नबिल बैंकले दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ। बैंकले मंगलबार एक भर्चुअल कार्यक्रममार्फत सो घोषणा गरेको हो।
दिगो बैंकिङको माध्यमबाट अहिलेसम्म बैंकिङ पहुँचमा नरहेकालाई पहुँच प्रदान गर्ने, देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशिलतालाई प्रवर्द्धन गर्ने उद्देश्य लिइएको बैंकले जनाएको छ।
संयूक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भई सुदृढ नेपालको लागि स्थायी लघुउद्यम सिर्जना गर्नको निमित्त सुविधाहरू प्रदान गर्ने लक्ष्य बैंकले लिएको छ।
‘समग्र बैंकिङ क्षेत्रले लाखौंको जीवनलाई छुने र सबै पक्षमा सकारात्मक प्रभाव ल्याउन सक्षम भएको छ’ बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले भने।
अब मानिस, वातावरण, समुदाय, राष्ट्रिय अर्थव्यवस्थामा पार्ने प्रभावहरूको बारेमा सचेत रहन आवश्यक भइसकेको उल्लेख गर्दै उनले दिगो बैंकिङ विभाग स्थापनाको जरुरत पर्न गएको बताए।
‘हामी नाफा अधिकतमका लागि मात्र केन्द्रित नरही अधिकतम एकीकृत मूल्यमा केन्द्रित छौं, जसले वित्तीय, सामाजिक र आर्थिक मूल्यलाई जोड्दछ’ उनले भने ‘यसका साथै समाज र समग्र इकोसिस्टममा विचार गर्नेछौं।’ दिगो बैंकिङ क्षेत्रमा एउटा नयाँ अनुशासनलाई अघि बढाउन खोजिएको उनले बताए।
यसैबीच ग्रामीण नेपाल र वित्तीय पहुँच न्यून भएका वर्गहरूका लागि उद्यमशीलताको विकास र कृषि क्षेत्रको व्यावसायीकरण गर्न बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा नामक दुईवटा उत्पादन ल्याएको छ।
यी उत्पादनहरू देश व्यापीरुपमा सबै शाखाहरूमा ल्याइएता पनि बैंकले सुरुमा छानिएका १७ वटा ग्रामीण शाखाहरूमा केन्द्रित रहने बैंकले जनाएको छ।
आफ्ना दिगो प्राथमिकता तर्फ कार्य गर्दै, बैंकले प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सिटिइभिटी)सँग सम्झौता पनि गरेको छ। सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र सिटिइभिटीका सदस्य सचिव जीव नारायण काफ्लेले हस्ताक्षर गरे।
बैंकका देशभर १ सय १९ वटा शाखा कार्यालय, १ सय ८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्ट संचालनमा छन्।