क्रेडिट कार्डको कारोबारमा थप कडाइ गरिएको छ। भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन- २०७८ संशोधनमार्फत् क्रेडिट कार्डको कारोबारमा थप कडाइ गरिएको हो।
क्रेडिट कार्डबाट रकम झिक्न पाइँदैन। क्रेडिट कार्डमा भएको पैसा वस्तु तथा सेवा किन्दा भुक्तानीका लागि मात्र प्रयोग गरिन्छ। त्यस्तै यो पैसा बैंकको खातामा ट्रान्सफर गर्न पनि मिल्दैन।
अत्यावश्यक अवस्थामा भने ग्राहकले यस्तो कार्डमा लोड भएको रकमको १० प्रतिशतसम्म झिक्न सक्ने छन्।
बैंकहरूले क्रेडिट र डेबिट गरेर दुई किसिमका कार्ड जारी गर्छन्। ग्राहकको खातामा भएको रकम प्रयोगको लागि बैंकले ग्राहकलाई डेबिट कार्ड जारी गरेको हुन्छ। एटिएम मेसिनबाट झिक्न, पस मेसिनमा कार्ड घोटेर वस्तु तथा सेवाको भुक्तानीका लागि डेबिट कार्ड प्रयोग हुन्छ।
बैंकले कार्डमै कर्जाका रूपमा रकम लोड गर्न सक्ने गरी क्रेडिट कार्ड दिएको हुन्छ। व्यक्तिको कर्जा तिर्ने क्षमताको आधारमा बैंकले प्रयोग गर्न सक्ने सीमा यसमा तोकेको हुन्छ। क्रेडिट कार्डले ग्राहकको खर्च क्षमता बढाउँछ। हालसम्म दुई लाख १९ हजार ९४६ क्रेडिट कार्ड जारी भएका छन्।
ग्राहकले विद्युतीय वालेट खाता खोल्दा ग्राहक पहिचान विवरणलाई समेत कडाइ गरेको छ।
पहिचान विवरण साँचो भएको र झुटो ठहरिएमा कानुन अनुसार कारवाही हुने व्यवस्था स्वीकार्य रहेको ग्राहकले विद्युतीय रूपमा स्वघोषणा गर्न सक्ने व्यवस्था गराउन समेत राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।