साताको पहिलो दिन आज नेप्से ९५.५२ अंकले बढेर २,४२०.९६ को विन्दुमा पुगेको छ। यो भनेको गत साता नेप्से कारोबारको लागि अन्तिम दिन बिहीबारको तुलनामा ४.११ प्रतिशतले बढेको हो। केही सातादेखि २३००को टेवा पाएको नेप्सेले योसँगै २४०० को टेवा पाएको छ।
आइतबार कुल २३८ किसिमका धितोपत्र तथा ऋण कारोबार हुँदा २१९ वटाको मूल्य बढेको छ भने जम्मा ४ वटाको मूल्य घटेको छ। यी कम्पनीहरूको कुल ६६ लाख ३९ हजार ५०४ सेयर किनबेच हुँदा २ अर्ब ५३ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज बढ्नेमध्ये पनि १० वटा कम्पनीको सकारात्मक सर्किट ब्रेक लागेको छ। नेसनल हाइड्रोपावर, बेस्ट फाइन्यान्स, श्री इनभेस्टमेन्ट फाइन्यान्स, जानकी फाइन्यान्स, अरुण भ्यालि हाइड्रोपावर, मन्जुश्री फाइन्यान्स, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी र हिमाल दोलखा हाइड्रोपावरको मूल्य बढेर सर्किट ब्रेक लागेको हो। यीबाहेक २६ कम्पनीहरूको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।
आइतबार अन्य उपसमूहरूको तुलनामा जलविद्धुत र फाइन्यान्स कम्पनीहरूको मूल्य वृद्धिमा सकारात्मक देखिएको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार फाइन्यान्सको मात्रै ८.६ प्रतिशतले परिसूचक बढेको छ भने हाइड्रोपावकरो ७.३२ प्रतिशतले बढेको छ। अझ कारोबारमा आएका १३ वटै उपसमूहहरूको सूचक सकारात्मक देखिएको छ।
आज कारोबार रकमको आधारमा धेरै रकमको कारोबार भएको कम्पनीमध्ये सानिमा बैंकको प्रमोटर सेयर, शिवम् सिमेन्ट, अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स, अपि पावर कम्पनी लगायत छन्। सानिमा बैंकको प्रमोटर सेयरको मात्रै आज २२ करोड १० हजार रुपैयाँ, शिवम् सिमेन्टको ११ करोड ७६ लाख २२ हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ९ करोड १२ लाख २० हजार रुपैयाँ र हिमालयन डिस्टिलरीको ८ करोड ४१ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ।