बजार सूचक नेप्से यस साता करिब ४ अंकले घटेको छ। गत साता बिहीबार करिब ५ महिनाको न्यून विन्दुसम्म पुगेर फर्किने प्रयासमा रहेको नेप्सेको आगामी दिशा भने स्पष्ट देखिदैन्। विशेषगरी, बैंकिङ क्षेत्रमा पुँजी अभावको समस्या नसल्टिएको, अर्थतन्त्रलाई लिएर सर्वत्र चिन्ता गरिन थालिएको कारणले पनि लगानीकर्ताहरूको मनोविज्ञान उकासिन सकेको छैन।
साथमा पुँजी हुनेले भने घट्दो क्रममा लगानी बढाउँदै लैजानु सही हुन्छ। अधिकांश सूचीकृत कम्पनीहरूको सेयर मूल्य एक वर्ष यताकै न्यूनमा आइपुगेकोले पनि बजारमा क्रमिक रुपमा लगानी बढाउँदै लैजानु सही हुन्छ।
गत साता ३ दिन खुलेको बजारमा औसत दैनिक कारोबार एक अर्ब ७५ करोड रूपैयाँको कारोबार भएको थियो। यस साता भने यस्तो दैनिक औसत कारोबार एक अर्ब ४७ करोड भएको छ। एक सातामै लगानीकर्ताको सम्पत्ति एक खर्ब रूपैयाँभन्दा धेरैले घटेको छ।
यस साता कारोबारमा आएका सबै समूहगत परिसूचकहरू घटेका छन्। वित्तीय कम्पनी समूहगत सूचक सबैभन्दा धेरैले घटेको छ। यो समूहगत सूचक करिब १० प्रतिशतले घटेको छ।
जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ३६ प्रतिशतले बढेको छ। हिमालयन उर्जा विकास कम्पनीको मूल्य सबैभन्दा धेरै करिब २१ प्रतिशतले घटेको छ।
प्राविधिक विश्लेषणः
नेप्सेको १४ दिने आरएसआई सूचकको आधारमा हेर्दा बजार अधिक बिक्री क्षेत्रमा रहेको देखिन्छ। यो सूचक स्केल २०.४८ मा छ।
बुधबार करिब २७ विन्दुबाट यो सूचक थप घटेको हो। गत मंगलबार यो सूचक १८.२५ मा थियो। यो सूचक ३० भन्दा तल रहे बजारमा बिक्री बढिरहेको, ७० भन्दामाथि भए बजारमा खरिददारी बढिरहेको र, ३० र ७० को बीचमा रहे बजार सन्तुलित रहेको मानिन्छ।
नेप्सेको रेखा चित्रमा बनाइएको ७ दिने र २१ दिने मुभिङ एभरेज विश्लेषणको आधारमा भने बजार अहिले पनि बियरिश (घट्दो) प्रवृत्तिमै छ। अहिले पनि २१ दिने मुभिङ एभरेज रेखा ७ दिनेभन्दा माथि छ। सात दिने रेखा माथि लाग्ने क्रममा २१ दिने रेखालाई काटेमा भने बुलिश (बढ्ने) प्रवृत्ति सुरू हुने मानिन्छ। तर, नेप्सेले सात दिने रेखामा टेवा पाउँने सम्भावन पनि देखिएको छ।
नेप्सेको मैनबत्ती चित्र विश्लेषणले भने बजार घट्न रोकिने संकेत गरिरहेको छ। अन्तिम दिन बनेको ह्यामर आकृतिले बजार बढ्न सक्ने संकेत गरेपनि यो दिगो संकेत भने होइन।
यस साताको पिभट विश्लेषण अनुसार आगामी साता नेप्सेले २ हजार ४ सय १२ मा पहिलो लक्ष्य पाउने र त्यहाँबाट बजार घट्न थालेमा भने २ हजार २ सय ६२ मा पहिलो टेवा पाउन सक्ने देखिन्छ।