प्रधानमन्त्री ज्यू नमस्कार।
म यो देशको भलो चाहने एक साधारण नागरिक हुँ। तपाइँ पहिलो पटक प्रधानमन्त्री हुँदा भारतले हामीमाथि लगाएको नाकाबन्दीको विरूद्धमा तपाईँले जुन अडान र अभिब्यक्ति राख्नुभयो त्यसबाट प्रभावित भएर मैले तपाईलाई समर्थन गर्दै ३ वटा लेखसमेत लेखेको थिए।
१. प्रधानमन्त्री ज्यू केरूङ्गको बाटो फराकिलो पार्नुहोस् नजता श्रमदान दिन तयार छन्
२. भारत जान लागेका प्रधानमन्त्रीका नाममा खुलापत्र
३. दलाली मामाभन्दा उखाने मामानै सही
त्यस्तै आज यो चौथो खुलापत्र खेल्दैछु।
लामो महाभारत र स्वस्थानी जस्तो गन्थन लेखेर म तपाईँको समय बर्बाद र दिमाग चिढ्याउन चाहन्नँ।
तपाईँको बारेमा यो खुलापत्र लेख्नुका कारणलाई बुँदागत रूपमा राख्ने प्रयास गरेको छु :
१. तपाईँले पहिलो पटक प्रधान मन्त्री हुँदा घोषणा गरेको तुईन विस्तापित परियोजना कहाँ पुग्यो? कतिवटा तुईन विस्थापित भए र अब कति हुन बाँकी छन्?
२. तपाईँको सरकारले आफैं घोषणा गरेको यातायात सिन्डिकेट खारेजी कहाँ पुग्यो?
सुनिदैछ सिन्डिकेट खारेजी तुहियो नै पहिलेको सरकारले बन्देज गरेका (२० वर्षे गाडी उपत्यकामा चल्न नपाउने र बिपी राजमार्गमा ठूला सवारी चलाउन नपाउने) नियम समेत उल्ट्याउन तपाईँका मन्त्री लागिपरेका छन् रे हो?
३. तपाईँको सरकारले नै स्वघोषणा गरेको काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने काम किन रोकियो र कसले रोक्यो?
४. बहुचर्चित ३३ किलो सुनकाण्ड एकाएक सेलाउनुको रहस्य के हो? को-को मुछिँदै थिए र अनुसन्धान रोकिएको हो?
५. राष्ट्रपतिले १८ करोडको गाडी चढ्नुपर्ने आवश्यकता हो कि बिलासिताभोगी? राष्ट्रपति भवनले कति रोपनी जग्गा ओगेट्नु पर्ने हो? यसमा सरकारको भूमिका कस्तो हुनुपर्ने थियो?
६. तपाईँको सरकारको प्राथमिकता अन्याय गर्ने अपराधी पक्रने हो कि न्याय माग्दै सडकमा भौतारिने जनतालाई पक्राउ गर्ने हो? ४ महिनादेखि बेखरबर निर्मलाका हत्यारा नदेख्ने तपाईँको सरकार उनको न्याय माग्दै शान्तिपूर्ण रूपमा पोस्टर टाँस्ने जनतामाथि जाइलाग्नुको कारण के हो? निर्मलामात्र होइन तपाईँको सरकार सुरू भएदेखि नै देशमा यति धेरै बलात्कारका घटना बढेका छन् कि मानौ देशमा बलत्कार महोत्सव चलेको छ। यसमा सरकार किन गम्भीर देखिदैन? किन कुनै प्रभावकारी नीति ल्याउन जरूरि ठानेको छैन?
७. प्रमज्युले भाषण धेरै गर्नु भयो। तर यहाँ भाषण गर्ने मान्छे चाहिएको होइन। काम गर्ने मान्छेको खाँचो हो। आफैंले अब यस्तो गरिन्छ उस्तो गरिन्छ भनेर उद्घोष गर्ने अनि आफैं ब्याक हुने यसले तपाईँको सरकारको छबि कस्तो बनाउँदै छ?
सुन्दा आनन्दित लाग्ने कुरा त यहाँ धेरैले गर्छन्। तपाईँभन्दा पहिला नेपालमा तपाईँले जस्तो मिठा कुरा गर्ने कुनै नेता नभएको होइनन्। नेतामात्र किन, कुरा त लेखक, पत्रकार, शिक्षक, प्राध्यापक, विश्लेशक, कलाकार, कर्मचारी, मजदुरदेखि दलका कार्यकर्ता, किसान गोठाला सबै अहिले राजनीतिक रूपमा सचेत भइसकेका छन्।
कुरा मिठा गर्ने भइसकेका छन्। जनता जता पुगे पनि कुरा गर्न सक्नेको अभाव देख्नुपरेको छैन। सबैले कुरै मात्र गरिरहेका छन्। तपाईँ एक जना पनि कुरा मात्र गर्ने हो भने काम कसले गर्ने?
८. बहुविवादित एसिया प्यासेफिक सम्मेलनमा तपाईँको उपस्थिति र भूमिका देख्दा हामी यो देशलाई मायाँ गर्ने जनताको शीर ग्लानीले झुकेको छ।
के एउटा धर्म प्रचार गर्ने प्रमुख (भित्रि) लक्ष्य रहेको विवादित संस्थालाई त्यत्रो प्रथामिकता दिनु जरूरि थियो?
हिजो नाकाबन्दीमा देखिएको तपाईँको राष्ट्रवाद यति चाडो खुइलिएको हो? कहाँ गयो तपाईँको त्यो राष्ट्रवाद?
तपाईँ आफ्नै बुद्धिमा चलिरहनु भएको छ कि कुनै सल्लाहकारको सल्लाहमा ? कस्ता सल्लाहकार राख्नु भएको छ तपाईँ जसले तपाईकै राजनैतिक अबशान गराउँदै छन् र देशको शीर झुकाउँदै छन्।
प्रधानमन्त्रीज्यू मेरो सोझो बुझाईमा राष्ट्र भनेको केवल भूगोल होइन। भूगोल, जनता, ईतिहाँस, धर्म, दर्शन, संस्कृति, रहनसहन सबैको समग्र रूप हो। भूगोलले यहाँ खुट्टा टेक्न दिन्छ। ईतिहाँस, धर्म, दर्शन, संस्कृति र रहनसहनले जनतालाई बाँच्न सिकाउँछन्। बाँच्नुको अर्थ दिन्छन्। आदर, अनुसाशन र करूणा सिकाउँछन्। जनतालाई एक अर्कामा जोड्छन्। परिवार र समाजलाई एक ढिक्का बनाउन मद्दत गर्छन्।
तर, तपाईँले यो पूर्वीय दर्शनको उद्गम थलो जँहा ऋषिमुनीहरुले ध्यान गरेर हाम्रो दर्शन हामीलाई हस्तान्तरण गरे। जहाँ बुद्ध जन्मेर बुद्वत्व प्राप्त गरि संसारभरी ज्ञान फैलाए। यो ऋषिमुनी, पशुपति र बुद्धको भूमिमा कुनै बाहिरी धर्म प्रचारक संस्थाले यत्रो महत्व पाउनुलाई सामान्य रुपमा लिन सकिदैन।
‘मै येसुको मान्छे हुँ। मेरो सन्तान संसारभर फैलाउँछु’ भन्दै ४०० महिलासँग यौन सम्पर्क राख्ने र त्यतिले नपुगेर आफ्नो विर्य रक्सीमा मिसाएर निर्दोष मान्छेलाई खुवाउने व्यक्ति, विभिन्न आपराधिक क्रियाकलापमा विभिन्न देशमा सजाय भोगिसकेको ब्यक्ति (विभिन्न पत्र पत्रिकामा प्रकाशित) र उसको दर्शन तपाईँलाई हाम्रो ऋषिमुनी र बुद्धको दर्शन भन्दा उचित र बैज्ञानिक लागेको हो?
के यो हाम्रो माटोको माग हो? यसमा राज्य संयन्त्र नै लम्पसार पर्नुपर्ने बाध्याता के हो प्रमज्यू?
यो जन जनको प्रश्न हो जसले तपाईँलाई भोट हालेर आज त्यहाँ पुर्याएका छन् उनीहरूको प्रश्न हो।
सामाजिक सञ्जालमा विवादित यो सम्मेलनको चर्को विवाद भइरहँदा केही नेकपाका कार्यकर्ता गल्ति महसुस गर्नुको साटो उल्टो प्रतिरक्षामा उत्रेको समेत देखियो।
उनीहरुको तर्क छ-हिजो गिरिजा, बाबुराम आदिले पनि यस्तो अवार्ड थापेका थिए। यो उहाँहरूको विवेक बोलेको होइन चाप्लुसीको लत बोलेको हो।
यस्तै चाप्लुसीले पनि नेतालाई गलत बाटोमा हिड्न प्रेरित गरेको छ। ती कार्यकर्तालाई मेरो प्रश्न - हिजो जे जे गल्ति भयो तपाईँहरू पनि त्यही त्यही गल्ति गर्ने हो भने किन जनताले तपाईँहरूलाई भोट दिने? ‘हिजोकाले जे जे गरे तिमीहरु पनि त्यही त्यही गर’ भनेर जनताले २ तिहाई मत दिएका हुन्?
हिजो जनयुद्वकालमा मान्छे मारिएका थिए। के अब नेकपाले पनि मान्छे मार्दै हिड्नु पर्ने होर? हिजो नेपालमा सतिप्रथा थियो के हामी अब सतीप्रथा ल्याउने होर? देश बनाउँछु भन्ने मान्छेले सक्नुहुन्छ भने तर्क गर्नुहोस कुतर्क गरेको सुहाउँदैन।
यसै सम्मेलनको ब्यापक विरोध हुँदा प्रधानमन्त्रीज्यूले स्वयम् भन्नुभएछ, ‘मैले जवाफ दिनुपर्यो भने बुद्धिजिविहरु थला पर्छन्।’
प्रधानमन्त्रीज्यू बुद्धिजिविको चिन्ता फुर्सदमा गरौंला अहिले देशको चिन्ता गरौं। देश थला नपरोस्। नेपालको ईतिहाँसमा सबैभन्दा शक्तिशाली २ तिहाई प्राप्त सरकारको यही गति र यस्तै क्रियाकलाप चलिरहने हो भने देश थलापर्ने निश्चित छ।
असल नेताले आलोचनालाई स्वागत गर्छ। त्यसबाट सिक्ने र सच्चिने अवसरका रुपमा लिन्छ। तर, तपाईँको अभिव्यक्तिले तपाईँले नै यत्रो वर्ष लडेर प्राप्त गरेको ‘अभिब्यक्ति स्वतन्त्रता’ कै विरूद्ध देखियो। के जनताले सरकारका कुनै क्रियाकलापमा प्रश्न उठाउन नपाउने लोकतन्त्र ल्याएको हो हामीले?
प्रधानमन्त्रीज्यू तपाईँका अहिलेका व्यवहार र अभिव्यक्ति हेरेर जनताले दुई तिहाई भोट दिएका होइनन्। नाकाबन्दीको त्यो केपी ओली सम्झेर दिएका हुन्।
अर्को महत्वपूर्ण कुरा सडकमा बिरोध गर्नेजति सबैलाई तपाईँ बिपक्षी देख्नुहुन्छ। तर, विचार गर्नुहोस् यो देशमा कांग्रेस कम्युनिष्टसँग कुनै सरोकार नराख्ने, तर देशलाई मायाँ गर्ने तप्का पनि छ।
तपाईँका कार्यकर्ताले मात्र भोट दिएर तपाईँको दुई तिहाई पुग्दैन। तपाईँ र तपाईँको पार्टीलाई स्वतन्त्र जनता र अन्य दलका कार्यकर्तालेसमेत त्यो बेलाको केपी ओली ठानेर विश्वास गरी भोट दिएका हुन्।
देशलाई न्याय, शान्ति र सम्बृद्धि चाहिएको हो। धर्म संस्कृतिका हामी ऐतिहासिक धनी छौं। हामीसँग भएको दर्शन र संस्कार बचाएर राख्न पाए पुग्छ।
कसैले स्वविबेक प्रयोग गरेर जुनसुकै धर्म अङ्गालोस् त्यसमा हाम्रो आपत्ति होइन। तर, अर्काको आस्था र धर्मलाई घृणा जगाएर, सोझा साझालाई विभिन्न प्रलोभन देखाएर, भ्रम छरेर जबर्जस्ती आफ्नो धर्ममा तान्ने लहरप्रति हाम्रो आपत्ति छ। त्यसमाथि झन् सम्पूर्ण राज्य संयन्त्रनै उनीहरुको प्रबर्दनमा लम्पसार पर्नुमा हाम्रो घोर आपत्ति छ।
देशको थप आवश्यकता पूर्ति गर्न सक्नुहुन्न, न्याय नपाएर विक्षिप्तलाई न्याय दिन सक्नुहुन्न र आफैंले घोषणा गरेका देशविकास सम्बन्धि कामहरू गर्न सक्नुहुन्न भने बाटो खाली गरिदिनुहोस्। तर हामीसंग पहिल्यै भएका कुरा खोस्न/ बिगार्न तर्फ नलाग्नुस्।
हामीलाई हाम्रो धर्म संस्कृति हाम्रो प्राणभन्दा प्यारो छ। यो जनताको चेतावनी हो प्रमज्यू कुनै प्रतिपक्षको होइन।
प्रधानमन्त्रीज्यू समय छोंटो छ। यो महान अवसर हो। एक दिन आफ्ना सल्लाहकार सबै छोडेर हाम्रा स्वर्ग जस्ता मनोरम डाँडाकाँडामा एक्लै जानुहोस र ठण्डा दिमागले सोच्नुस् तपाईँ कता जाँदै हुनुहुन्छ?
आफैं हिँड्दै हुनुहुन्छ कि कसैले घिसारिरहेको छ? जनतालाई ठम्याउन गाह्रो पर्यो तपाईँ त्यही नाकाबन्दीताकाको केपी ओली नै हो त?
- महेश आचार्य