लगातार घटेर लगानीकर्ताहरूलाई मनोवैज्ञानिक रूपमा विचलित बनाइरहेको सेयर बजार बिहीबार भने करिब पाँच महिना अघिको न्यून विन्दु छोएर फर्किने प्रयासमा छ।
नेप्से बिहीबार अन्तरदिनको कारोबारमा २,२८७ सम्म पुगेर फर्किएको हो। यसअघि गत २७ मंसिरमा नेप्से घटेर २,२८१ विन्दुसम्म पुगेको थियो। त्यसको भोलिपल्ट नै १३७ अंकले नेप्से बढेको थियो। यो विन्दु अहिलेको लागि मनोवैज्ञानिक विन्दु बनेको छ। नेप्से करिब ५ अंकले बढेर २,३२५ मा आइपुगेर बजार बन्द भएको छ।
'यसअघि २२८१ विन्दुबाट बजार पुनः वृद्धिको बाटोमा गएकोले लगानीकर्ताहरू त्यसैको अपेक्षामा बसेका देखिन्छन्,' एक ब्रोकरले भने, 'तर अहिले पनि बजारमा लगानीकर्ताहरूसँग सेयर किन्ने पुँजी अभाव छ। बैंकको कर्जाको ब्याजदर पनि बढिरहेको छ। त्यसैले, अझै पनि बजारको दिशा स्पष्ट भैसकेको छैन।'
बिहीबार कारोबार रकममा करिब १२ प्रतिशतले वृद्धि भएर १ अर्ब ६३ करोड पुगेको छ। यद्यपि यो बजार बुलिश ट्रेन्डमा हुँदाको दैनिक औसत कारोबारभन्दा कम हो। बजार न्युनतम तहमा आइपुग्दा १११ वटा धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ। आज कुल २३१ किसिमका धितोपत्र तथा ऋण कारोबार हुँदा ३९ लाख ९१ हजार ५१ पटक सेयर किनबेच भएको थियो।
बिहीबार कारोबारमा आएका १३ उपसमूह ८ वटाको सेयर बढेको छ भने बाँकी ५ उपसमूहको सेयर घटेको छ। आज होटल एन्ड टुरिजमको १.०४ प्रतिशतले सेयर बढेको हो।
आज जाल्पा सामुदायिक लघुवित्त र ग्रीन भेन्चर्सको सेयर १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ। केही समय अगाडि सूचीकृत भएको कम्पनीको मूल्य क्रमिक रूपमा बढिरहेको भएपनि पछिल्लो समय उच्चदरमा बढेको हो। लघुवित्त संस्थाहरूको सेयर मूल्य न्युनतम पनि एक हजार रुपैयाँ माथि हुन्छ भन्ने लगानीकर्ताहरूको मनोविज्ञानले काम गरेको हो। ग्रीन भेन्चर्सको कारोबार भएको आज तेस्रो दिन हो। यसको मूल्य थप बढ्ने अपेक्षा छ।
बिहीबार घलेम्दी हाइड्रोको सबैभन्दा धेरैले सेयर घटेको हो। यसको ६.३० प्रतिशतले सेयर घटेको हो। यसपछि राष्ट्रिय बिमा कम्पनीको पनि ४.२१ प्रतिशतले सेयर घटेको छ। योसँगै आज कुला १०२ वटा धितोपत्र तथा ऋणपत्रको मूल्य घटेको छ।
आज कारोबारको आधारमा भने नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै रकमको कारोबार भएको छ। कम्पनीको कुल १० करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यसपछि सबैभन्दा धेरै रकमको कारोबार हुनेमध्ये नबिल बैंक, सूर्य लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक, हिमालयन डिस्टिलरी कम्पनी, राष्ट्रिय बिमा कम्पनी लगायत परेको छ।