सिटिजन्स बैंकको सातौं विशेष साधारण सभा सम्पन्न भएको छ।
सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा बिहीबार बैंकको केन्द्रीय कार्यालय भवन, दरवारमार्गमा साधारणसभा बसेको थियो। ‘जुम’ मार्फत बैंकले सातौँ विशेष साधारण सभा संचालन गरेको हो।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले सिर्जना फाइनान्स लिमिटेडललाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गरेको विशेष प्रस्ताव सभाबाट सर्वसम्मत रुपमा पारित भएको हो।
यस सभाले सिर्जना फाइनान्स र सिटिजन्स बैंक इन्टरनेसनलबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ। सिर्जना फाइनान्सको १०० कित्ता शेयरलाई सिटिजन्स बैंकको ९५ कित्ता शेयर (१ः०.९५) दिने गरी शेयर मूल्य अनुपात कायम भएको छ।
नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सको पनि यसै दिन सम्पन्न विशेष साधारण सभाले प्राप्तिका लागि स्वीकृति प्रदान गरिसकेको छ। दुबै बैंक तथा फाइनान्सको विशेष साधारण सभाले स्वीकृति दिएसँगै प्राप्ति गर्नका लागि बाटो खुलेको हो।
यसै आर्थिक वर्षभित्र प्राप्तीपछि संयुक्त कारोबार थाल्ने गरी तयारी भइरहेको बैंकका अध्यक्ष राजन सिंह भण्डारीले जानकारी दिए। उनले प्राप्तिपश्चात बैंकको वित्तीय, मानवस्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने विश्वास व्यक्त गरे।
२०७८ साल जेठ २६ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३८ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब २२ अर्ब रुपैयाँ हुनेछ।
प्राप्ति पश्चात बैंकको कुल शाखा १८९ हुनेछ। हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा प्राप्ति पश्चात उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु हुनेछन्। प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् २७ वटा हुनेछन् । बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ।
बैंकको संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिर्जना फाइनान्सको प्राप्ति अगाडि बढाएको हो। बैंकले सातवटै प्रदेशमा दह्रो उपस्थिति बनाउँदै लगेको छ। यस प्राप्ति पछि बैंकको ग्राहक सङ्ख्या करिव १२ लाख पुग्नेछ।