पछिल्लो समय सेयर बजार निरन्तर झरेपछि अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेका छन्।
राष्ट्र बैंकको नीतिकै कारण बजार घटेको आरोप लागेपछि मन्त्री शर्माले गभर्नरसँग यसबारे चासो राखेका हुन्। हिजो मात्रै सेयर बजारमा ऋणात्मक सर्किट ब्रेकर लाग्नुका साथै १०८ अंकले घटेको थियो।
फोनवार्ताका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरे। उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भनेका हुन्।
जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन्।
हालैको मौद्रिक नीतिले सेयर लगानीका लागि सेयर धितो राखेर एक व्यक्ति वा संस्थाले बैंक तथा वित्तीय संस्थाबाट १२ करोडभन्दा बढी ऋण लिन नपाउने व्यवस्था गरेको थियो।
त्यस्तै सेयरमै लगानीका लागि एउटा बैंक तथा वित्तीय संस्थाबाट एक व्यक्तिले ४ करोडभन्दा बढी ऋण लिन नपाउने व्यवस्था गरिएको थियो। यहीं व्यवस्थाका कारण सेयर बजारमा असर परेको लगानीकर्ताको गुनासो छ।
सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेल राष्ट्र बैंकले यो नीति सच्याउनुपर्ने बताउँछन्। ‘हाम्रो सम्पत्तिमाथिको अधिकारलाई यसले वञ्चित गर्न खोजेको छ, यसलाई राष्ट्र बैंकले सच्याउनुपर्छ’ उनले भने।
बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्नुपर्ने निकायले सेयर लगानीकर्तालाई अंकुश लगाउन खोज्नु गलत भएको उनको तर्क छ।
यसअघि सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट १२ करोडभन्दा बढी ऋण लिएका र फेरि सेयरमै लगानी गरेकाले एक वर्षभित्र सीमामा ल्याइसक्नुपर्ने व्यवस्था गरिएको छ।
यसअघि मौद्रिक नीतिका सम्वन्धमा आफ्नो भनाइ राख्दै गभर्नर अधिकारीले सेयर धितो राखेर ऋण लिने, फेरि त्यहीं रकम सेयरमा लगाउने, फेरि ऋण लिने ‘रिसाइकल’ प्रवृत्ति देखा परेकाले यो व्यवस्था गरिएको बताएका थिए। त्यस्तै सेयर धितो राखेर अन्य सेयरबाहेक अन्य क्षेत्रमा लगानी गर्न भने कुनै सीमा लागू नहुने उनले स्पष्ट पारेका थिए।
उता पुँजीबजार संघर्ष समितिले आज राष्ट्र बैंक परिसर बालुवाटारमा गएर मौद्रिक नीतिमा गरिएको व्यवस्थाको विरोध जनाएको छ।