भेनेजुएलामा भएको १८९२ को गृहयुद्ध पश्चात आफ्नो देशका नागरिकले गुमाउनु परेका जीउ धनको विषयलाई लिएर बेलायत र जर्मनीले क्षतिपूर्ति दिन दवाव दिए। खास गरी जर्मनी लगानी र बैंकिङ क्षेत्रको नोक्सानी माग गरे। नाकाबन्दी र आर्थिक तनाव बिच गुज्रिरहेको भेनेजुएलालाई महादेशको ठूलो छिमेकी संयुक्तराज्य अमेरिकासँग साथ सहयोगको अपेक्षा थियो। तर, उसले मध्यस्तकर्ताको भूमिका निर्वाह मात्र गर्यो। सन १९०३ सम्मको आर्थिक नाकाबन्दी र सैन्य सन्त्रास भित्र राख्दै भेनेजुएलालाई आफ्नो बाह्य करबाट आउने ३० प्रतिशत रकम बेलायत र जर्मनीलाई बुझाउनुपर्ने बाध्यकारी सम्झौता गर्नुपरेको थियो।
सैन्य कु देखि तानाशाह हरूलाई आफ्ना निहित स्वार्थ वरिपरि घुमाउँदै भेनेजुएलाको प्राकृतिक साधन स्रोतमाथि कब्जा जमाएको अमेरिकी साम्राराज्यवाद र पूँजीवादले त्यहाँका जनताको जीवनमा सकारात्मक प्रभाव माथि कहिल्यै चासो राखेन। सन् १९६० देखि १९९८ सम्मको चालिस वर्षे अवधिमा अमेरिकी राजनीति तथा आर्थिक लाभको चक्रव्यूहमा भेनेजुएलाको राजनीतिले निरन्तरता पायो।
सन् १९९८ ले निर्वाचन मार्फत राष्ट्रपतिको रूपमा सत्ता लिनु पहिले तानाशाह पेरेज जिमनेजले सन् १९५८ देखिकै अमेरिकी छाँया मुनीको शासन निरन्तरता दिएका थिए। यहाँ सम्मकि शीत युद्वको समय भेनेजुएलालाई उसका छिमेकी देश क्यूवा, चिली, बोलिभिया, इक्वेडर, पानामा, पेरूमाथिका आर्थिक नाकाबन्दी, वहिष्करण, हस्तक्षेप गरिरहँदा पनि अमेरिकाकै आवाज बोल्ने र उसको इसारामा चल्ने देश बन्यो।
जुवान गोमेजको सैन्य तानाशाही शासनको बेला सन् १९२६ मा निर्वासनकै बेला जुवान बुटिस्टा र कोटेपको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भइ कम्युनिष्ट अन्तर्राष्ट्रियमा आवद्ध भएको थियो। विश्वभरिका कम्युष्टि आ- आफ्ना देशमा सरकारका पक्षबाट लड्ने कोमिन्तानको सर्कुलर अनुसार भेनेजुएलन कम्युनिष्ट पार्टीले अंगरिटा नेतृत्वको सैन्य सरकारलाई साथ दियो।
सन् १९४९को महान चिनियाँ क्रान्तिको सफलता पश्चात साठीको दशकमा क्युवाको क्रान्तिबाट प्रेरित भएको कम्युनिष्ट पार्टीले तानाशाही सत्ता विरुद्ध छापामार युद्वको शुरुवात गर्यो।
रोमुलो नेतृत्वको सरकार र अमेरिकी साम्राज्यवादको पूर्णतया चंगुलमा परेको सत्ता विरुद्धको संघर्षमा ‘सुधारवादका’ धरापहरू र पार्टी भित्र फुटहरू व्यहोर्नु पर्यो। अन्त्यमा आम माफि पाउनुलाई उपलब्धी मान्नुपर्ने मै सिमित भयो।
अहिले पनि झण्डै आधा दर्जन कम्युनिष्ट पार्टी क्रियाशिल छन्। विभिन्न समयमा विभाजन भएर सुधारवादी संसदीय व्यवस्थामा नआएका अन्य पार्टी पनि अस्तित्वमा छन्।
विभिन्न परिघटना र साम्राज्यवाद विरोधी संसदीय पार्टीहरूलाई साथ समर्थन दिने मात्र भूमिका रहेको भेनेजुएलन कम्यूनिष्ट पार्टी १९९८ सम्म आई पुग्दा ह्यूगो चाभेजको उदयसँगै आफ्नो मोर्चा कस्यो र विस्तारै विकाशित हुँदै गयो।
संसदीय अभ्यासलाई संघर्षको नाम दिँदै सन् २०९८ मा चौथो स्थानमा रहेको भेनेजुएलन कम्युनिष्ट पार्टीको मुलधार सन् १९१२ मा आई पुग्दा दोस्रो ठूलो पार्टीमा दर्ज भयो। यसले अमेरिकाको टाउको दुखाई नहुने कुरै थिएन।
बोलिभरियन आन्दोलन नामले परिचित सामाजवाद स्थापनाको भेनेजुएलन जनताको सपनाका अगुवा बने चाभेज र मदुरो। अमेरिकि साम्राज्यवादसँगको कडा टकरावमा उभिए। तर, गर्नको लागि समाजवादी सुधारका साधन र योजना धेरै प्रष्ट थिएनन्।
चाभेज र र उनका उत्तराधिकारी मदुरोका अगाडि व्यक्तिवादी अर्थतन्त्रलाई सार्वजनिक सम्पत्तिमा ल्याउनु थियो। अर्थात साम्राज्यवादी र पूँजीवादी अर्थ व्यवस्थाको स्थानमा सार्वजनिक सम्पत्ति र स्वामित्व बढाउँदै लैजादा प्रतिक्रिया के आउँछ वा समाजवादी सुधारका कार्यक्रम असफल पार्न के कस्ता जाल पहिले देखिनै विछाईएका थिए भन्ने अहिले आएर प्रष्ट हुँदैछ।
सन् १९९० देखि ल्याटिन अमेरिकामा नवउदारवादी संसदीय सत्ताहरुको पक्षपोषणमा जुटेको वासिंगटनले अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, अन्तर अमेरिकी विकास बैंक मार्फत ती देशमा आफ्नो पूँजिवादी मोडेल विस्तार गर्यो।
आम्दानीका सर्वाधिक अनुकुल उद्योग क्षेत्र निजीकरणमा ल्याउन दवाव बनाई राख्यो। यस अवधिमा ल्याटिन अमेरिकाका पाँच हजार उद्योगहरू निजीकरणमा ल्याईयो। जनता र देशबाट उनीहरूका श्रोत साधान, ऊर्जा, वित्त, व्यापार, दूरसञ्चार जस्ता क्षेत्रमा नीजि मालिकियत मात्र होइन व्यवसायिक एकाधिकार विकास गरियो।
निश्चित रुपमा भेनेजुएला तेलको अथाह भण्डार छ र उसले आफ्नो श्रोत र साधनमाथि साम्राज्यवादी दलाल कम्पनीहरूको स्वामित्व विच्छेद गरेर आफ्नो जनता र सरकारको स्वामित्व स्थापना गर्न चाह्यो। साथ साथै जनमुखी कार्यक्रमहरु विस्तार गर्दे न्युनतम समाजवादी कार्यक्रम शुरू गर्ने वित्तिकै वासिंगटनको टाउको दुखाई शुरु भयो।
इरान, क्युवा, रूससँगको सम्वन्ध र साझेदारीका सम्भावना पनि उत्तिकै मुटु पोल्ने विषय थिए वासिंगटनको लागि। साम्राज्यवादी शक्तिलाई भेनेजुएला बिग्रेर केही गुमाउनु थिएन बरू अवस्था विगार्नुमा फाईदा थियो। पछिल्लो समय चाभेज र उनका बारिसमा आउँदै गरेका मदुरोलाई यो पनि थाह थियो कि जति बेला नवउदारवादको उत्कर्षमा वाल स्ट्रीट रमाईरहेको थियो त्यति बेला भेनेजुएलाका जनताको आर्थीक सामाजिक अवस्था दयनीय थियो।
जेम्स पिटरका अनुसार वासिंगटनले बहु रणनीतिक योजना साथ आफ्ना प्रभाव विस्तार गर्ने गरेको छ। र भेनेजुएलालाई अस्तव्यस्त पार्न पनि यिनै सूत्रसाथ लागेको देखिन्छ।
क) सरकारका समर्थक किन्ने
ख) सरकार विरोधी मिडिया, व्यापारी, संघ संस्थालाई लगानी गर्ने
ग) गैह्र इमान्दार सैन्य अधिकारीलाई हातमा लिने र कु गराउने
घ) अर्थतन्त्रका मुल रणनैतिक क्षेत्रमा रहेका रोजगारदाता भड्काउने
ड) जनमत संग्रह र निर्वाचनमा आर्थिक लगानी र कानुनी विषय भड्काउने च) जनतामा त्रासको वातावरण श्रृजना गर्न कुत्सीत समूह प्रयोग गर्ने
छ) चुनावहरुलाई मान्य हुन नदिन विरोधी पक्षलाई परिणाम इन्कार गराउन लगानी गर्ने
ज) नजिकैका छिमेकि देशमा सैन्य अखाडा खडा गर्ने र सैन्य अभ्यास गरि देशलाई कव्जा गर्न तयार भएर बस्ने।
यी सबैको बावजुद पनि सन् २००० को दशक वासिंगटनले आफ्नै आर्थिक संकट, अफगानिस्तान, इराक, लगायतका अन्तर्राष्ट्रिय तनाव बिच भेनेजुएला लगायत ल्याटिन अमेरिकामा आफ्नो दवदवा कायम राखी राख्न सकेन।
लोकप्रिय र देशभक्त नयाँ सरकारहरु र उनीहरुले देखेको विश्व साझेदारीको अगाडि साम्राज्यवादी शक्तिलाई नजरअन्दाज गर्न थाले। तत्काल सैन्य वा अन्य कुनै बल प्रयोगको सम्भावना थिएन।
मुलत क्युवालाई एक्लो पारेर घेराबन्दी गराईले वासिंटनप्रति ल्याटिन सेन्टीमेन्ट बदलियो र देशभक्त जनता जाग्न पनि थाले। वासिंटनको मनोबैज्ञानिक दवावले त्यतिबेला काम गर्न छोड्यो जब क्युवा र उत्तर कोरिया जस्ता देशहरुले साम्राज्यवाद विरुद्ध वाक युद्ध, राजनैतिक युद्ध र सामरिक निर्भीकता साथ अडान लिए।
यस अलावा चीनको उदय र उसको व्यापारिक र राजनैतिक प्रभाव विश्वभरि बढ्दै पनि गयो। साम्राज्यवादको एकल वर्चस्व र उसवाट प्रताडित देशहरुले चिनियाँ उपस्थिति र रुसको सुदृढ हुदै गरेको कुटनैतिक र सैन्य सामथ्र्यले ल्याटिन र इस्टर्न मेडिटरिएन, अफ्रिकी देशसम्म नयाँ आत्म विश्वास समेत पैदा भयो।
तर, भेनेजुएला दशकौ देखिको आर्थिक संकट र उसको घेरावन्दिबाट वाहिर आउन संघर्ष गरिरहेकोछ। क्युवासँगको भावनात्मक सामिप्यता र देश भित्रकै साम्राज्यवादीका स्थापित संजाल विच अव उसको भविष्य संघर्षपूर्ण हुनेछ।
भेनेजुएलामा परियोजनाहरुमा लगानी, एनजिओ र आइएनजीओको रजाई, विश्व बैंक र अन्तर्राट्रिय मुद्रा कोष लगाएत कैयन एजेन्सीको जमिनी भूमिका र भेनेजुएलाको तेल कव्जा गर्न खडा गरिएको मानवीय संकटको अवस्था, अनि साम्राज्यवाद विरोधी सरकारको विकल्पमा सडकबाटै सत्ता कव्जा गराउने जुन खेल वासिंटनले खेलेको छ त्यसले ल्याटिन अमेरिकामा उसको चिउरा चाम्रिदै गएको र फलाम मिसिदै गएको अनुमान लगाउन सकिन्छ।
साम्राज्यवाद विरुद्धको लडाईमा आज भेनेजुएलाको सत्ताको साथमा चीन, रुस, इरान, क्युवा लगायत देशहरु छन जो सामरिक र आर्थिक रुपमा साझेदार बनेको खण्डमा भेनेजुएला आफ्नो खुट्टामा उभिन सक्छ।
नेपालले यसबाट सिक्न सक्ने कुरा के हो भने नव उदारवाद, साम्राज्यवाद र पूँजीवादले आफ्नो पराकाष्ठा नाघेर अहिले उत्तर साम्राज्यवादको अवस्थाा आएको छ। कुनै पनि देशमाथिको साम्राज्यवादी हस्तक्षेप अव दलाल पूँजिवादको आवरणमा प्रबेश गरेको छ। देशका साधन श्रोतमाथि आँखा गाडेर आर्थिकरुपमा देशलाई विचलित पार्ने पछिल्लो रुपको साम्राज्यवादले स्थानिय दलालहरु मार्फत आफ्ना योजना लादीरहेको छ।
नेपालका हाइड्रो पावर, नदिनाला, हिमाल, नाफाका विशेष क्षेत्रहरु दुरसञ्चार, जडिबुटी, पर्यटन, खानी तथा अन्य सम्भाव्यताका क्षेत्र कव्जा गर्ने नीति अवल्मवन गरिएको छ।
विश्वको लगानी ल्याउन डावोसमा डाक्न पुगेको सरकार यो योजनाको कुन चरणमा छ? विश्व बैंक, आईएमएफ, एडिवी लगाएत अनगिन्ती अरु आइएनजिओको आर्थिक लगानीले के गर्दछ के गर्दैन? अलि राम्रोसँग बुझने बेला आएकोछ।
यदि हामी आज आफ्नो जल जमिन र जनता धरौटी राखेर विकास सम्बृद्धिको कुरा गर्दछौ भने अर्को पुस्ताको लागि संकट हुनेछ। चरम भ्रष्टाचार र दलाल पूँजिवादमा नेपाली धनी हुने छैनन्। जसरी तेलका कुवाहरु र तीन अरव व्यारेल पेट्रोलियम भएको भेनेजुएला साम्राज्यवादीका कुत्सीत मनसायले संकटमा छ।
हामी संधै सम्बृद्धिको नारा मात्र लगाउने छौ र नाफाको व्यापार गर्न आउनेहरू मात्र धनी हुनेछन्। उनीहरू आफ्नो लगानीका साथ साथै लगानी सुरक्षाको सामरिक तयारी गर्नेछन्, हाम्रो देशले ति देशसँग लड्न तालिम लिनेछ जोसँग हाम्रो दुश्मनि छैन।
इण्डो प्यासिफिक सैन्य तयारी र आर्थिक विकासको पछिल्लो रणनीतिबारे नेपालले मिहिन ढंगले बुझ्न जरूरि छ। भेनेजुएलाले गरेको तेल निर्भर अर्थतन्त्रको गल्ती जस्तै नेपालले युवाको रेमिट्यान्स र हाईड्रोको सम्भावनामाथि बसेर दुबै परनिर्भर कुरा ध्यान दिएकोछ।