नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ।
कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ–नयाँ योजनाहरु ल्याउने गर्छ।यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा हो।
विकासको गति बढेसँगै ठूला–ठूला परियोजनाहरु, हाइड्रोपावरहरु, भवन निर्माण लगायतका निर्माण कार्य तिव्र गतिमा अघि बढेका छन्।
यस्तो विकास निर्माणका काममा जोखिम बढी हुन्छ। साथै अन्य जोखिमयुक्त पेशाहरु जस्तै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर यस्तो योजना ल्याएको कम्पनीको भनाइ छ।
बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बीमा योजनाको माग भएको सर्वेक्षणका आधारमा कम्पनीले उक्त योजना लेराएको बताएको छ।
यस बीमा योजनाको मूख्य आकर्षण भनेको बीमा अवधि भित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानि प्राप्त गर्न सक्नु हो।
यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले लिन सक्नेछन्। ५ वर्षदेखि अधिकतम ३० वर्षसम्म अवधिको बीमा लिन सकिने छ।
१८ वर्षदेखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ। अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर वा अधिकतम पचास लाखसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिनेछ।
यो बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ। पचास हजारदेखि एक करोडसम्मको बीमाङ्क रकमको बीमा गर्न सकिनेछ ।
वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिकरुपमा बीमा शुल्क भुक्तानि गर्न सकिने योजनामा वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा १ प्रतिशत छुट, त्रैमासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ३ प्रतिशत थप र मासिक बीमा शूल्क तिर्ने तरिका लिँदा ६ प्रतिशत थप लाग्नेछ भने अर्ध वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा प्रीमियममा थप घट हुने छैन।
बीमालेख चालु रहि बीमा अवधि समाप्त मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि समाप्तीको अन्त्यमा बीमाङ्क रकम + आर्जित बोनस एकमुष्ट बीमितलाई भुक्तानी दिइने छ।
बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा दुई गुणा बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइने छ।
बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको तीन गुणा बीमाङ्क रकम + आर्जित बोनस रकम एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइनेछ।
यदि बीमालेखलाई निरन्तरता दिन नसक्ने अवस्था आएमा वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ।
वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भएपछि बीमालेखलाई धितो राखी समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ।