पाँच पटकको विश्वविजेता ब्राजिल क्वार्टर फाइनलमा हारेर यसपालिको विश्वकपबाट बाहिरिएको छ।
शनिबारको क्वार्टर फाइनलमा ब्राजिलले बेल्जियमसँग २-१ले हारेको थियो। ब्राजिल बाहिरिए पनि स्टार स्ट्राइकर नेइमारको चर्चा भने कम हुनुको साटो दिनदिनै बढ्दै छ। त्यो चर्चा उनको प्रशंसामा नभई मजाकमा भइरहेको छ। सामाजिक सञ्जालमा उनको जस्तै अभिनय गरेर भिडियो हाल्ने क्रम ह्वात्तै बढेको टाइम पत्रिकाले लेखेको छ।
विश्वकपका खेलमा नेइमार धेरै पटक मैदानमा लडेका थिए। तीमध्ये धेरै पटक लडेपछि उनी गुड्किए। कतिपयले यसलाई उनले ‘नाटक’ गरेको भन्दै आलोचना गरेका छन्। उनकै देश ब्राजिललगायत युरोप र अफ्रिकाका फुटबल क्लब, समर्थक र आमदर्शकले नेइमार च्यालेन्ज ह्यासटेग बनाएर भिडियो सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन्।
विभिन्न अवस्थामा रहेका मानिसले नेइमार शब्द सुन्ना लडेर गुड्किने गरेको भिडियो पोष्ट गरेका छन्। अफ्रिकामा केएफसी ब्रान्डले नेइमार गुड्किएको विज्ञापन नै बनाएको छ। एकजनाले आफ्नो कुकुर पनि नेइमारभन्दा लड्ने र गुड्किने गरेको भिडियो पोस्ट गरेका छन्।