नेप्से कारोबारको लागि साताको अन्तिम दिन आज बजार घटेको छ। बिहीबार सेयर बजार २० अंकले घटेर २,३५६.१७ विन्दुमा पुगेको हो।
अघिल्लो दिन बजारमा सामान्य सुधार देखिएको थियो। बुधबार नेप्से ५.१७ अंकले बढेर २,३७६.१७ विन्दुमा पुगेको थियो।
केही सातायता बजारमा सामान्य उतार-चढाव देखिएको छ। अघिल्लो साताको बिहीबार सेयर बजार ४.९० अंकले बढेर २,३२५.४५ को विन्दुमा पुगेको थियो।
आज २२६ किसिमका धितोपत्र तथा ऋणपत्र कारोबार हुँदा ४५ लाख ७४ हजार ५२० सेयर किनबेच भएको छ। कारोबार रकम भने एक अर्ब ४९ करोड ६२ लाख ४६ हजार रुपैयाँको भएको छ। नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको हो। अघिल्लो दिन जम्मा एक अर्ब ८ करोड ९९ लाख ९२ हजार रुपैयाँको कारोबार भएको थियो।
कुल २२६ किसिमका धितोपत्र तथा ऋणपत्र कारोबार हुँदा जम्मा ३८ वटाको मूल्य बढेको छ भने १७६ वटाको मूल्य घटेको छ। आज कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको सूचक नकारात्मक देखिएको छ।
आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले बढेको छ। अघिल्लो दिन कम्पनीको सेयर किनबेचमा सकारात्मक सर्किट लागेको थियो। केही दिन यता लघुवित्तको सेयरमा दैनिक सकारात्मक मूल्य वृद्धि देखिएको छ।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै रकमको कारोबार भएको कम्पनीमध्ये आइएमई जेनरल इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, अरुण भ्याली हाइड्रोपावर, नबिल बैंक, शिवम् सिमेन्ट लगायत हुन्।
बिहीबार आइएमई जेनरल इन्स्योरेन्सको ५ करोड २५ लाख ४९ हजार ६०३ र हिमालयन डिस्टिलरीको ५ करोड ३ लाख ६१ हजार २४२ रुपैयाँको कारोबार भएको हो।