बुधबार सेयर बजारको परिसूचक नेप्से १३ दशमलव ७९ अंकले घटेको छ।
सो अंकको कमीसँगै परिसूचक २५८५ अंकमा कायम भएको छ। यस दिन कारोबार रकममा पनि कमी आएको छ। हिजो ५ अर्ब बढीको कारोबार भएकोमा यस दिन ३ अर्ब ९८ करोड रुपैयाँको मात्रै सेयर किनबेच भयो।
समूहगत रुपमा हेर्दा बैंकिङ १४, होटल तथा पर्यटन १९, विकास बैंक २४, जलविद्युत १८, फाइनान्स १५, निर्जीवन बीमा १०४, माइक्रोफाइनान्स ४६, जीवन बीमा १४९ अंकले घटेका छन्।
ब्यापार ९, उत्पादन ५४ र अन्य समूह १७ अंकले बढेका छन्। समग्र बजार घटे पनि ३ कम्पनीका लगानीकर्ताले भने १० प्रतिशत मूल्य कमाएका छन्। सिंगटी हाइड्रो, महिला लघुवित्त र बिशाल बजार कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो।
हालै आइपिओ निष्कासन गरेको सिंगटीको आजदेखि बजारमा कारोबार भएको छ। नेप्सेले तोकेको रेन्जमा माथिल्लो मूल्यबाट कारोबार सुरु भई कम्पनीको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३३० रुपैयाँ कायम भएको छ।
त्यस्तै महिला लघुवित्तको मूल्य प्रतिकित्ता २८४१ रुपैयाँ पुगेको छ भने विशाल बजार कम्पनीको मूल्य ४६३६ रुपैयाँ पुगेको छ।
नेपाल हाइड्रो डेभलपर्सको मूल्य ५ प्रतिशतले बढ्दा नारायणी डेभलपमेन्टको मूल्य पनि यस दिन करिब ५ प्रतिशत नै बढेको छ।
गुमाउनेमा पोखरा फाइनान्सका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य ६ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा यस दिन एनसिसी बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको २८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य पनि ३ प्रतिशत बढेर प्रतिकित्ता ३४० रुपैयाँ पुगेको छ।
त्यस्तै माथिल्लो तामाकोसीको १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच हुँदा मूल्य सामान्य घटेर ८३८ रुपैयाँमा झरेको छ। एचआइडिसिएल, पुनर्बीमा र नेपाल इन्फ्रास्ट्रक्चर बैंक पनि कारोबारका आधरमा टप फाइभभित्र पर्न सफल भए।