घोराही उपमहानगरपालिकाले दर्ता भएका अटो तथा टेम्पोलाई मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ्।
उपमहानगरपालिकाको टेम्पो तथा इ—रिक्सा व्यवस्थापन समितिको विहीबार बसेको बैठकले नगरमा ५ सय वटा अटो तथा टेम्पोहरुलाई मात्रै दर्ता गर्न दिने अघिल्लो निर्णयलाई सदर गरेको हो।
समितिको गत वैशाख २० गते बसेको बैठकले बढ्दो सवारी यातायात र सडकको अवस्थालाई मध्यनजर गरि ५ सय वटा अटो टेम्पोहरुलाई मात्रै सञ्चालन गर्न रूटपरमिट दिने निर्णय गरेको थियो।
बिहीबारदेखि लागू हुनेगरि दर्ता नभएका टेम्पोहरुलाई सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो। समितिका संयोजक एवम् उपमहानगरका उपप्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा बसेको बैठकले दर्ता नभएका अटो तथा टेम्पोहरुलाई सञ्चालनमा रोक लगाउन ट्राफिक प्रमुख मदनबहादुर कुँवरलाई निर्देशन दिएको छ।
बैठकले उपमहानगरपालिकामा दर्ता भएका सवारी साधनलाई दर्ता नम्बर, राजस्व प्रमुखको हस्ताक्षर र कार्यालयको छापसहित स्टिकर जारी गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी उपमहानगरपालिकाले निर्धारण गरेको पार्किङ स्थलमा मात्रै पार्किङ गर्ने र यातायात व्यवस्था कार्यालयले निर्धारण गरेको भाडादर सबैले देख्ने गरी अटो पार्किङ स्थलमा र प्रत्येक अटो टेम्पोहरुमा टाँस गर्ने निर्णय पनि पारित गरेको छ। त्यस्तै दर्ता भएका अटो–टेम्पोहरुलाई उपलब्ध गराउने स्टिकर र प्रालिको लागि स्टिकरको रंग अनि नमूना फरक/फरक गराउने निर्णय गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०७५, २३:०५:००