यो साताको पहिलो दिन सेयर बजार सूचक नेप्से उच्च अंकले बढेपछि लगानीकर्ताहरूले थप लगानी बढाएका छन्। एकै सातामा कारोबार रकम करिब एक खर्ब रूपैयाँले बढेको छ।
गत साता सात अर्ब ३८ करोड रूपैयाँको कारोबार भएकोमा यस साता ८ अर्ब २० करोड रूपैयाँको कारोबार भएको हो।
सेयर बजार सूचक सातामा ३० अंकले बढेर बजार बन्द हुँदा २३ सय ५६ मा आइपुगेको छ। यस साता बजार बढ्न थालेसँगै बजारमा खरिद-बिक्री सन्तुलनमा आउन थालेको नेप्सेको १४ दिने आरएसआई सूचकमा देखिन्छ। गत साता अन्त्यमा यो सूचक स्केल २०.४८ मा रहेकोमा यस बिहीबार ४१.८ विन्दुमा छ।
यो सूचक ३० भन्दा तल रहे बजारमा बिक्री बढिरहेको, ७० भन्दा माथि भए बजारमा खरिददारी बढिरहेको र, ३० र ७० को बीचमा रहे बजार सन्तुलित रहेको मानिन्छ।
नेप्सेको रेखाचित्रमा बनाइएको ७ दिने र २१ दिने मुभिङ एभरेज विश्लेषणको आधारमा भने बजार अहिले पनि वियरिश (घट्दो) प्रवृत्तिमै छ। अहिले पनि २१ दिने मुभिङ एभरेज रेखा सात दिनेभन्दा माथि छ।
सात दिने रेखा माथि लाग्ने क्रममा २१ दिने रेखालाई काटेमा भने बुलिश (बढ्ने) प्रवृत्ति सुरू हुने मानिन्छ। तर, नेप्सेले सात दिने रेखामा टेवा पाउँने सम्भावना पनि देखिएको छ।
नेप्सेको मैनबत्ती चित्रमा अन्तिम दिन कालो (रातो) आकृति बनेकोले बजार घट्न सक्ने सम्भावना भने कायमै देखिन्छ। तर, आइतबारको न्यूनतम विन्दु २३ सय ३१ लाई कटेर तल ओर्लिनसकेकोले बजार तत्काल त्यहाँभन्दा तल नजाने विश्लेषण गर्न सकिन्छ।
नेप्सेको हालै २३ सय २० मा टेवा पाएर बढ्न थालेको थियो। केही समयमै पुनः घट्न थालेको नेप्सेले फेरि पनि २३ सय २० विन्दुवा टेवा परीक्षण गर्नेछ। यदि टेवा पाएर बढेमा नेप्सेमो रेखाचित्रमा अंग्रेजी अक्षरको डब्लू आकृति बन्नेछ। यस्तो आकृति बनेमा बजार केही समय बढ्ने अनुमान गरिन्छ।
यस साताको पिभट विश्लेषण अनुसार आगामी साता नेप्सेले २ हजार ३ सय १० मा पहिलो लक्ष्य पाउने र त्यहाँबाट बजार घट्न थालेमा भने २ हजार ४ सय २२ मा पहिलो टेवा पाउन सक्ने देखिन्छ।
यो सातामा बनेको नेप्सेको मैनबत्ती चित्र: