साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २५ अंकले बढेको छ।
सो अंकको वृद्धिपछि परिसूचक २६५७ अंकमा कायम भएको छ। बजार बन्द हुँदाको यो विन्दु हालसम्मकै उच्च हो। यसअघि फागुन ९ गते सबैभन्दा उच्च अंक २६४० अंक कायम भएको थियो।
यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ। यस दिन ९ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ।
बैंकिङ १४, विकास बैंक २२, जलविद्युत ३७, फाइनान्स ४३, निर्जीवन बीमा ५४३, अन्य ६९, माइक्रोफाइनान्स २३, जीवन बीमा १५४ अंकले बढेका छन्।
ब्यापार २०३, होटल तथा पर्यटन २९, उत्पादन ८ र लगानी समूह २ अंकले घटेका छन्।
सात कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ। ओमी माइक्रोफाइनान्स, जनरल इन्स्योरेन्स कम्पनी, राधी विद्युत कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, एनआइसी एसिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र सान्जेन जलविदुत कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।
यस दिन साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्य सबैभन्दा धेरै ४.६ प्रतिशतले घटेको छ। सपोर्ट माइक्रोफाइनान्सको मूल्य ४.१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ४७ करोड रुपैयाँ बराबरको सेयर किनबेच हुँदा मूल्य घटेर प्रतिकित्ता ५९५ रुपैयाँमा झरेको छ।
त्यस्तै माथिल्लो तामाकोसीको २८ करोड रुपैयाँ बराबरको कारोबार भयो। मूल्य घटेर प्रतिकित्ता ८७९ रुपैयाँ कायम भएको छ। पुनर्बीमा कम्पनी, नबिल बैंक र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी पनि कारोबारका आधारमा अगाडि रहे।