आइएमई जनरल इन्स्योेरेन्सको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ सेवाहरू सहित छुटृै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आएको जानकारी गराए।
उनले कोभिड-१९ तथा ठूला अर्थतन्त्र भएका मुलुकहरू बीचमा देखिएको प्रतिस्पर्धाका कारण विश्व अर्थतन्त्रमा परिरहेको असरबाट नेपाल पनि अछुतो रहन नसकेको बताए।
सन् २०२२ मा नेपालको आर्थिक वृद्धि दर ४ प्रतिशतभन्दा पनि कम रहने प्रक्षेपण विश्व बैंकले गरेको हो। बढ्दो आयातका कारण नेपालको व्यापार घाटा चुलिँदो छ भने विदेशी मुद्रा सञ्चिती घट्दो अवस्थामा छ। अर्थतन्त्रका महत्वपूर्ण सूचकहरू ऋणात्मक अवस्था छन्। रेमिट्यान्स आप्रवाह घट्दो छ भने लगानी योग्य पुँजी (तरलता) को अभाव चरम छ।
सभामार्फत अध्यक्षले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको बताए। कम्पनीले समीक्षा वर्षमा काठमाडौं महानगरपालिका वडा नं. ३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरेको थियो । चालु आर्थिक वर्षमा उक्त जग्गामा कम्पनीको प्रधान कार्यालयको प्रयोजनको लागि करिब ६० हजार वर्गफिटको ९ तल्लाको भव्य भवन निर्माण गर्न नक्शा तयार गरी निर्माण कार्य अगाडि बढाइसकेको समेत बताए।
कम्पनीको व्यावसायमा भएको विस्तारसँगै जोखिम धारण क्षमतामा समेत वृद्धिको लागि र नियमनकारी निकायबाट समेत चुक्ता पुँजी २.५० अर्ब पुर्याउन समयसीमा समेत तोकिदिएको हुनाले निर्देशन बमोजिम पुँजी योजना बीमा समिति समक्ष पेश गरिसकिएको जानकारी दिँदै हालको चुक्ता पुँजीको ७ प्रतिशतको दरले बोनस सेयर प्रदान गर्नेे प्रस्ताव कम्पनीको २४औं साधारण सभाबाट पारित भएको छ। उल्लेखित बोनस सेयर जारी भए पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ७० करोड १६ लाख ५१ हजार ४ सय २० पुग्ने व्यहोरा अध्यक्षले जानकारी गराए।
बीमाको पहुँचलाई देशको सबै क्षेत्रमा पुर्याउने उद्देश्यले ७ वटै प्रदेशबाट ग्राहकहरूलाई बीमा सेवा प्रदान गर्दैछ।