सेयर बजार कारोबार सूचक नेप्से बुधबार १६ महिना यताकै न्यून बिन्दुमा आइपुगेको छ। बुधबार नेप्से ३१.७६ अंकले घटेर २,२७५.६८ विन्दुमा पुगेको हो।
यसअघि २०७७ पुष २८ मा नेप्से २,२६७ बिन्दुमा थियो। त्यपछिको न्यून बिन्दु बुधबार कायम भएको हो। बजार उच्च दरमा घटेपछि दैनिक कारोबार रकममा करिब २० गुणाले कारोबार रकम घटेको छ।
हालसम्म कै दैनिक उच्च कारोबारको रूपमा २१ अर्ब ६४ करोड रेकर्ड भएको छ। बुधबार भने एक अर्ब २६ करोड रूपैयाँको कारोबार भएको हो। २०७७ पुग २८ मा समेत दैनिक कारोबार ४ अर्ब माथि थियो।
बजार घट्न थालेसँगै लगानीकर्ताको सम्पतिमा १२ खर्ब ६ अर्बले ह्रास आएको छ। बजार उच्च तहमा हुँदा कुल बजार पुँजीकरण ४४ खर्ब ४३ अर्ब रहेकोमा हाल ३२ अर्ब ३७ अर्बमा सिमित भएको छ।
यस अघि नै राष्ट्र बैंकले सरकारको लागि ऋण संकलन गर्ने उपकरण नागरिक बचत पत्रमै ११ प्रतिशत ब्याज दिन थालेको छ। यसले आगामी जेठपछि बैंकहरूलाई पनि निक्षेपको ब्याजदर बढाउन सहयोग पुग्ने अनुमान गरिएको छ।
सामान्यतया निक्षेपको ब्याजदर र सेयर बजारबीच विपरित सम्बन्ध कायम हुने गर्छ। अर्थात् निक्षेपको ब्याज बढ्दा बजार घट्ने र निक्षेपको ब्याज घट्दा भने बजार बढ्ने गरेको छ।
तुलनात्मक रूपमा कम जोखिम क्षेत्र (निक्षेप) बाटै राम्रो लाभांस पाइने अवस्था आएमा लगानीकर्ताहरू सेयर बजारप्रति कम आकर्षित हुन्छन्। पछिल्लो समय घर-जग्गाको कारोबारमा समेत सुस्ति आएकोले पनि बजारमा पनि यसको प्रभाव देखेको छ। लगानीका यस्ता क्षेत्रमा सुस्ति आउँदा पनि बजार प्रभावित हुन्छ।
बुधबार बजार घटेको दिन २३३ किसिमका धितोपत्र तथा ऋणपत्र कारोबार भएको छ। आज ३६ लाख २ हजार ८४८ सेयर किनबेच हुँदा एक अर्ब २६ करोड ९२ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ।
कुल २३३ किसिमका धितोपत्र तथा ऋणपत्र कारोबार हुँदा जम्मा २४ वटाको मूल्य बढेको छ भने १९६ वटाको मूल्य घटेको छ। आज कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको सूचक नकारात्मक देखिएको छ। सबैभन्दा धेरै हाइड्रोपावरको २.३३ प्रतिशतले घटेको हो।
आज पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले बढेको छ। कम्पनीको मूल्यमा लगातार वृद्धि भइरहेको छ।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै रकमको कारोबार भएको कम्पनीमध्ये अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी लिमिटेड, नबिल बैंक, नेपाल टेलिकम, निफ्रा लगायत हुन्। बुधबार अरुण भ्यालीको मात्रै ४ करोड ५८ लाख ९६ हजार रूपैयाँको कारोबार भएको छ।