नेपाल राष्ट्र बैंकले गत भदौमा सेयर धितो कर्जामा ल्याएको एकल ऋणी सीमा हचुवाको भरमा आएको सरकारका पूर्व सचिव शंकर अधिकारीले बताएका छन्। शुक्रबार उद्योग वाणिज्य महासंघमा आयोजित परिपक्व पुँजी बजारसम्बन्धी सम्मेलनमा अधिकारीले यस्तो बताएका हुन्।
'अर्थमन्त्रालयको सधैको चासो उत्पादन मुलक क्षेत्रमा कर्जा गएन। सेयर र जग्गामा गयो र आर्थिक वृद्धिलाई सहयोग गरेन भन्ने धारणा छ,' पूर्व सचिव अधिकारीले भने, 'हाम्रा नीतिगत तहमा बस्नेहरूको सोचमा स्थिरता छैन। यही कराण हचुवाको भरमा सेयर धितोमा कर्जा सीमा आयो। समय दिइएन।'
राष्ट्र बैंकले सेयर धितो कर्जामा एकल ऋणी (स्वार्थ जोडिएका पारिवारिक सदस्यहरू सहित) सीमा एउटा संस्थाको आधारमा चार करोड र सबै संस्थाहरूबाट १२ करोड पुर्याएको थियो। बैंक तथा वित्तीय संस्थाहरूले आगामी असारभित्र सीमाभन्दा बढीको लगानी भएमा त्यसलाई झार्न राष्ट्र बैंकले निर्देशन दिएको छ।
सुरूवातमा निकै विरोध भएको यो नीतिले बजार समेत घटेको आरोप लगानीकर्ताहरूले लगाएका थिए। बैंकहरूले यस्तो कर्जा सीमामा राख्नुपर्ने समय नजिकिदै जाँदा र सेयर बजार उच्च दरमा घटेको हालको समयमा यो आवाज पुनः उठ्न थालेको हो।
राष्ट्र बैंकले भने यो नीतिले साना लगानीकर्ताहरूमा कर्जाको पहुँच बढेको बताउँदै आएको छ। गत असारमा एक करोड रूपैयाँभन्दा बढी कर्जा लिनेहरूले ७३ अर्ब ५३ अर्ब रूपैयाँ कर्जा पाइरहेकोमा फागुनमा यस्तो कर्जा घटेर ५९ अर्ब ७८ करोड रूपैयाँमा सीमित भएको छ। ५० लाखभन्दा कम कर्जा लिनेहरूले २० अर्ब ७३ करोड रूपैयाँ कर्जा पाइरहेकोमा हाल २४ अर्ब ३ करोड रूपैयाँ पाएका छन्।
यद्यपि पूर्व सचिव अधिकारीले लगानीकर्ताहरूमा पनि परिपक्वता नआएको, बजारमा सूचीकृत नराम्रा कम्पनीहरूको मूल्य उचालेर समेत बजारलाई बढाउने गरिएको बताए।
कार्यक्रममा बोल्दै सेयर विश्लेषकहरूले बजारमा लगानी विविधिकरणको विकल्प तयार नभएको, सरकार र नियामकहरूले जहिले पनि बजार वृद्धिमा मात्रै चासो राख्ने गरेको बताएका छन्।