चालु आर्थिक वर्षको अन्त्यतिर आउँदा पुँजीगत खर्च बढेसँगै वाणिज्य बैंकहरुमा निक्षेप बढेको छ। २७ वाणिज्य बैंकहरुमा एक सातामै ४७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार असार ११ गतेसम्म यी बैंकमा कुल ३९ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा १८ गतेसम्मको अवधिमा ४० खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ।
जवकि यहीं एक हप्ताको अवधिमा बैंकहरुबाट थप १५ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ। असार ११ गतेसम्म २७ बैंकमा कुल ३६ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा १८ गतेसम्म ३६ खर्ब ६८ अर्ब पुगेको छ।
लकडाउन खुकुलो हुँदै जाँदा एक हप्तामै १५ अर्ब कर्जा प्रवाह हुनु पनि सामान्यभन्दा बढी हो। सामान्य अवस्थामा एक हप्तामा औसतमा १० अर्ब रुपैयाँ कर्जा प्रवाह हुने गर्छ।
सरकारको पुँजीगत खर्च बढ्ने भएकाले अबका केही साता बैंकहरुको निक्षेप संकलन उच्च हुने अनुमान छ।