नेपाल बैंक लिमिटेडले गएको आर्थिक वर्षमा २ अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। कोभिड १९ कारण पछिल्लो त्राइमासमा व्यवसाय प्रभावित भएपछि अघिल्लो वर्षको तुलनामा केही नाफा खुम्चिएको बैंकले जानकारी गराएको छ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो खुद नाफा अघिल्लो वर्षको तुलनामा ४ करोड न्यून हो।
बैंकको वितरणयोग्या नाफा २ अर्ब २१ करोड रुपैयाँमात्र रहेको छ। बैंकको खुद मुनाफाबाट बैंकले गर्नुपर्ने अनिवार्य खर्च तथा संचिति कटाएर यस्तो वितरणयोग्य नाफा तय हुन्छ।
गएको वर्ष बैंकले खुद ब्याज आम्दानी ५ अर्ब ६१ करोड गरेको छ। यो अघिल्लो वर्षको तुलनामा न्यून हो। अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ६ अर्ब १८ करोड रुपैयाँ थियो।
बैंकले ब्याज आम्दानी बाहेक शुल्क तथा कमिसनबाट गर्ने आम्दानीमा पनि सामन्य गिरावट आएको छ। अघिल्लो वर्षको यही अवधिमा ९९ करोड ३९ लाख आम्दानी गरेको बैंकले यो शिर्षकमा यो वर्ष ७४ करोड ४५ लाखमात्र आर्जन गरेको छ।
बैंकको सञ्चालन आय पनि अघिल्लो वर्षको तुलनामा घटेको छ। अघिल्लो वरष ७ अर्ब २५ करोड सञ्चालन आय गरेको बैंकले गएको वर्ष ६ अर्ब ६० करोडमात्र रहेको छ। सञ्चालन आय घटेपनि सञ्चालन खर्च अघिल्लो वर्षको तुलनामा बढेको छ। आय घटेर खर्च बढेपछि सञ्चालन नाफामा गिरावट आएको छ। झन्डै २ अर्बले सञ्चालन मुनाफा घटेको छ।
बैंकले गएको वर्ष १ खर्ब ४२ अर्ब निक्षेप संकलन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २५ अर्बले बढी हो। त्यस्तै बैंकले गएको वर्ष १ खर्ब ४ अर्ब ऋण लगानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १२ अर्ब बढी हो।
बैंकको खराब कर्जा भने केही घटेको छ। अघिल्लो वर्षको अन्तमा २.६४ प्रतिशत रहेको यस्तो भाखा नाघेको कर्जा यो वर्ष भने २.५९ प्रतिशत छ।
११ अर्ब २८ करोड सेयर पुँजी भएको बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६६ पैसा रहेको छ। शेयरको बजार मूल्य २४९ रुपैयाँ रहेको छ।