प्रारम्भिक (प्रिओपन) सेयर कारोबारमा अब कुनै पनि कम्पनीको मूल्य २ प्रतिशतभन्दा धेरै घटबढ हुन नपाउने भएको छ।
नेपाल धितोपत्र बोर्डले यसअघिको ५ प्रतिशत सीमालाई घटाएको हो। साढे १० बजेदेखि १०ः ४५ सम्म प्रारम्भिक कारोबार हुने गरेको छ। यो कारोबारमा कुनै पनि कम्पनीको मूल्य अब बढीमा २ प्रतिशत मात्रै बढ्न वा घट्न पाउने व्यवस्था भएको हो।
यस्तो कारोबारमा चलखेल हुने गरेको लगानीकर्ताको आरोप छ। मूल्य घटाउन वा बढाउन चाहेमा कम्पनीको १० कित्ता मात्रै कारोबार गरेर एकै पटक ५ प्रतिशतसम्म घटाउन वा बढाउन मिल्ने अवस्था रहेको भन्दै लगानीकर्ताले विराेध जनाएका थिए।
त्यस्तै हाल न्यूनतम मूल्य परिवर्तन सीमा एक रुपैयाँ रहेकोमा सोलाई घटाएर अब १० पैसा कायम गरिएको छ।
बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को दोस्रो संशोधनलाई स्वीकृत गरेको हो।
तर कतिपय लगानीकर्ताले भने प्रिओपन सेसन चलखेल गर्ने माध्यम मात्रै भएकाले यसलाई बन्द नै गर्दा राम्रो हुने बताउँछन्।
‘यहाँ कम्पनीको मूल्यलाई जबरजस्ती रुपमा घटबढ गराउनका लागि कारोबार हुने गर्छ’ लगानीकर्ता पिताम्बर शर्मा खरेलले भने ‘त्यहीं प्रिओपनका आधारमा नियमित कारोबार गर्दा कतिपय कम्पनीको मूल्य उचालिएको हुन्छ, कतिपयको धेरै नै घटेको हुन्छ, नयाँ लगानीकर्ताले यसबारे राम्ररी नबुझ्दा फस्ने संभावना हुन्छ।’
प्रिओपन कारोबारका क्रममा किन्ने र बेच्नेले आफ्नो अर्डर पोष्ट गर्छन्। तर एक-अर्को लगानीकर्ताले कति मूल्यमा आदेश पोष्ट गरेका छन् भन्ने समेत पत्तो हुँदैन।
जवकि नियमित कारोबारमा मार्केट डेप्थ हेरेर लगानीकर्ताले सहज रुपमा कारोबार गर्न सक्छन्।