यसपालीको विश्वकपमा फुटबलका शक्तिशाली ठालू देशहरू जर्मनी, अर्जेन्टिना, स्पेन, ब्राजिलको चुनौती चाँडै सकियो।
विश्वका करोडौं फुटबल फ्यानहरूले चाहँदा चाहँदै, समर्थन दिँदा दिँदै पनि अनि मैहूँ भन्ने ठूला ठूला खेल विशेषज्ञहरूले विभिन्न पत्रिका, टिभि, र ईन्टरनेटमा घाँटि सुक्ने गरी ठालूहरूको पक्षमा चिच्याउँदा पनि ती देशहरू पराजित भएर घर फर्कन कर लाग्यो ।
बेलायत सेमिफाइनलमा क्रोसियासँग हारेपछि के कुरा प्रमाणित भयो भने फुटबल खेलबारे हुने चर्चा परिचर्चा मात्र एक बुद्धी बिलास हो। यसको अरू कुनै उपयोग छैन, प्रयोजन छैन। यदि यस्तो नहुँदो हो त किन आफ्नै माटोमा ब्राजिलले २०१४ को विश्वकपको सेमिफाइनलमा सात गोल खान्थ्यो?
फुटबलका कुन चाहिँ महाविज्ञले यो कुराको अड्कल पहिल्यै काटेका थिए। त्यति मात्र हो र, १९५० को विश्वकप फाइनल खेलको अघिल्लो दिन ब्राजिलका पत्रिकाले ब्राजिललाई विश्वकप विजेता बनाईसकेका थिए।
खेलाडीहरूले 'च्याम्पियन्स् अफ द वर्ल्ड' कुँदेको सुनको घडी उपहार पाईसकेका थिए। खेल ब्राजिलको आफ्नै मैदान रियोमा थियो। उनका प्रतिद्वन्द्वी थिए कमजोर अनि दुर्बल आँकिएका उरूग्वे।
उरुग्वेका खेल म्यानेजरले खेल शुरु हुन केही समय अघि लकर रुममा आफ्नो टोलीलाई सशक्त ब्राजिलसँग रक्षात्मक खेल खेल्नुको विकल्प नरहेको बताएर गएका थिए। त्यसपछि उरुग्वेका क्याप्टेल 'वब्डुलियो भरेला' ले आफ्नो टोलीलाई एक भावात्मक सम्बोधन गरे र भने ‘आज हामी आक्रमक रणनीति अपनाउने छौं। खेल मैदान बाहिर बस्नेले खेल खेल्दैन। हामीले खेल्ने हो। आउ साथी हो! पुरुषार्थ देखाउने समय आयो।’
खेलको मैदानमा त्यो दिन जे भयो ऐतिहासिक भयो। उरुग्वेले एकका विरूद्ध दुई गोल हानेर इतिहास रच्यो। उरूग्वेको दोस्रो गोलमा पुरा रियो रंगशाला स्तब्ध थियो। संसार चकित पर्यो। फुटबलका विज्ञहरू उरुग्वेले कसरी जित्यो भन्ने तर्क खोज्न र कारण केलाउन तिर लागे। नपत्याउने खोलाले बगायो।
अस्तिको सेमिफाईनल खेलमा पनि करिब करिब उस्तै घटना दोहरियो। कमजोर र फुच्चे ठानिएको क्रोएसियाले आफूलाई बाघ ठान्ने बेलायतलाई एकका विरूद्ध दुई गोल हानेर जित हात पार्यो। इतिहास रच्दै विश्वकपको अन्तिम चरणमा प्रवेश गर्यो।
दृढ आत्मबल, आत्मविश्वास र दह्रो अठोटका साथ क्रोएसिया फाइनल खेल मैदानमा उत्रियो भने फुटबलका बाहुबली मानिएको देश फ्रान्सलाई हराई विश्वकप आफ्नो पोल्टामा पार्न बेर छैन।
साथै यो पाली विश्वकप सानो देश जसको जनसङ्ख्या काठमाडौं शहरको जनसङ्ख्या भन्दा पनि कम छ उसले लगोस् भन्नेहरूको संङ्ख्या पनि त कम छैन। उनीहरूको सद्भाव र शुभकामना क्रोएसियाको पक्षमा छ। जय होस्। अस्तु।