आज सेयर बजार ०.३९ प्रतिशतले बढेको छ। बुधबार नेप्से ८.९० अंकले बढेर २,२७४.४२ अंकमा पुगेको हो।
बजारले स्पष्ट प्रवित्ति नदेखाएपनि लगानीकर्ताहरू २२०० भन्दा तल नझर्ने आंकलन गरिरहेका छन्। यही कारण आज बजार २२३८ सम्म पुगेर फर्किएको हो।
बजार बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन। अझै पनि बजारमा तरलता अभावका कारण कारोबार रकममा वृद्धि नदेखिएको हो। आज जम्मा २२७ धितोपत्र तथा ऋणपत्रको ३१ लाख ५६ हजार ९१३ सेयर किनबेच हुँदा एक अर्ब ३२ करोड ६३ लाख २० हजार रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिन नेप्से करिब ८५ अंकले घटेको दिन भने ३५ लाख ९५ हजार ७४८ सेयर किनबेच भएको थियो भने कारोबार रकम एक अर्ब ६४ करोड ४० लाख ९६ हजार रूपैयाँ पुगेको थियो।
आज जम्मा १३८ किसिमका धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने ७० वटाको मूल्य घटेको हो। कारोबारमा आएका १३ वटै उपसमूहहरूमध्ये ट्रेडिङ, नन लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स, म्यानुफ्याकचर एन्ड प्रडक्सन र म्युचल फन्डको नकारात्मक देखिएको छ। आज सबैभन्दा धेरै हाइड्रोपावरको २.०८ प्रतिशत र विकास बैंकको १.४२ प्रतिशतले बढेको छ।
बुधबार राधी विद्युत कम्पनीको ६.०२ प्रतिशतले मूल्य वृद्धि भएको छ। कम्पनीको प्रतिकित्ता सेयर ६ सय ५२ रूपैयाँको छ। आज सूर्योदया वमी लघुवित्त वित्तीय संस्थाको भने नकारात्मक सर्किट ब्रेक लागेको हो। कम्पनीको १० प्रतिशतले मूल्य घटेको छ।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ५ करोड ३८ लाख ३० हजार रूपैयाँको भएको छ। यसपछि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४ करोड ९५ लाख १९ हजार रूपैयाँ, हिमालयन डिस्टिलरी लिमिटेडको ४ करोड ३९ लाख ५९ हजार रूपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९० लाख ४३ हजार रूपैयाँ र अरुण काबेली पावरको ३ करोड ६२ लाख ८२ हजार रूपैयाँको कारोबार भएको छ।