गत साता नेप्से परिसूचक करिब १६ महिना यताकै न्यून बिन्दुमा आएर बजार बन्द भएको छ। सातामा नेप्से परिसूचक करिब १ सय १७ अंकले घटेर २ हजार २ सय ३८ बिन्दुमा आएको हो।
गत साताको तुलनामा यस साता बजारमा तीन दिन मात्र बजार खुलेकाले कारोबार रकम उच्च दरमा घटेको छ। गत साता ८ अर्ब २० करोड रूपैयाँको कारोबार भएको बजारमा यस साता भने ४ अर्ब ३४ करोड रूपैयाँको कारोबार भएको हो।
लगानीकर्ताहरूले खरिददारी नबढाइरहेको दैनिक औसत कारोबार रकममा समेत आएको कमिले देखाउँछ। दैनिक औसत कारोबार रकम समेत एक अर्ब ६४ करोड रूपैयाँबाट घटेर एक अर्ब ४४ करोडमा सीमित भएको छ।
कतिपयले यस साता गभर्नर महाप्रसाद अधिकारीको भनाईले बजार थप घटेको बताउन थालेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टर्स फोरमकी उपाध्यक्ष दुर्गा तिवारीले गभर्नर अधिकारीको भनाईले बजार थप घटेको बताइन्। मूल्य संवेदनशील विषय बजारले निर्धारण गर्नुअघि नै गभर्नरले संकेत गरेकोमा अधिकारीले आपत्ति जनाएकी थिइन।
अधिकारीले केही दिन अघि एक कार्यक्रममा ब्याजदर थप बढ्न सक्नेमा सबैलाई तयार रहन सुझाव दिएका थिए।
हालै अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले समेत ब्याजदरहरू बढाएर भएपनि कर्जा विस्तारलाई सुस्त बनाउँनुपर्ने बताएको थियो। आइएमएफले आयातमा प्रतिबन्धको विकल्पमा यसमा जान आग्रह गरेको हो।
हाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निक्षेपको ब्याजदर बढाउँदा अघिल्लो महिनाको मुद्धति निक्षेप खातामा सबै बैंकहरूले दिएको ब्याजको औसत निकालेर त्यसको १० प्रतिशत बिन्दुसम्म मात्र बढाउन पाउने व्यवस्था गरेको छ।
हाल वाणिज्य बैंकहरूको मुद्धति निक्षेपमा औसत ब्याजदर ११.०३ प्रतिशत छ। केही महिनादेखि राष्ट्र बैंकको अप्रत्येक्ष दबाबमा बैंकहरूले १० प्रतिशत बिन्दुसम्मपनि वृद्धि नगरेर यो दरलाई नै कायम गरिरहेका थिए।
अब भने राष्ट्र बैंकले यसलाई खुला छाड्ने सम्भावना छ। आइएमएफको सुझाव सार्वजनिक भइरहेको समयमा गभर्नर अधिकारीबाट आएको भनाईले पनि ब्याजदर थप बढ्ने संकेत गरेको छ।
निक्षेपको ब्याजदर बढ्दा सेयरमा भन्दा सबै साधारण बैंकमा रकम राख्न आकर्षित हुने मानिन्छ। त्यस्तै, निक्षेपको ब्याजदरमा हुने वृद्धिले बैंकहरूको कर्जा लगातमा पनि वृद्धि हुन्छ। यसले पनि कर्जा लिएर सेयरमा लगानी गर्नेहरूलाई निरुत्साहित गर्न सक्छ।
बजार १६ महिना यताकै न्यून बिन्दुमा आएकोले लगानीकर्ताहरूले पुँजी उपलब्धता अनुसार क्रमशः लगानी थप्दै जानु सही हुने देखिन्छ। यस्तो समयमा तुलनात्मक रुपमा बढी लाभांश दिने र मूल्यमा उच्चले कमि आइसकेका कम्पनीहरू छान्नु पर्ने बजार विश्लेषकहरू बताउँछन्।
प्राविधिक विश्लेषण ः
नेप्सेको मैनबत्ती चित्रमा यस साताको तीन दिन कालो (रातो) मैनबत्ती आकृति बनेको छ। भर्याङ जसरी बनेका यी अकृतिलाई आइडेन्टिकल थ्री ब्ल्याक क्रोज पनि भनिन्छ। यो आकृतिमा हरेक अघिल्लो दिनको बन्द बिन्दु र पछिल्लो दिनको सुरू बिन्दु एउटै हुन्छ। अल्पकालिन प्रवृत्ति देखाउने यसले बजार थप घट्ने संकेत गर्छ।
नेप्सेको रेखाचित्रमा बनाइएको सात दिने र २१ दिने मुभिङ एभरेज विश्लेषणको आधारमा भने बजार अहिले पनि वियरिश (घट्दो) प्रवृत्तिमै छ। अहिले पनि २१ दिने मुभिङ एभरेज रेखा सात दिनेभन्दा माथि छ।
सात दिने रेखा माथि लाग्ने क्रममा २१ दिने रेखालाई काटेमा भने बुलिश (बढ्ने) प्रवृत्ति सुरू हुने मानिन्छ। तर, नेप्सेले सात दिने रेखामा टेवा पाउँने सम्भावना पनि देखिएको छ।
यस साताको पिभट विश्लेषण अनुसार आगामी साता नेप्सेले २ हजार १ सय ९० मा पहिलो लक्ष्य पाउने र त्यहाँबाट बजार घट्न थालेमा भने २ हजार ३ सय २३ मा पहिलो टेवा पाउन सक्ने देखिन्छ।
सातामा बनेको नेप्सेको मैनबत्ती चित्रः