चल्तीको नेपाली कानुनले बीस बर्ष नपुगी विहे गरे त्यसलाई गैरकानुनी हुने भनेको छ। तत्कालै कानुनी बैधानिकता नचाहानेहरुले बीस बर्ष नपुग्दै विवाह गरिरहेकै छन्। यो कानुन लागु भएपछि पनि मागेर होस या भागेर, बिस बर्ष नपुगी बिहे गर्ने क्रम रोकिएको छैन। पन्द्र बर्ष समेत नपुगि आम बन्न लागेकी चितवनको चेपाङ समुदायकी बालिकाको बारेमा केही समय अगाडि सञ्चारमाध्यममा समाचार नै आएको थियो। उनको सुरक्षित प्रसुतिका लागि सरकारले सहयोग नै गर्यो।
नेपाली समाजमा बीस बर्ष नपुग्दै छोरीको विवाहका लागि प्रसंग चल्नु सामान्य हो। शिक्षित परिवारमै हुर्केका धेरैजसो छोरीको विवाह पच्चीस बर्ष नपुग्दै भैसक्छ। छोराको विहे ढिला गरे केहि हुदैन छोरीको विवाह बेलैमा गरिदिहाल्नु पर्छ भन्ने चिन्तन हाम्रो समाजमा अझै छदै छ।
घरमा पाहुना आउदा विहेको प्रसंग चल्नु खस्सै नौलो हैन। पाहुनाको जिज्ञासा टार्न संगै पढेका साथिहरुको विहे भएको छैन वा पढाइ सकिएको छैन भन्नु बाहेक अरु विकल्पै हुदैन। पन्द्र सोह्र बर्ष मै विहे गरेका बुवा हजुरबुवा पुस्तालाई नातिनातिना पच्चीस कट्नु भनेको विहेका लागि उमेर गैसक्यो ठान्नु स्वाभाविक नै हो।
जब टोल छिमेकमा आफ्नै उमेरका साथीभाइको धमाधम विहे हुन थाल्छ त्यसको असर बिहे गर्ने उमेरका सबैलाई पर्दो रैछ। छोरामान्छेलाई तीस बर्षसम्म टार्न सजिलै छ तर छोरीमान्छेको हकमा कुनै बाहाना चल्दैन, बाबुआमाको निर्णय नै अन्तिम हुन्छ।
आफ्न्त भित्रका उमेरले आफूभन्दा कान्छो व्यक्तिको बिहे हुन थालेपछि भने मनमा एक प्रकारको चिसो पस्ने रैछ। के म साच्चै विहे गर्दीन ? वा बिहे किन आवश्यक छ ? जस्ता प्रश्नहरु मनमा आउदा रैछन्।
बिहेको बारेमा सोच्न बाध्य पार्ने अर्को कुरा, बिहे गर्दिन भन्ने साथीहरुले विहेका फोटाहरु सामाजिक सञ्जालमा पोष्ट गरेपछि हुदो रैछ। जिन्दगीको यात्रामा देखे भोगेका सुखदुख साट्न होसा या बुढेसकालको एक्लोपन मेट्न होस, मन मिल्ने साथि चाहिने रैछ क्यारे भन्ने आभास हुदो रैछ।
दशैंको टिको लगाउदा आमाले यसपाली चाहि बुहारी भित्¥याउन पाइयोस भनेको दुई तिन बर्ष भैसक्यो। यो क्रम अझै जारी छ। विगतका बर्षहरुमा विहेका प्रशंग चल्दा खास्सै वास्ता गरिएन। अब चहि आफन्तको चासो, साथीहरुको प्रश्नले विहे गर्नुपर्छ क्यारे जस्तो लाग्ने रैछ। तीस बर्षबाट उकालो चढ्न थालेपछि विहेबारेका जिज्ञासा आफैले सामना गर्नुपर्दा चाहि विहे गर्न ढिला भैसक्यो कि क्याहो भन्ने जस्ता तर्कहरु मनमा आउदा रैछन्।
विहेको बारेमा प्रशंग चल्दै गर्दा, विहे गर्न प्रेमी वा प्रेमीका नहुदा पनि यसप्रतिको आकर्षण खास्सै नहुदो रैछ। प्रेम सम्बन्धमा भए पो, बाआमाले अन्तै बिहे गरिदेलान भन्ने डर। एक्लो ज्यानलाई के को डर ! भन्ने पनि हुदो रैछ।
प्रेम सम्बन्धमा रहेका मेरा साथिहरुले प्राय स्नातकोत्तर पढ्दा पढ्दै विवाह गरे। कत्ति साथिले स्नातकोत्तर सकिने वितिक्कै विवाह गरे।
मागी विवाहमा हुने सर्तका कारण म आफैले आफन्तबाट ल्याइएका प्रस्तावहरु अस्वीकार गरिदिएको छु।
हिन्दु परिवारमै जन्मिएको भएतापनि धार्मीक गतिविधिप्रति मलाई कुनै मोह छैन। गिता, बाइवलका किस्सा पढियो, रामायण महाभारतको कथामा बनेका धार्मिक फिल्महरु हेरेको छु। तर ति सबै मनोरञ्जनका रुपमा। हो, कुनै दिन धर्मको साहरा लिनु परे आफुलाई सुहाउदो धर्म छानौला। तर, बलियो बाङ्गो छञ्जेल नास्तिक नै सहि।
मानिस जति बुढो हुदै जान्छ उलाई आफुमाथिको विश्वास र आत्मबल विस्तारै घट्दै जान्छ भनिन्छ। उ जति कमजोर हुदै जान्छ धर्मप्रतिको उसका आस्था पनि बढ्दै जाने रैछन्। बुढ्यौलीसंगै उसका धार्मिक गतिविधिहरु बढ्ने रहेछन्। यि यस्ता गतिविधिहरु हेर्न टाढा जनु पर्दैन , हाम्रै समाजमा प्रसस्त देख्न सकिन्छ।
पुराणहरुमा उल्लेख गरिएको स्वर्ग र नर्कको व्याख्याका कारण मानिस आफुले गरेका दुस्कर्मबाट मुक्त हुन चाहान्छ। आफ्ना विगतका कमी कमजोरीलाई उसले पाप गरेको ठन्दछ। त्यही पापबाट मोक्षप्राप्तीका लागि उ, पुराण यज्ञ, तथा तिर्थ ब्रतको साहारा लिन्छ। कतिपय मान्छेहरु बुढेसकालको पट्यार लाग्दो समय विताउन पनि भजन कृर्तनको साहार लिन्छन्।
खैर, मलाई कुनै धर्मप्रति बैभाव छैन। बरु हरेक धर्मका मानिसप्रति मेरो सहानुभुती छ।
जग्गेमा धान चामल पोलेर रुपैयाँ खर्च गर्दा त्यसबाट के फाइदा ? जन्तीले त भोज खाउन्जेल मिठो भन्लान, घर पुगेपछि आफुले खाएको कुनै न कुनै परिकारमा खोट देखाइहाल्छन। त्यसैले विवाहमा हुने तामझाम, भोजभतेर र रुपैयाँको दोहन क्षणिक सुख हुन भन्ने लाग्छ।
विहेको बारेमा विद्धवानहरुको भनाईलाई यहा जस्ताको त्यस्तै प्रस्तुत गर्न चाहान्न। कितावमा लेखिएका बिहे सम्बन्धी भनाइ वास्तविक जिवनमा कति मेल खान्छ खादैन थाहा छैन। भनिन्छ, सिद्धान्तबारे छलफल गरिरहदा दिनको अन्त्यमा हरेक व्यक्ति वास्तविक जिवनमा अवतरण गर्नुपर्छ।
त्यसैले बिहे भनेको गर–गहनाको सजिसजावट , जन्तीको भिड, भोजभतेर मात्रै हैन। यि त सब क्षणिक भौतिक सुख हुन। यथार्थमा बिहे भनेको पुरुषले महिलालाई र महिलाले पुरुषलाई स्वीकार्नु हो। आजको आधुनिक युगमा विवाहको दायर बढेर आफुलाई मन परेको व्यक्तिसंगको सह–अस्तित्वसंग जोडिएको छ। यो एक अर्काप्रतिको जिम्मेवारी बोध हो। आपसमा विश्वास कायम गर्नु हो। साथै यो सम्बन्धमा रहदाको सहकार्य हो।
विवाहलाई विद्ववानहरुले समाजिक बन्धन पनि हो भनेका छन्। एक अर्काप्रतिको विश्वास र जिम्मेवारी कायम राख्न सके न यो बन्धन हुन्छ, न त सम्झौता। हरेक मानिस प्रकृतिको उत्कृष्ट सृजना हो। उसमा विभिन्न गुण र क्षमता हुनु आफैमा मानविय विशिष्टता हो।
आपसमा बैचारिक बिभेद हुनु सामान्य हो। तर, बैचारिक बिभेदका कारण मनमा कुंठा पाल्नु भनेको वैवाहिक जिवनको विग्रह हो।