एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण शेयर सूचीकरण गरिएको छ।
एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको सर्वसाधरणमा वितरण गरिएको ४७ लाख ५५ हजार कित्ता र संस्थापक एक करोड ४५ हजार कित्ता शेयर समेत गरी जम्मा १ करोड ४८ लाख कित्ता साधारण शेयर नेपाल स्टक एकसचेन्जमा बुधबार सूचीकरण गरिएको हो।
नेपाल धितोपत्र बोर्डबाट गत चैत ४ गते स्वीकृत विवरणपत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष नियमावली २०६७ को नियम ४६ मा भएको व्यवस्था बमोजिम सर्वसाधारणमा निष्काशन गर्नु अगावै ११ वटा सामुहिक लगानी कोषको १८ वटा योजनाहरुबाट कुल २ करोड ३७ लाख ८० हजार कित्ता शेयर माग गरी आवेदन प्राप्त भएको थियो।
यसकारण ११ वटा सामुहिक लगानी कोषहरुको १८ वटा योजनाहरुलाई माग गरेको अनुपातमा समानुपातिक हिसावले जम्मा २ लाख ३७ हजार ८ सय कित्ता शेयर बाँडफाँड भएको र कर्मचारीहरुलाई ७४ हजार कित्ता शेयर छुट्टाइएको थियो।
जसमा १६६ जना कर्मचारीहरुबाट ७४ हजार कित्ता शेयर बाँडफाँड गरी बाँकी सर्वसाधारणहरुलाई छुट्याईएको प्राथमिक निष्काशन ४४ लाख ४३ हजार २ सय कित्ता शेयर सर्वसाधरणको लागि विक्री खुल्ला गरिएको शेयर निष्काशन यही असार १४ गते (बैंकिङ्ग समयपछि) निष्काशन बन्द भएको थियो।
यस संस्थाको प्राथमिक शेयर खरिद गर्न ३ लाख ९७ हजार ७ सय ४१ वटा आवेदन मार्फत सर्वसाधारणहरुले निवेदन दिएकोप्रति संस्थाले खुशी व्यक्त गरेको छ।
उक्त संस्थाले आ.व. २०७६/७७ को तेस्रो त्रैमाससम्ममा कर्जा लगानी ७ अर्ब २२ करोड पुर्याउन सफल भएको बताएको छ। बचत संकलन तर्फ १ अर्ब १ करोड पुर्याउन वित्तीय संस्था सफल भएको छ।
वित्तीय संस्थाले आफ्नो रणनीतिअनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ। यस त्रैमासमा वित्तीय संस्थाको निश्कृय कर्जा अनुपात ०.३२ प्रतिशत र प्रतिशेयर आम्दानी १६.३० रुपैयाँ रहेको छ।
यो बैंकले खोलेको शाखाहरु सहित ३३ जिल्लाहरुमा १०५ शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।