नेपाल क्लियरिङ्ग हाउसबाट सञ्चालित अन्तरबैंक भुक्तानी प्रणाली (एनसिएचएल–आइपिएस)को उपयोगिता बढ्दै गएको छ।
बैंकका ग्राहकको कारोबार, नेपाल सरकार, पुँजी बजार, अर्ध सरकारी संस्थाहरु लगायतका विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा रहेका सत्रहरुको समय तालिका बढाइएको छ।
सोही व्यवस्था अनुसार एनसिएचएल आइपिएस प्रणालीमा बिहानको ९ बजेदेखि दिनको ३ बजेसम्म (आइतबारदेखि बिहीबारसम्म नेपाली मुद्रा, र सोमबारदेखि बिहीबारसम्म वैदेशिक मुद्रा)प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा (टी प्लस जीरो)मै फर्छौट हुने व्यवस्था गरिएको छ। यो व्यवस्था भोलि सोमबारदेखि लागू हुनेछ।
यसअघि बिहानको १० बजेदेखि दिनको १ बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने गरेको थियो। उक्त समयसीमा पछि प्रणालीमा आएका कारोबारहरु अर्को दिनमा फर्छौट हुने व्यवस्था यथावत् थियाे।
त्यसैगरी अब दिनको ३ः ३० बजेसम्म प्राप्त भएका बैंकको आफ्नो ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने छन्।
शुक्रबारको दिन १२ः३० बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु पनि सोही दिनमा फर्छौट हुने व्यवस्था मिलाइएको छ।
हाल नगद तथा कागजमा आधारित भुक्तानीहरु भन्दा डिजिटल भुक्तानीको लोकप्रियता बढेसँगै एनसिएचएल आइपिएसमा बढाइएको समय सीमाले ग्राहकलाई थप सुविधा हुने कम्पनीको भनाइ छ।
एनसिएचएल आइपिएसमार्फत तलब भत्ता, केन्द्रीय तथा स्थानीय सरकारी भुक्तानीहरु, सप्लायर/पार्टी पेमेन्टहरु, कस्टमर फण्ड ट्रान्स्फर, डिभिडेन्ड लगायतका विभिन्न भुक्तानीहरु नगद वा चेकबिना सिधै खाताबाटै रकमान्तर गर्न सकिन्छ।
हाल यस प्रणालीमा ५९ बैंक तथा वित्तीय संस्थाहरु आबद्ध छन्। यस प्रणालीमार्फत प्रति कारोबार २० करोडसम्मको भुक्तानी गर्न सकिन्छ। त्यस्तै सरकारी भुक्तानी ३० करोडसम्म, ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी ५० करोडसम्म र सरकारी भुक्तानी २ अर्ब रुपैयाँसम्म गर्न सकिन्छ।
हाल एनसिएचएल आइपिएसमार्फत भुक्तानी कारोबारहरु बैंक÷वित्तीय संस्थाको शाखा, कर्पोरेट÷बिजनेस च्यानल, कर्पोरेट पे प्रणाली तथा नेसनल पेमेन्ट्स इन्टरफेस (एनपिआई) लगायतका च्यानलहरु मार्फत गर्न सकिन्छ।
हाल एनसिएचएल आइपिएसको कारोबार शुल्क २ देखि १० रुपैयाँसम्म छ। एनसीएचएलले हाल इसिसी, आइपिएस, कनेक्ट आइपिएस, कनेक्ट आरटिजिएस, एनपिआई र कर्पोरेट पे लगायतका राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ।
जसमा नेपाल राष्ट्र बैंक लगायत सबैजसो बैंक वित्तीय संस्थाहरु आबद्ध छन्।