छोराछोरीलाई जिस्क्याउन छोड्लान साथीहरूले? र, कहिले गर्ब गर्ला समाजले तपाईं हुनुमा?
बरु थोरै बाँचियोस्, तर इज्जतका साथ बाँचियोस्।