नेपाल धितोपत्र बोर्ड थप दुई कम्पनीहरुलाई आइपिओ निष्कासनको स्वीकृति दिएको छ। बोर्डले तेह्रथुप पावर र युनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई आइपिओ निष्कासनको लागि स्वीकृति दिएको हो।
जसअनुसार तेह्रथुम पावर कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि गरेर कुल १२ लाख कित्ता आइपिओ निष्कासन गर्नेछ।
कम्पनीले कुल पुँजीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो, बाँकी ७० प्रतिशत संस्थापकहरुको रहनेछ। कम्पनीको बिक्री प्रवन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ। कम्पनीले अबको दुई महिनाभित्र आइपिओ निष्कासन गर्नेछ।
त्यस्तै युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख ५० हजार कित्ता आइपिओ निष्कासनका लागि स्वीकृति पाएको छ।
कम्पनीले पनि कुल पुँजीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो। यसको बिक्री प्रवन्धकका रुपमा प्रभु क्यापिटल रहेको छ। कम्पनीले पनि २ महिनाभित्र आइपिओ जारी गरिसक्नुपर्ने छ।
युनियन लाइफ पछिबाट खुलेका बीमा कम्पनीहरुमध्येको एक हो। नयाँ बानेश्वरमा प्रधान कार्यालय रहेको यस कम्पनीले चैत मसान्तसम्म खुद ८ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ। सो अवधिसम्म कम्पनीको खुद बीमा शुल्क ५ अर्ब रुपैयाँ पुगेको छ।
यो पछिबाट खुलेको नयाँ जीवन बीमा कम्पनी हो। नयाँ जीवन बीमा कम्पनीमध्ये यसअघि प्रभु, ज्योति र रिलायन्स लाइफले आइपिओ जारी गरिसकेका छन्।
आइएमई, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ। यी कम्पनीहरूले पनि क्रमश आइपिओ जारी गर्नेछन्।