चालू आर्थिक वर्षको ९ महिनामा विभिन्न सूचकहरुमा एनआइसी एशिया बैंक पहिलो स्थानमा परेको
दावी गरेको छ।
कर्जा लगानी, निक्षेप संकलन, प्रति शेयर आम्दानी (इपिएस), स्व-पूँजीमा प्रतिफल (आरओई) लगायत प्रमुख सूचकहरुमा एनआइसी एशिया बैंकले ‘नम्बर वान’ स्थान पाएको दावी गरेको हो।
समग्र वित्तीय विवरणका सूचकहरू उत्साहजनक रहेको बैंकले बताएको छ। बैंकका सिइओ रोशन कुमार न्यौपानेको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब ७३ अर्ब रुपैयाँबाट करिब ४ गुणा वृद्धि भई दुई खर्ब ७४ अर्ब ७४ करोड पुगेको बैंकले जानकारी दिएको छ। यो आर्थिक वर्ष (२०७८/७९) को तेस्रो त्रैमाससम्मको तथ्यांक हो।
यो अवधिसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ।
साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको दाबी छ। यसअनुसार समग्र बैंकिङ क्षेत्रमै कुल कर्जा प्रवाहमा एनआइसी एशिया बैंक अगाडि रहेको दाबी बैंकले गरेको हो।
कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई तेस्रो त्रयमाससम्ममा ०.५१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।
निक्षेप संकलनतर्फ पनि ८६ अर्बबाट करिब चार गुणाले बढेर तीन खर्ब दुई अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। यो निक्षेप अन्य बैंकको तुलनामा अधिक भएको बैंकको भनाई छ। निक्षेपसँगै बैंकमा डिजिटल कारोबार गर्नेको संख्या पनि बढेको बैंकले बताएको छ। हालसम्म बैंकमा डेबिट कार्ड प्रयोगकर्ता नै १३ लाख २१ हजार भन्दा बढी छन्। यस्तै, मोबाइल बैंकिङ प्रयोगकर्ता १९ लाख १४ हजारभन्दा बढी पुगेका छन्।