सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ आज बाँडफाँट भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बिहीबार प्राथमिक सेयर बाँडफाँट गरेको हो।
लघुवित्तले गत वैशाख २ गतेदेखि वैशाख ६ गतेसम्मको लागि आइपिओ खुलाएको थियो। यसले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपिओ जारी गरेको हो।
सिवाइसी नेपालले निष्काशन गरेको कुल ३ लाख ९५ हजार ३३६ कित्ता सेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको थियो। सर्वसाधारणले बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि आवेदन दिएका हुन्।
सिडिएस एण्ड क्लियरिङका अनुसार लघुवित्तको आइपिओमा २२ लाख २ हजार ३६१ जना आवेदकले २ करोड ४४ लाख ८३ हजार ६५० कित्ता सेयरका लागि आवेदन दिएका थिए। यो भनेको ६६.२६ गुणाले मागभन्दा बढी आवदेन परेको हो।
आवेदकमध्ये ३ हजार २७२ जनाको आवेदन रद्द भएको छ, जसले ३६ हजार ४९० कित्ताको लागि आइपिओ भरेका थिए।
लघुवित्तको आइपिओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट ३६ हजार ९४८ जनालाई १० कित्ताका दरले बाँडफाँट गरिएको हो। यसबाहेक ८ जनाले थप एक कित्तासहित कुल ११ कित्ता सेयर पाए। बाँकी २१ लाख ६५ हजार ४१३ जनाको भने रित्तो हात छ।
सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको आइपिओ नतिजा सिडिएससी आइपिओ रिजल्ट, ग्लोबल आइएमई क्यापिटल र मेरो सेयरबाट हेर्न सकिन्छ।
सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था २०७५ असार १७ गते कम्पनी राजिष्टारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो। कम्पनीले २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको वित्तीय संस्थाको रुपमा कारोबार गर्न अनुमति पाएको थियो।
आइपिओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले लघुवित्तलाई केयर एनपी डबल बि माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।