सेयर बजारको परिसूचक नेप्से आइतबार ५४ अंकले बढेको छ। सो अंकको वृद्धिपछि बजारको परिसूचक २६६५ अंकमा कायम भएको छ।
यस दिन कारोबार रकम पनि बढेको छ। कुल ७ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सबै समूहहरु बढेका छन्।
बैंकिङ १९, ब्यापार ७९, होटल तथा पर्यटन १११, विकास बैंक ३८, जलविद्युत ३७, फाइनान्स १६, निर्जीवन बीमा ४४८, उत्पादन १५०, अन्य ९४, माइक्रोफाइनान्स १०४ र जीवन बीमा ६३२ अंकले बढेका छन्। लगानी र म्युचुअल फण्ड समूह १ अंकमुनि हरियो रहे।
तीन कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ। महिला लघुवित्त वित्तीय संस्था, विशाल बजार कम्पनी र सिंगटी हाइड्रोको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।
सो मूल्य वृद्धिपछि महिलाको मूल्य प्रतिकित्ता ३४३७, विशाल बजारको ५६०८ र सिंगटीको ३९९ रुपैयाँ पुगेको छ। त्यस्तै सानिमा जनरल इन्स्योरेन्सको मूल्य ८.७ प्रतिशतले बढेर ८१२ रुपैयाँ पुगेको छ। युनिभर्सल पावरको मूल्य ७ प्रतिशत बढ्यो।
यस दिन मूल्य घट्ने कम्पनीको गिरावट २ प्रतिशतभन्दा मुनि रह्यो।
कारोबारका आधारमा एनसिसी बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ४२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य ४ प्रतिशतले बढेर प्रतिकित्ता ३६७ रुपैयाँ कायम भएको छ।
त्यस्तै पुनर्बीमा कम्पनीको ४० करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य करिब ५ प्रतिशत बढेर १५१२ रुपैयाँ पुगेको छ। नेपाल टेलिकमको ३२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य ४ प्रतिशतले बढेर १३७० रुपैयाँ कायम भएको छ।