प्रिय बिष्ना!
तिम्रो देहत्यागको खबरले आज सारा नेपाली स्तब्ध छन्। जीवनभर निबेक गर्दा गर्दै खुशी र सुखी जीवन बाँच्ने तिम्रो सपनासँगै तिमीलाई दैवले चुडेर लग्यो। हो हामीले हिजै हो तिमीलाई चिनेको तर, कति छिटो तिमी सारा नेपालीको प्रिय हुने बित्तिकै निष्ठुरी देवताको प्रिय भयौ।
तिमी रविकी कर्म दिने आमा मात्र नभएर तिमी सारा निमुखा र दुखिया नेपालीको आमा बन्यौं। बिष्ना तिमीले कलिला ठेट्ना पत्रकार र य़ुटुबरका तुच्छ प्रश्नहरुको सामना गर्दा तिम्रो अनुहारमा आएको अबोध लज्जा, मुस्कान र मौनता नै हाम्रो लागि सटिक र शक्तिशाली जवाफ बनेको थियो। पुरानो नेपाल र नयाँ नेपाल दुवैबाट ठगिएका निमुखा नेपालीको प्रतिक थियौ तिमी बिष्ना। तिम्रो शालीन अनुहार र ग्रामीण सादगी अनुहारमा झल्झली नाँचिरहेछ।
तिमी जस्तै हज्जारौ रविका आमाहरू आज पनि सपना देख्न सक्दैनन्। चाहे खाडीको चर्को घामसँग जीवन साट्ने छोराहरु हुन् या दिल्ली-बम्बईका होटल, कोइलाखानीदेखि कारखानासम्म मजदुरी गर्ने छोराहरु हुन्, ती सबै तिम्रा रविहरू हुन् अनि तिमी उनीहरूको आमा भयौ। बा-आमालाई खुशी र सुख दिने अभिलाषाले सात समुद्रपारी लतारिने छोरा-छोरीको पनि तिम्रै सन्तति हुन्।
सुदूरपश्चिममा जुङ्गाको रेखी नबस्दै मुग्लान पस्नुपर्ने बाध्यताले लस्करै निस्कने कलिला रविहरु र वर्षौ सुखी जीवनलाई मिथ्या मानेर भारतका मालिककोमा चौकीदारी गरेर परिवारको पेट पाल्ने रविका बा'हरू सबैका लागि तिमी ऊर्जा थियौं र रहनेछौं।
प्यारी बिष्ना!
तिमी जस्तालाई सपना देखाएर तिम्रा रवि जस्तै प्यारा छोराहरूलाई बलि चढाएर नयाँ नेपालको गफ दिने कसाईहरू निर्लज्ज प्राडो पजेरो सयर गर्दा तिम्रो घरमा बत्ति बल्दैन भनेर कुनै दिन सोध्न आए? तिमीले खाएको नखाएको कुनै दिन बुझ्न आए? कहाँ जनताको करबाट वातानुकुलित चार पाङ्ग्रे चढ्ने भोगी नेता कहाँ पुरस्कार पाएको गाडीको सट्टा त्यो रकमले बा-आमालाई राम्रो घर बनाएर सुख र खुशी दिएर राख्छु भन्ने रवि...तुलना गर्न पनि नमिल्ने! मानवीय समाजमा यो भन्दा लज्जा के होला र।
अहो! मेरो छोराछोरी अष्ट्रेलिया-अमेरिका-क्यानडामा यति कमाउँछन्, नेपालमै यति कमाउँछन् ह्यानत्यान आदि गफ चुट्ने फुटानी-वीर नेपाली दम्पत्तिहरूको लागि तिम्रो जीवनयापन करूणा जगाउने साधन बनिदिनुपर्ने? टुटेफुटेको नेपाली शब्दको उच्चारणले तिम्रो सीमित चौघेरोको बोध गराइदिनुपर्ने?
तिम्रो थोत्रो मजेत्रो र पट्पटि फुटेका हातका औंलाहरू शहरिया नेपालीलाई 'कठै' जगाउने कथा बनिदिनुपर्ने? तिम्रो संघर्षका इतिहास र वर्तमान चिया पसल र भट्टिमा गफाडी नेपालीलाई गफको विषय बनिदिनुपर्ने? कति छिट्टै कति धेरै कुरा देख्यौ है तिमीले। तिम्रो जीवनको उत्तरार्ध कस्तो तुफानले भरिएको रहेछ। तिरस्कारदेखि पुरस्कार, मान सम्मानको यात्राको गति सुनामी भन्दा छिटो रहेछ।
ढोंगीदेखि सच्चा सबैलाई एकै चोटि भोग्यौ है तिमीले। जीवनभर तिमी जस्ता लाखौ बिष्नाहरुलाई बिर्सिएर चीर निद्रामा सुतेको जाली शासकहरु बस्ने पापी काठमाडौं पनि देख्यौ हगि तिमीले। त्यही काठमाडौंमा दीन दुःखी, निर्धनीलाई प्रेम गर्ने मनकारी नेपाली छोराछोरीको अपार स्नेह जयजयकार पनि देख्यौ हगि तिमीले।
अभाव र तिरस्कारबीच श्रीमानलाई बुढेसकालसम्म पनि मुग्लान पठाउनुपर्दा तिम्रो स्वाभिमान कहिल्यै डगमगाएन न त राज्यलाई अपेक्षा सुनायौ....। न यो देश मेरो होइन भन्यौं। प्रत्येक बिहानीसँगै नविन हुने ती कलिला लालाबालासँगको प्रेम तिम्रो जिउने साहसको आधार थियो होला।
जीवनभर परिश्रम र जटिलतासँगै पैंठेजोरी खेल्दा पनि मुस्काउन सक्ने तिम्रो क्षमतामा सारा परिश्रमी छोराछोरीहरुले आफ्नो मातृत्व महसुस गरे। देश-विदेश जहाँ रहे पनि हामी नेपाली एकै आमाका सन्तान हौ भनेर महसुस गर्न पनि तिमि नै अगाडि आउनुपर्यो बिष्ना।
प्रकृति र ईश्वरको नियम पनि कति क्रुर हुने रहेछ? महाकवि देवकोटाको घरमा यस्तै बज्रपात पर्दै गएपछि नाटककार बालकृष्ण समले – ‘दुखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझ दुख दे’ भनेर यसै भनेका होइनन् भन्ने सत्य बोध यो दुर्घटनाले गरायो।
कतै रविको जीत, खुशी, प्रगतिको लागि आफ्नो प्राण साट्ने कामना त गरेकी थिएनौं निष्ठुरी दैवसँग? कति बिराट मातृत्व तिम्रो बिष्ना?
नवधनाढ्य र पुराना नेपाली/बिदेशी साहुहरू बिजुली र हाइड्रोपावरको लगानी, नाफाको हिसाब क्यालकुलेटरमा नअटेको तिमीजस्ता लाखौ बिष्नाहरुलाई कसरी थाहा हुन्थ्यो र? बिजुलीको मुनाफाको लागि सरकार ढालिन्छ, मन्त्री बिक्रि हुन्छन् यहाँ बिष्ना। त्यो इन्द्रजाल तिमीले कसरी बुझ्नू? तिमीले जीवनभर घरमा कहिल्यै बिजुली पाइनौ जहाँ बुझेका मानिस बिजुलीसँग तर्सिन्छन्, सजग-सतर्क हुन्छन् त्यही बिजुलीले ज्यान लिनु त्यही नै तिम्रो असीम अबोधता मानक होइन र? त्यो भौतिकता प्रतिको तिम्रो निच्छलताको धोतक होइन र?
तिमीले शारीरिक मृत्युवरण गरे पनि तिमी सिमान्तकृत नेपाली, परिश्रमी र मनकारी नेपालीको मन मस्तिष्कबाट कहिल्यै टाढा हुने छैनौं।
तिमीले द्रव्य र पैसाको पछाडि एकोहोरो भएर भाग्न बाध्य नेपाली समाजलाई एकपटक झक्झकाई दियौं।
खाडी, युरोप, अमेरिकाको हल्लाखल्ला भित्र हराएको भारत भासिने परदेशी नेपालीहरुको पुरानो कथा-ब्यथा देखाइदियौं। नेपाल भित्र नदेखिएको अर्को नेपाल देखाइदियौं। अब तिमीले हजारौ रवि पाइसकेकी छौं।
आज हामी शोकाकुल नेपालीजन सबै रविको साथमा छौ। अर्को जुनीमा तिमी रविको वास्तविक आमा बनेर आउनेछौ, हामीलाई पुरा बिश्वास छ। तिमी केही समय पहिला रविको मात्रै आमा थियौ जाँदा जादै तिमी नयाँ नेपालको आमा बनेकी छौ।
तिमीलाई जति नै श्रद्धा अर्पण गरेपनि कहिल्यै सकिन्नँ। नयाँ नेपालको समतामुलक समाजको सपना देख्ने कर्मठ नेपाली सबैको लागि तिमी प्रेरणा बनेर रहनेछौं बिष्ना। तिम्रो बैकुण्ठबासको कामना सहित ....अलबिदा बिष्ना!