स्वदेशमै स्वीच स्थापना गरी नेपाल राष्ट्र बैंकले भुक्तानी कार्ड ल्याउने तयारी गरेको छ।
स्वदेशमै स्वीच स्थापनापछि कार्डधनीको व्यक्तिगत विवरण बाहिरिनबाट जोगिनेछ भने नेटवर्क प्रयोगवापत बाहिरिने रकममा पनि कमी आउनेछ।
यसबारे अध्ययन गर्न राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस (एनसिएचएल)लाई जिम्मा दिएको छ।
‘प्रारम्भिक रुपमा स्वीच स्थापनाका लागि चाहिने पूर्वाधारको बारेमा अध्ययन भइरहेको छ’ एनसिएचएलका सिइओ निलेशमान सिंह प्रधानले भने ‘अध्ययनबाट गरिएका निचोडहरु राष्ट्र बैंकलाई जानकारी गराउँदै आएका छौँ।’
हाल अधिकांश बैंकहरु विदेशी नेटवर्कमा आवद्ध छन्। तिनै नेटवर्कमा आवद्ध रही भिसा, युनियन पे, मास्टर कार्ड जारी गर्दै आएका छन्। बैंकहरु विदेशी नेटवर्कमा आवद्ध हुँदा नेटवर्कवापत शुल्क समेत बुझाउनुपर्छ। यसले करोडौं रकम बाहिरिने गरेको छ।
शुल्क बुझाउनुपर्ने मात्रै होइन, व्यक्तिगत विवरण समेत बाहिरिने गरेको बताउँछन् प्रधान। ‘स्वदेशकै स्वीच र नेटवर्क प्रयोग हुँदा व्यक्तिगत विवरणहरु पनि सुरक्षित हुन्छन् साथै त्यसवापतको केही खर्च पनि स्वदेशमै रहन्छ।’
स्थापित स्वीचमा नेपालका बैंकहरु पनि आवद्ध हुन सक्नेछन्। हाल बैंकहरु फरक फरक नेटवर्कमा आवद्ध रही डिजिटल भुक्तानीको सेवा दिइरहेका छन्। फरक नेटवर्कमा रहेको एउटा बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा ग्राहकलाई समेत निश्चित शुल्क लाग्ने गर्छ।
राष्ट्र बैंकले यस्तो शुल्क प्रतिकारोबार २० रुपैयाँभन्दा बढी हुन नपाउने व्यवस्था गरेको छ। सो शुल्क बैंकहरुले नेटवर्कको प्रयोगवापत बुझाउनुपर्छ।
स्वदेशकै नेटवर्कबाट चल्नेगरी ‘नेपाल पेमेन्ट कार्ड’ आएपछि सर्वसाधारणले यहीं कार्ड प्रयोग गर्न सक्छन्। यो कार्डमार्फत एटिएमबाट पैसा झिक्ने मात्रै नभई विभिन्न बस्तु तथा सेवा खरिद गरेवापतको भुक्तानी पनि गर्न सकिनेछ।
यस्तो कार्ड जुनसुकै बैंकको एटिएममा प्रयोग गरे पनि निशुल्क हुने अथवा कम मात्रै शुल्क लाग्नेछ। ‘शुल्क लागे पनि त्यो रकम कमसेकम देश बाहिर जान त रोकिन्छ’ प्रधानले भने।
हाल केही बैंकहरुले आफ्नै स्वीच संचालनमा ल्याएका छन्। एउटा स्वीचमा धेरै बैंकहरु पनि आवद्ध हुन सक्छन्।