मंगलबार बैंकिङ समूह बढे पनि सेयर बजारको परिसूचक नेप्से भने घटेको छ।
पुँजीकरणका आधारमा सबैभन्दा शक्तिशाली भएकाले बैंकिङ समूहले बजारलाई सबैभन्दा ठूलो असर पार्ने गर्छ। त्यसैले प्रायः बैंकिङ घटे नेप्से पनि घट्ने र यो समूह बढे नेप्से पनि बढ्ने गर्छ।
यस दिन बैंकिङ समूह ३.६ अंकले बढ्यो भने नेप्से ५ अंकले घटेको छ। ५.२४ अंकले घटेर नेप्से २८१८ अंकमा झरेको छ।
कारोबार रकम ४ अर्ब २२ करोडमा खुम्चिएको छ। जेड ३० गते १९ अर्ब बढीको कारोबार भएकोमा हालका दिनमा कारोबार रकम पनि निरन्तर ओरालो लागेको छ।
यस दिन बैंकिङका अलवा निर्जीवन बीमा समूह १६६ अंकले बढ्यो। त्यस्तै उत्पादन ६३, माइक्रोफाइनान्स १ र जीवन बीमा ४ अंकले बढ्यो। तीबाहेकका सबै समूह घटेका छन्। ब्यापार ३९, होटल तथा पर्यटन २५, विकास बैंक १, जलविद्युत ४८ र फाइनान्स समूह १ र अन्य समूह १० अंकले घटे।
यस दिन राष्ट्रिय बीमा कम्पनीको मूल्य ८ प्रतिशतले बढ्यो। त्यस्तै माउन्टेन इनर्जीको ५ प्रतिशतले मूल्य बढेको छ।
यस दिन जलविद्युत लगानी तथा विकास कम्पनी र माथिल्लो तामाकोसीको मूल्य सबैभन्दा धेरैले घटेको छ।
जलविद्युत लगानी तथा विकास कम्पनीको मूल्य सबैभन्दा धेरै साढे ५ प्रतिशत घटेको छ। माथिल्लो तामाकोसीको मूल्य ५ प्रतिशतले घटेको छ। रिडी हाइड्रो र नेसनल हाइड्रोको मूल्य ४ प्रतिशतको हाराहारीमा घटेको छ।
कारोबारका आधारमा यस दिन हिमालयन डिस्टिलरी अग्रस्थानमा रह्यो। सो कम्पनीको ३५ करोड रुपैयाँको सेयर किनबेच हुँदा माथिल्लो तामाकोसीको २० करोडको कारोबार भयो। नेपाल बैंक, निफ्रा पनि कारोबारमा क्रमशः अगाडि रहे।