अहिलेको आर्थिक संकट एउटा गभर्नर वा सरकारले निम्त्याएको नभई यो वर्षौंदेखिको संरचनात्मक समस्या भएको पूर्व गभर्नर तिलक रावलको भनाइ छ।
हालका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बन र त्यसपछि सर्वोच्च अदालतको अन्तरिम आदेशमार्फत् तत्काललाई भएको पुनर्बहालीको प्रसंगमा रावलले यस्तो धारणा राखेका हुन्।
उनले मुलुकमा आयातको बढ्दो समस्याको कारण विदेशी मुद्रा सञ्चितिमा ह्रास आएको र यो विगत केही वर्षदेखि नै देखिएको प्रवृत्ति भएकाले अधिकारी मात्र यसमा दोषी नभएको बताएका हुन्।
‘मैले हिजै खतिवडा (पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर युवराज खतिवडा) जीलाई पनि भटेर यसबारेमा चर्चा गरेको थिएँ। उहाँको पालामा पनि अर्थतन्त्र राम्रो थिएन र अहिले अवस्था झन् नराम्रो भएको छ,’ राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा उनले भने।
आयात बढ्दै जाँदा संशोधित बजेट पनि नाघ्ने अवस्थामा पुगेकाले आफ्नो उत्पादनमा जोड दिनुपर्ने उनको तर्क छ। चिनियाँहरूले मुलुक आर्थिक संकटमा पर्दा मासु खान छाडेको प्रसंग उल्लेख गर्दै रावलले नेपालीहरूले सानो भन्दा सानो ईकाइका जमिन समेत बाँझो नराखेर उत्पादनमा लाग्नुपर्ने बताए।
पोलिमर नोटमा घोटाला भएको भन्दै बीस वर्षअघि आफूलाई लगाइएको आरोपमा सर्वोच्च अदालतले सफाइ दिएको समेत रावलले स्मरण गरे। आफूले केही नबिराएको कारण नै सफाइ पाएको उनले बताएका छन्।
कार्यक्रममा गभर्नर अधिकारीले अहिले मुलुकको आर्थिक समस्या निराकरणका लागि राष्ट्र बैंकले चालेका कदमहरूको जानकारी गराएका थिए। उनले केही समययता सुन आयात कोटा दैनिक २० केजीबाट १० केजीमा झारिएको र ४७ भन्सार कोडका वस्तुहरूको आयातमा ५० देखि शतप्रतिशत मार्जिन व्यवस्था गरिएको जानकारी गराए।
राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति बढाउन गैर आवासीय नेपालीले गर्ने निक्षेपलाई सहजीकरण गरिएको रेमिटेन्स निक्षेपका रूपमा जम्मा गर्दा अतिरिक्त एक प्रतिशत ब्याजदर दिने व्यवस्था गरेको छ।